परराष्ट्रमन्त्री ज्ञवालीलाई पर्यटनमन्त्री रायको जवाफ ‘नगर अभिनन्दन होइन, नागरिक अभिनन्दन नै हो’


वैशाख २७, काठमाण्डौ । प्रदेश नम्बर दुईका पर्यटनमन्त्री रामनरेश रायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री रायले नागरिक अभिनन्दनको तयारी पनि लगभग सकिएको बताए ।

सबै स्थानीय निकायले मोदी भ्रमणको तयारी पूरा गरेको उनको भनाई छ ।

मन्त्री रायले मादीको नागरिक अभिनन्दन गर्न लागिएको तर केन्द्र सरकारका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नगर अभिनन्दनको रुपमा व्याख्या गरेको भन्दै आपत्ति जनाएका छन् ।

“नगर अभिनन्दन भन्नाले नगरको व्यक्ति मात्रै उपस्थित भएर गर्छ । कुन रुपले उहाँले भन्नुभयो ? एउटा नगरपालिका मात्रै अभिनन्दन हुन गइरहेको छैन । यहाँ दुई नम्बर प्रदेशको मात्रै होइन, अरु प्रदेशका नागरिक पनि आउँदैछन् ।” रायले भने ।

मोदीको नागरिक अभिनन्दनमा जनकपुरमा नै नअट्ने गरी जनता उपस्थित हुने उनको दाबी छ ।