नैतिकताको आधारमा परराष्ट्रमन्त्री ज्ञवालीले राजिनामा दिनुपर्छ : मन्त्री यादव


जेठ १, काठमाण्डौ । प्रदेश नम्बर दुईका आन्तरिक मामलामन्त्री विजय यादवले मुख्यमन्त्री लालबाबु राउतमाथि भएको आलोचनाको औचित्य नभएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री यादवले मुख्यमन्त्री राउतले प्रदेश नम्बर दुईका जनताको भावनाअनुसार भारतीय प्रम नरेन्द्र मोदीसामु कुरा राख्दा विरोध गर्न नहुने बताए ।

“यहाँको समस्या र जनताको भावनाअनुसार मुख्यमन्त्रीले बोल्नुभएको हो । जनताले उहाँलाई मुख्यमन्त्री बनाएका हुन् ।” यादवले भने ।

राष्ट्रिय झण्डाको स्वरुप विगारेर कार्यक्रममा राखिनु केन्द्र सरकारको गल्ती भएको यादवको जिकिर छ ।

“रक्षामन्त्री ईश्वर पोखरेले केका लागि हेलिकप्टर चढेर यहाँ आउनुभयो ? हामी त कोअर्डिनेशन गर्न मात्रै बसेका थियौँ । चारजना मन्त्रीहरु आएका थिए । झण्डा बिगारिएको किन देखेनन् ? केपी ओलीजीको जिम्मेवारी होइन ?” यादवले भने ।

प्रदेश नम्बर दुईको सरकारको पनि जिम्मेवारी भएको तर केन्द्र सरकारको निर्देशनअनुसार आफूहरु चलेकाले केन्द्र सरकाले पनि जिम्मेवारी लिनुपर्ने उनको तर्क छ ।

“तीनवटै तहको सरकारको गल्ती हो ।” यादवले भने । सबै पक्षले जिम्मेवारी लिने हो भने प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउत राजिनामा दिन तयार रहेको यादवको भनाई छ ।

मुख्यमन्त्री राउतको सम्बोधन गलत भए केन्द्र सरकारका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले पनि राजिनामा दिनुपर्ने यादवको तर्क छ ।

“उहाँ पनि आउनुभएको थियो । उहाँले पनि राजिनामा दिनपर्छ । यो कुरा उठाउनुस् त । नैतिकताको आधारमा परराष्ट्रमन्त्री ज्ञवालीले राजिनामा दिनुपर्छ ।” उनले भने ।

भारतीय जनता पार्टीका सासंद कीर्ते आजादले जनकपुर भारतको हो भन्नु गलत भएको यादवले बताए ।