जनकपुरवासीको प्रश्न : मोदी जनकपुर आउँदा काठमाडौंलाई किन टाउँको दुखाई ?


ऋषि धमला : जनकपुर, २७ बैशाख । दुई दिने भ्रमणमा भोलि नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न जनकपुरवासी यतिवेला आँतुर छन् । उनीहरु अहिलेदेखि नै मोदीलाई स्वागत गर्ने व्यग्र प्रतिक्षामा छन् । चोक–चोकमा यतिवेला मोदीका पोष्टरहरुले रंगिएका छन् ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा मोदी भोलि नेपाल आउँदैछन् । मोदीले जनकपुरबाट नेपाल भ्रमणको सुरुवात गर्दैछन् । मोदीको यो तेस्रो नेपाल भ्रमण हो । जनकपुरवासी यतिवेला मोदीलाई स्वागत गर्न आँतुर देखिएका छन् । जनकपुरका चोक चोकहरु यतिवेला दुलहीझैं सिंगारिएका छन् ।
मोदी नेपालको केन्द्रिय सरकारको निमन्त्रणामा भोलि नेपाल आउन लागेका हुन् । उनी भारतको विहार राज्यको पट्नाबाट सिधै जनकपुर आउने कार्यक्रम रहेको छ ।

मोदीले काठमाडौं नआईकन किन जनकपुरबाट आफ्नो भ्रमण सुरु गर्न लागेका हुन् भन्दै काठमाडौंमा भएको विरोधलाई जनकपुरवासीले कडा रुपमा प्रतिवाद गरेका छन् । उनीहरुले मोदीको जनकपुर भ्रमणबारे अहिले विरोध गर्ने बेलै नभएको जिकिर गरेका छन् ।

जनकपुरवासी प्रतिककुमार यादवले पत्रकार धमलासँगको संक्षिप्त कुराकानीमा भने,‘मोदीले नेपाल भ्रमण गर्दैहुनुहून्छ, त्यो पनि केन्द्रिय सरकारको निमन्त्रणामा उहाँ नेपाल आउन लाग्नुभएको हो, तर जनकपुरबाट किन भ्रमण सुरु भनेर काठमाडौंवासीले विरोध गरेको देखेर म दुःखी छु, उहाँ जनकपुर आउनु भनेको यो सबैको लागि गौरवको कुरा हो । सबै नेपाली खुशी हुनुपर्ने हो।’

त्यस्तै अर्का युवा संजिव रायले पनि मोदीको जनकपुरबाट सुरु हुने भ्रमणको बारेमा खुशी व्यक्त गर्दै भने,‘हामी यो प्रदेशका मात्रै होईन, सबै नेपालीहरुले खुशी भएर उहाँको स्वागत गर्नुपर्छ, हामी भोलि उहाँलाई एक लाख भन्दा बढिको उपस्थितिमा अभिनन्दन गर्छौं।’

दिनेश साहले पनि मोदीको जनकपुर भ्रमणप्रति हर्ष र खुशी व्यक्त गर्दै भने,‘मोदी आउनु भनेको भगवानसरह हो, जनकपुर अहिले बेहुलीझैं सिंगारिएको छ । पोखरी, पर्खाल, मुर्ति सबैमा वेलकमको अवस्थामा छौं । उहाँ नेपाल आउँदा तीन करोड नेपाली खुशी हुने ठाउँ छ, उहाँ जहाँ गएपनि हामी त खुशी हुन्छौं । उहाँलाई हामी सबैले हृदयदेखि नै स्वागत गर्नुपर्छ।’

जनकपुरवासी अरुण यादवले मोदी जनकपुर आउनुलाई आफूहरुले खुशीको रुपमा लिएको बताए । उनले भने,‘उहाँ यहाँ आउनु राम्रो कुरा हो, पहिलेदेखिनै हाम्रो भारतसँग राम्रो सम्बन्ध छ, उहाँ जनकपुर आउँदा काठमाडौंले विरोध नगर्नुपर्ने हो, यो उहाँको धार्मिक भ्रमण हो, उहाँको ईच्छा अनुसार पूजापाठ गर्नुहुन्छ।’ मोदीको जनकपुर भ्रमणसँगै यहाँको पर्यटनको विकास हुनेमा उनी विश्वस्त छन् । उनले जनकपुरको प्रभाव अब अन्र्तराष्ट्रिय रुपमा पर्ने पनि बताए ।

आजमात्रै मुख्यमन्त्री लालबाबु राउतले मोदीलाई अभिनन्दन गरिने ठाउँ बाह« विघाको स्थलगत् अवलोकन गरेका छन् । त्यस्तै ओली–मोदीले संयुक्त रुपमा पुजाआजा गर्ने जानकी मन्दिरको पनि मुख्यमन्त्री राउतको टोलीले आजै निरिक्षण गरेको हो ।