Logo

अब कोही कसैलाई पनि दोष दिएर उम्कने ठाउँ छैन : ओली



काठमाडौँ, ३ जेठ : प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरु फुट्न मात्र जान्दछन्, जुट्न जान्दैनन् भन्ने विषय इतिहास बनेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको घोषणा समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले नेपाली जनताको भावना र चाहनाअनुसार एकता प्रक्रियालाई अन्तिम रुप दिइएको भन्नुभयो ।

अध्यक्ष ओलीले (एमाले) र (माओवादी केन्द्र)बीचको एकता सामान्य प्रक्रिया नभई एकआपसमा अन्तरघुलित भएको भन्दै एकता ऐतिहासिक र महत्वपूर्ण रहेको बताउनुभयो ।

एकता प्रक्रियाको महत्व र आवश्यकतालाई जोड दिँदै उहाँले भन्नुभयो, “नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ बाँचिरहनुभएको भए आज खुशीले नाच्नुहुन्थ्यो ।”

“बहुमतसहितको सरकार, प्रदेश र स्थानीय तहमासमेत हाम्रै बहुमत छ, नेपालको कम्युनिष्ट आन्दोलन यो रुपमा आइपुग्दा संस्थापक महासचिव कति खुशी हुनुहुन्थ्यो होला ?” अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा अब शरदऋतु नभएको र सधैँ हराभरा हुने दिन शुरु भएको उल्लेख गर्दै “आजसम्म पनि एउटै कम्युनिष्ट पार्टीसँग बहुमत थिएन, अब एउटै पार्टीको सरकार छ, एउटै को बहुमत छ, छवटै प्रदेशमा सरकार छ, पपुलर भोटको बहुमत छ, स्थानीय तहमा एक्लैको बहुमत पुग्छ, त्यसकारण हाम्रा अगाडि सुन्दर सपना छन्, ती सपना पूरा गर्नुपर्दछ,” भन्नुभयो ।

अध्यक्ष ओलीले सबै तहका सरकार सही र प्रभावकारी नीति बनाएर अगाडि बढ्ने दृढता व्यक्त गर्दै “अब कोही कसैलाई पनि दोष दिएर उम्कने ठाउँ छैन, सही नीति तय गरेर देश निर्माण गर्ने अठोट गरेका छाँै,” भन्नुभयो ।

आगामी चुनावमा कम्तीमा तीन चौथाइ प्राप्त हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले नयाँ पार्टीमा दुई वटा अध्यक्ष किन रहेको भन्ने सन्दर्भमा सुशासन र समृद्धिको यात्रा ट्याम्पु चलाए जस्तो होइन, जेट इञ्जिनमा दुई वटा इञ्जिन हुन्छन् र पाइलट पनि दुई वटा नै हुन्छन् बताउनुभयो ।

अध्यक्ष ओलीले समृद्धि, सुशासनको महाअभियान अगाडि बढाउन दुई अध्यक्षले मिलेर काम गर्ने, विचार विमर्श गरी अगाडि बढ्ने संकल्प गरेको उल्लेख गर्दै जिन्दगीका खुशीका दिनमध्ये आजको दिन आफूलाई असाध्यै खुशी लागेको दिन रहेको धारणा व्यक्त गर्नुभयो ।

लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनलाई वर्तमान अनुकूल परिस्थितिलाई सदुपयोग गरी नेपाललाई नयाँ युगमा लैजाने विश्वास व्यक्त गर्दै उहाँले सानातिना कम्युनिष्ट पार्टीका नाममा पसल खोलेर बस्ने जमाना सकिएको हुँदा बृहत् एकता प्रक्रियामा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले अहंकारबाट मुक्त भएर देश निर्माणको महाअभियानमा एकजुट भएर अगाडि बढ्न आग्रह गर्दै छरिएका रहेका सबै कम्युनिष्ट महाअभियानमा सहभागी भएर योगदान पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसप्रति लक्षित गर्दै उहाँले अनावश्यक दम्भ नगर्न आग्रह गर्नुभयो । अध्यक्ष ओलीले अनावश्यक तर्क गरेर आफ्नै प्रतिष्ठा नघटाउन र जनताको माग एंव चाहनालाई सम्बोधन गर्नसमेत अनुरोध गर्नुभयो ।

आफूहरुलाई अहंकार देखाउन, दमन गर्न बहुमत चाहिएको नभई देश बनाउने जिम्मेवारी सालिनतापूर्वक निभाउन, भ्रष्टाचार रोक्न एकता र बहुमत चाहिएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न दिन्न, कानूनी राज, सुशासन लोकतान्त्रिक मूल्यमान्यता, आवधिक निर्वाचन, स्वतन्त्र न्यायालय कानूनको राज चलाउने हाम्रो प्रतिबद्धता छ, यसबाट कोही आत्तिनु पर्दैन ।”

कसैलाई भेदभाव गरिँदैन

अध्यक्ष ओलीले पार्टी एकता प्रक्रियामा सहभागी भएका सबै नेता तथा कार्यकर्तालाई क्षमता, योग्यता र सक्रियताका आधारमा जिम्मेवारी दिइने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “कुनै पनि नेता तथा कार्यकर्तालाई भेदभाव गरिँदैन, योग्यता, क्षमता, सक्रियता हेरेर, आजको सक्रियता र भोलिकोसमेत अवस्था हेरेर जिम्मेवारी दिन्छौँ ।”

अध्यक्ष ओलीले आज नयाँ इतिहास रचना भएको देश नयाँ युगमा प्रवेश गरेको बताउँदै आगामी तीन महिनाभित्रै सबै जनवर्गीय संगठनको एकता र समायोजन प्रक्रिया सम्पन्न गरिने जानकारी दिनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्