काठमाडौं, २७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा उद्योगी विनोद चौधरीले राजनीतिक भागबण्डाका आधारमा नेपालको अर्थतन्त्र फसेको बताएका छन् । उनले यसरी नेपालको विकास नहुने समेत तर्क गरे ।
बिहीबार बजेट छलफलमा भाग लिँदै सांसद चौधरीले यस्तो बताएका हुन् । अर्थमन्त्री डा. युवराज खतिवडाको सफलता सबै नेपालीको भविष्यसँग जोडिएको धारणा राखे । उनले अघि थपे,‘‘माननीय अर्थमन्त्री ज्यू तपाई सफल अर्थमन्त्री बन्नु हाम्रो भविश्यसँग गाँसिएको छ।’
निजी क्षेत्र र नीति निर्माताबीच सँधै एक प्रकारको अविश्वासको खाडल रहेको बताउँदै उनले भने,‘अर्थतन्त्र अहिले जुन ठाउँमा रहेको छ त्यसको एउटा कारक यो पनि रहृयो ।’
निजी क्षेत्रका केही कमजोरी भए राष्ट्रले निगरानी गर्नुपर्ने भन्दै चौधरीले निजी क्षेत्रको सहयोग विना अर्थतन्त्र अगाडि बढ्न नसक्ने दावी गरे ।
नेपालमा १० प्रतिशत आर्थिक वृद्धिका लागि १० खर्ब लगानी गर्नुपर्ने भन्दै उनले अहिले राष्ट्रले विकास बजेट ३ खर्ब पनि खर्च गर्न नसक्ने अवस्था रहेको बताए । नेपालमा अन्तराष्ट्रिय लगानीकर्ताहरु एनसेल, डाबर, युनिलिभरको सफलतालाई विश्वमा प्रचार गरेर लगानी भित्र्याउन सकिने चौधरीले बताए ।
चौधरीले सरकारले हरेक प्रदेशमा विशेष आर्थिक क्षेत्र (सेज) निर्माण गर्ने भने पनि त्यसको तयारी नगरेको गुनासो पोखे । उनले उद्योगीलाई विशेष सहुलियत दिएर विशेष आर्थिक क्षेत्रमा उद्योग खोल्नजे अवस्था बनाउनुपर्ने बताए ।




प्रतिक्रिया