Logo

प्रचण्ड किङ मेकर हुन्, आफ्नो र अरु नेताको भूमिका सुनिश्चित गर्न सक्ने क्षमता राख्नुहुन्छ : शर्मा



नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रिया स्थगित भएकोसम्मका समाचारहरु आइरहेका छन् । तत्कालका लागि एकता टरेको भन्नेहरु पनि धेरै छन् । दुई दलबीच तिक्तता बढ्दै गएको कतिपयको अनुमान छ । यिनै आशंका चिर्नका लागि ऋषि धमलाले माओवादी केन्द्रका नेता जनार्दन शर्मासँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

एमाले–माओवादीबीचको पार्टी एकता टर्छ कि हुन्छ ?
पार्टी एकता त भइसक्यो । अब घोषणा कहिले हुन्छ भनेर सोध्नु न ।

पहिलेदेखि नै भइसक्यो भइसक्यो भन्ने, एकता गर्न चाँही नसक्ने अवस्था देखियो नि ?
एकता गर्न गाह्रै कुरा हो । तर अब छिटै घोषणा हुँदैछ ।

कतिदिनभित्रमा एकता हुन्छ ? ठ्याक्कै हुन्छ ?
दिन र घण्टा त किन भनौँ ?

पछिल्लो छलफलको बारेमा भन्नुस न त । के भैराछ ?
एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्षबीच कुरा भइरहेको छ । दुवै जनाले सहमति गरिसक्नुभएको छ । अब एक दुई दिनमै पार्टी एकता संयोजन समितिको बैठक बसेर कहिले घोषणा गर्ने भन्ने टुङ्गो लाग्छ ।

त्यसोभए सबै कुरा मिलिसक्यो भनिदिदा हुन्छ ?
भनिदिदा हुन्छ । संयोजन समितिले दुई अध्यक्षलाई जिम्मा दिएको थियो । उहाँहरुले कुरा टुङ्ग्याउनुभएको छ । तपाईले भनिदिनुस्, छिटै पार्टी एकता हुँदैछ । एकता होला कि नहोला भन्ने दोधारमा कोही पनि नबस्न म आग्रह गर्दछु ।

नेतृत्वको विवाद टुङ्गियो ?
नेतृत्वमा विवाद हुनुपर्ने कारण नै छैन । दुवै नेताको चाहना अनुसारको सहमति भइसक्यो ।

केपी ओलीपछि प्रचण्ड प्रधानमन्त्री बन्ने सहमति भइसकेको हो ?
दुईजनाको आपसि समझदारीअनुसार अबका सबै काम अगाडि बढ्छ । अहिले आलोपालोको कुरा भएको छैन ।

ओली र प्रण्डको भूमिका के हुन्छ ?
उहाँहरुको मुख्य भूमिका दुईवटा पार्टीलाई एकतावद्ध गर्ने हो । गर्दैहुनुहुन्छ । अब बन्ने नेपाल कम्युनिष्ट पार्टीले दिएको म्यान्डेटअनुसार निर्णय गर्नुहुनेछ ।

अहिलेको अवस्थामा प्रचण्डको भूमिका सुरक्षित भएन भने कसरी एकता हुन्छ ?
प्रचण्ड अहिले किङ मेकर हुन् । उहाँले आफ्नो र अरु सबैको भूमिका सुनिश्चित गर्न सक्ने क्षमता राख्नुहुन्छ । उहाँले आफ्नो क्षमता प्रदर्शन गरिरहनुभएको छ ।

मैले धेरै जनालाई प्रधानमन्त्री बनाइसके, तर एमालेले त्यो गुन तिरेन भन्ने गुनासो प्रचण्डको छ नि ?
आधा दर्जन व्यक्तिलाई प्रम बनाउन सक्ने प्रचण्डलाई गुनको लोभ छैन । गुन तिर्न पर्दैन । जनताले मूल्याङ्क गर्छन् ।

अब प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना कति छ ?
बन्नुहोला नि । उहाँको चाहनाअनुसार प्रधानमन्त्री बन्न सक्नुहुन्छ ।

पाँच वर्षभित्रमा नै केपी ओलीपछि प्रचण्ड बन्ने सम्भावना कति छ ?
यो कुरा अहिले भएको छैन । ओली पाँच वर्षका लागि प्रधानमन्त्री बन्नुभएको हो । उहाँ पार्टीको शक्तिशाली नेताको रुपमा रहनुहुन्छ । अबका कामहरु ओली प्रचण्डबीचको सहमतिका आधारमा हुन्छ ।

त्यसोभए तपाईहरु एमालेमा मिसिन तयार हुनुभयो ?
दुवै पार्टी विघटन गरेर नयाँ पार्टी निर्माण गर्ने हो । कोही कतैपनि मिसिदैन ।

नेपाल कम्युनिष्ट पार्टीको नाममा दल दर्ता भइसकेको छ । कसरी यही नाममा अर्को दल दर्ता हुन्छ ?
नाममा कुनै अप्ठ्यारो हुँदैन ।

प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर तपाईहरुले आलोचना गर्नुभयो । यसले एकता प्रभावित हुँदैन ?
आलोचना र आत्मालोचना भइरहन्छ । यसले समस्या होइन, समाधान हुने अर्थमा बुझ्नुपर्छ ।

बजेट निर्माणका क्रममा माओवादी पार्टीलाई माइनस गरियो भन्ने गुनासो छ नि ?
माओवादीका तर्फबाट सरकारमा सहभागि कसैलाई पनि माइनस गरिएको छैन । सबै छलफलमा माओवादीतर्फका मन्त्रीहरु सहभागि छन् । बजेट बनाउँदा भएका छलफलमा सबैको सहभागिता छ ।

अरुण तीनको शिलान्यास कार्यक्रममा उर्जामन्त्री वर्षमान पुनको भूमिका नदिइएको भन्ने कुरा आएको छ । यसले खटपटको संकेत गर्दैन ?
उहाँको भूमिका हुनुपथ्र्यो । किन भएन स्वयम् मन्त्रीजीले जान्ने कुरा हो । उहाँलाई नै सोध्नुहोला । तर यो कुराले कुनै खटपट भएको छैन ।



प्रतिक्रिया दिनुहोस्