काठमाडौं, ३१ वैशाख । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. नारायण खड्काले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई आफूहरुले सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिए । यद्धपी नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलगत्तै मोदीको भ्रमण हुन आवश्यक थिएन भन्ने उनको स्पष्टोक्ति थियो ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता खड्काले मोदीको नेपाल भ्रमण यो तेस्रोपटक भएकोले भ्रमण आदानप्रदान हुनु सकारात्मक भएको बताउँदै आगामी दिनमा यसले कस्तो परिणाम दिन्छ त्यो भने हेर्न बाँकी रहेको बताए । उनले मोदीले व्यक्तिगत रुपमा सम्बन्ध सुधार्नतर्फ लागेको आभाष भएको टिप्पणी गरे ।
मोदीको शैली नै पहिले व्यक्तिगत सम्बन्ध सुधार गर्ने अनि दुई देशबीचको सम्बन्धलाई बलियो बनाउने रहेको उनको भनाई छ । उनले थपे,“मोदीजीले आफू पहिलो पटक निर्वाचित प्रधानमन्त्री भएपछि सार्क राष्ट्र प्रमुखहरुलाई सपथग्रहणमा बोलाउनुभयो, सन् २०१५ को डिसेम्बरमा पाकिस्तानी प्रधानमन्त्री (आफ्ना समकक्षी) नवाज सरिफलाई जन्मदिनको शुभकामना दिन अफ्गानिस्तानबाट सिधै लाहोर पुगेका थिए, त्यस्तै ब्रिक्समा पुटिन, सि जिनपिङलाई मोदी जवारी कोट दिए।”
त्यतिमात्रै नभएर मोदीले पछिल्लोपटक चीनीयाँ राष्ट्रपतिसँग एक्लाएक्लै अनौपचारिक भेटवार्ता गर्नुपनि उनको त्यो व्यक्तिगत सम्बन्ध सुधार्ने आभाष नै भएको खड्काको भनाई छ ।
नेपालको सन्दर्भमा पनि मोदीले मंसिरको अन्तिममा निर्वाचन सम्पन्न भएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित हुनु अघि नै बधाई दिएको र लगत्तै विदेशमन्त्री सुष्मा स्वराजलाई नेपाल पठाउनु व्यक्तिगत सम्बन्ध सुधारको अभ्यास भएको उनले जनाए । उनले भने,“प्रधानमन्त्रीमा निर्वाचित भएपछि मोदीले भारत भ्रमणको निम्तो दिनुभयो, र हाम्रो प्रम चीनमा भएको बोआवा फोरम छोडेर भारत भ्रमणमा जानुभयो।”
मोदी आगामी सन् २०१९ को निर्वाचपछि प्रधानमन्त्रीमा निर्वाचित भएपछि नेपाल आएको भए राम्रो हुने थियो भन्ने उनको तर्क छ । उनले भने,“भ्रमणहरु आदानप्रदान भैरहन्छन, तर यसको सामाजिक, आर्थिक तथा अन्य रुपमा सकारात्मक असरहरु पर्नुपर्यो, त्यो ठूलो कुरा हो।”
मोदीले यसपटकको नेपाल भ्रमण जनकपुरबाट सुरु गर्दा उनको मधेशप्रतिको अप्रत्यक्ष सद्भाव छ भन्ने कुराको पुष्टि गरेको नेता खड्काको भनाई छ । नेपाल र भारतबीच घनिष्ठ सम्बन्ध रहेको बताउँदै यसलाई आपसी हितमा उपयोग गर्दै लैजानुपर्नेमा उनको जोड छ ।
नेता खड्काले अहिलेको सरकारले सिमा विवाद, भारतीय सुरक्षाकर्मीद्धारा सिमामा हुने ज्यादती, भारतसँग भएको व्यापार घाटा लगायतका समस्याहरुको समाधान गरेको भए धेरै राम्रो हुनेथियो भन्ने धारणा राखे । उनले भने,“पञ्चेश्वरको डिपिआर यही मौकामा गर्न पाएको भए राम्रो हुन्थ्यो।”
उनले अब नेपालको कुटनीतिक क्षमता टेष्ट हुने बेला आएको पनि बताए । उनले भने,“मोदी र सिबीच रणनैतिक मुद्दामा समान धारणा बनाएर जाने सहमति भएको छ, टा«न्स हिमालय ईकोनोमिक कोरिडोरबाट नेपालले फाईदा लिनसक्ने क्षमता बनाउनुपर्छ, चीन र भारत दुवैलाई कन्भिन्स गरेर हाम्रो हितमा ल्याउनुपर्छ।”
भ्रमणको दौरान २ नम्बर प्रदेशको मुख्यमन्त्री लालबाबु राउतले संविधानप्रति राखेको धारणामा उनको असहमति थियो । खड्काले भने,“यो स्वाभिमानी नेपालीले बोल्ने कुरा होईन।” मोदीको भ्रमणका क्रममा सुरक्षा नाममा भारतीय सेना खुल्लम खुल्ला प्रवेश गरेको बताउँदै उनले आफूहरु भ्रमणमा जाँदा कागजजात माँग्ने गरेको स्मरण गराए ।
उनले थपे,“यदि नेपाली कांग्रेसको सरकार भएको भए र यी काम गरेको भए अहिले कांग्रेस लम्पसार पर्यो भनेर सडकमा आन्दोलन हुन्थ्यो र आरोपहरु लगाईन्थ्यो, तर हामी उत्ताउला भएर व्यवहार देखाउँदैनौं।”




प्रतिक्रिया