अमेरिका जान नपाएपछि मुख्यमन्त्री राउत असन्तुष्ट, फोरम र राजपाले ओलीसँग जवाफ माग्ने


जेठ ७, काठमाण्डौ । एक कार्यक्रममा अमेरिका जाने अनुमति मागेका प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतलाई केन्द्र सरकारले अनुमति नदिएपछि विवाद बढेको छ ।

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा जान अनुमति नदिने निर्णय गरेको थियो ।

मुख्यमन्त्री राउतले जनरल कन्भेन्सन अफ मधेसी एसोसिएसन इन अमेरिका नामक कार्यक्रममा भाग लिन जान पाऊँ भनी संघीय सरकारसमक्ष अनुमति मागेका थिए । तर सरकारले प्रदेशस्तरमा कानून, बजेट, नीति तथा तर्जुमा गर्न बाँकी रहेको र त्यसका लागि मुख्यमन्त्री आवश्यक पर्ने भन्दै राउतको भ्रमण रोकेको थियो ।

तर प्रदेश नम्बर दुईमा सरकार बनाएका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले पनिले अनुमति नदिएकोप्रति आपत्ति जनाएका छन् ।

यस विषयमा फोरम र राजपाले प्रधानमन्त्री केपी ओलीसँग जवाफ माग्ने बताइएको छ ।

यता मूख्यमन्त्री राउत पनि आक्रोषित बनेका छन् । यस विषयमा सम्पर्क गर्न खोज्दा उनको मोबाइल स्विच अफ गरेको पाइयो ।

यता संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएकोमा आपत्ति जनाएका छन् ।

वीरगञ्जमा सोमबार पत्रकार सम्मेलन गरेर फोरम नेपाल पर्साका अध्यक्षसमेत रहेका सांसद यादवले भ्रमणमा रोक लगाउनु मधेस विरोधी काम भएको बताए ।

प्रेस फोरम पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा सांसद् यादवले प्रदेश नम्बर २ लाई कसरी कमजोर बनाउने भनेर संघीय सरकार लागेको अरोपसमेत लगाएका छन् ।