मलेसिया जाने कामदारसँग कुन शीर्षकमा कति ठगियो ?


काठमाडौं ७ जेठ ।  भिसा प्रोसेसिङमा २ अर्ब ६ करोड २९ लाख ठगी ६ लाख ३३ हजार ३६८ कामदारबाट भिएलएन कम्पनीका सञ्चालक रामप्रसाद श्रेष्ठद्वारा भिसा प्रोसेसिङका नाममा चार वर्षको ठगी ।

राहदानी संकलनमा ६४ करोड ७० लाख ठगी
भिएलएन कम्पनीले नै राहदानी संकलन गर्ने केन्द्र ओएससी सञ्चालन गरेको छ । राहदानी संकलनका नाममा २ लाख १९ हजार ७९२ कामदारबाट यो रकम ठगी गरिएको हो ।

प्रहरी रिपोर्टका नाममा ८७ करोड १५ लाख ठगी
जिएसजी कम्पनीका सञ्चालकद्वय गोविन्द थपलिया र गोपाल गुरुङले प्रहरी रिपोर्ट बनाउने (इमिग्रेसन सेक्युरिटी क्लियरेन्स) नाममा २ लाख ५४ हजार ६७० कामदारबाट दुई वर्षमा यो रकम ठगी गरेका हुन् । जिएसजीका एक सञ्चालकको नाम अभैm खुलेको छैन ।

मेडिकल दर्ताका नाममा एक अर्ब ५० लाख ठगी
मलेसिया जाने कामदारहरूले मेडिकल रजिस्ट्रेसन (माइग्राम्स) गर्नुपर्दैन । तर, मलेसिया रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने केही स्वास्थ्य संस्थाले मेडिकल रजिस्ट्रेसन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना गरेका छन् । यसमा संलग्न ३७ स्वास्थ्य संस्थाको सिन्डिकेट नै छ । यसकै नाममा कैलाश खड्का, प्रवीण तिवारीलगायत स्वास्थ्य संस्थाका सञ्चालकले अढाइ वर्षमा २ लाख ९३ हजार ६८० कामदारबाट यो रकम ठगी गरेका छन् ।

स्वास्थ्य परीक्षणका नाममा ८६ करोड ४५ लाख ठगी
वैदेशिक रोजगारीमा जाने कामदारले स्वास्थ्य परीक्षण (बायोमेट्रिक) गर्दा पुरुषले अधिकतम दुई हजार ९४० र महिलाले ३ हजार १ सय रुपैयाँ तिर्नुपर्छ । तर, स्वास्थ्य संस्थाहरूले ४ हजार ५ सय लिएर ठगी गर्ने गरेका छन् । अढाइ वर्षको अवधिमा स्वास्थ्य परीक्षणका नाममा २ लाख ९३ हजार ६८० कामदारबाट यो रकम ठगी भएको हो । नयाँपत्रिकाबाट