Logo

विश्वलाई नै स्थिरता, विकास र सुशासनको सन्देश दिन एकता अर्थपूर्ण र बहुआयामिक छ : प्रचण्ड



काठमाडौं, ३ जेठ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब देशमा नयाँ युगको सुरुवात भएको बताएका छन् । पूर्वप्रधानमन्त्री उनले आफूहरुको उद्देश्य जनतालाई खुसी र राष्ट्रलाई सुदृद्ध बनाउने रहेको भन्दै भविष्यमा सामाजिक न्यायसहितको आर्थिक समद्धिद्वारा देशलाई समाजवादतर्फ लैजाने भएको पनि बताए ।

बिहिबार साँझ राजधानीको राष्ट्रियसभा गृहमा आयोजित पार्टी एकता घोषणासभालाई सम्बोधन गर्दै प्रचण्डले अस्थिरता र अराजकताको युग समाप्त भई आर्थिक समृद्धिको युग सुरुवात भएको पनि बताए ।

पार्टी एकता हुँदै गर्दा कसरी एकतालाई अभिव्यक्त गर्ने भन्नेमा शब्दको दुख भइरहेको बताउँदै प्रचण्डले विश्वलाई नै स्थिरता, विकास र सुशासनको सन्देश दिन एकता अर्थपूर्ण र बहुआयामिक भएको बताए ।

उनले आम जनभावनाअनुसार एमाले र माओवादी एकजुट भएको पनि बताए । जननेता मदन भण्डारीले कम्युनिष्ट आन्दोलनमा दिएको योगदानको स्मरण गर्दै उनकै स्मृति दिवसका दिन एकता घोषणा गरिएको पनि उनको भनाई थियो ।

विगतमा कपिपयले पार्टी एकताको विषयमा आशंका व्यक्त गरेको स्मरण गर्दै प्रचण्डले ती आशंकालाई अहिलेको अवस्थासम्म आइपुगेको पनि प्रचण्डले बताए ।

प्रचण्डले एकताका लागि पछाडि फर्किने पुल भत्काएर आएको पनि सो क्रममा बताए । उनले एकतामा साथ दिने आम कार्यकर्तालाई बधाई दिँदै आफूहरुको संकल्प पूरा भएको पनि बताए ।

उनले एमाले र माओवादी केन्द्रबीचको एकतालाई हाइड्रोजन र अक्सिजन मिलेर पानी बने जस्तै भनेका छन् । उनले भने, ‘एमाले र माओवादी केन्द्रबीचको एकता हाइड्रोजन र अक्सिजन मिलेर पानी बने जस्तै हो । पानी बनिसकेपछि हाइड्रोजन र अक्सिजन छुट्याउन सकिंदैन ।’

उनले दुई पार्टीको एकतालाई ‘महान फड्को’ को समेत संज्ञा दिए । साथै यसलाई गुणात्मक फड्को पनि बताए ।



प्रतिक्रिया दिनुहोस्