गरिब देशका धनी अर्थमन्त्री, यिनले गर्लान सर्वहाराको उत्थान


केपी ओली नेतृत्वको मन्त्रीमण्डलका धनी मन्त्रीहरु

जेठ ९, काठमाडौं । सरकारका मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणले सबैको ध्यान तानेको छ ।

केही दिनअघि मात्रै नेपाल कम्युनिष्ट पार्टीको नाममा कम्युनिष्ट दल गठन भएको छ । त्यही कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार छ । सरकारमा रहेका सबै मन्त्रीहरु पनि कम्युनिष्ट नै हुन्

तर कम्युनिष्ट मन्त्रीहरुको सम्पत्ति भने पुँजीपतिहरुकोभन्दा कम छैन ।

१८ मन्त्रीमध्ये महिलामन्त्री थममाया थापा सबैभन्दा गरीब र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ धनी देखिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री केपी ओलीको नाममा बैंक खातामात्रै देखाइएको छ । घरजग्गा तथा शेयर लगायतका विवरण भने श्रीमती राधिका शाक्यको नाममा रहेको छ ।

सार्वजनिक सम्पत्ति विवरणअनुसार भक्तपुरको सूर्यबिनायक–२ का स्थायी बासिन्दा ओलीको १ रोपनी क्षेत्रफलमा फैलिएको ३ तल्ले घर रहेको छ यस्तै सोहि स्थानमा आधा रोपनी क्षेत्रफलमा फैलिएको अर्को घर पनि रहेको छ । दुबै घर स्वआर्जनमा खरिद गरिएको सम्पत्ति विवरणमा उल्लेख छ ।

यसैगरी राधिका शाक्यकै नामा झापाको पृथ्वीनगरमा स्वआर्जनले १० कठ्ठा जमिन रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै स्वआर्जनमा १७–१८ तोला सुनका विभिन्न गरगहना भएको, राधिका शाक्यको नामा माछापुच्छ्रे बैंकमा ४ लाख रहेको, प्रभू बैंकमा पनि ६ लाख रहेको तगा ओली आफ्नै नाममा पनि एभरेष्ट बैंकमा ४२ लाख नगद रहेको सम्पत्ति विवरणमा उल्लेख छ । ओलीको नाममा बैंकमा रहेको नगर तलब भत्ता वापत प्राप्त भएको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।

यस्तै राधिका शाक्यकै नाममा २५ लाखको राष्ट्रिय बचन पत्र रहेको पनि उल्लेख गरिएको छ । विवरणमा राधिका नेपाल राष्ट्र बैंकको प्रथम श्रेणीको पूर्व कर्मचारी भएको पनि उल्लेख गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरण अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठकी श्रीमती एवं सांसद जुली महतोको विभिन्न बैंक तथा वित्तीय संस्थामा धितोपत्र, ऋणपत्र र सेयर लगायत मात्रै ३९ करोड रुपैयाँ बराबरको छ ।

उनीसँग ५२ तोला सुन र डेढ किलो चाँदी छ भने ७२ लाख रुपैयाँ नगद रहेको सम्पत्ति विवरणमा उल्लेख छ । महासेठ र श्रीमतीको नाममा धनुषामा २ र ललितपुरमा एउटा घर छ ।

श्रीमती जुलीकुमारी महतो र उनका नाममा धनुषामा २ र ललितपुरमा एउटा घर रहेको पनि उल्लेख छ ।

त्यस्तै मन्त्री महासेठकी पत्नी महतोको नाममा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा ८ विघा, सिन्धुली कमलामाइ नगरपालिकामा ५ कठ्ठा, ललितपुर महानगरपालिका २ नख्खुमा २ रोपनी १३ आना, धनुषाको जनकपुर उपमहानगरपालिकामा ९ कठ्ठा जग्गा रहेको छ । त्यस्तै मन्त्री महासेठको नाममा जनकपुर उपमहानगरपालिकामा १४ कठ्ठा र धनुषाधाम नगरपालिकामा १ विघा १० कठ्ठा जग्गा रहेको छ ।

यातायात मन्त्री महासेठको सम्पत्ति विवरणमा नविल, नेपाल इन्भेष्टमेन्ट, माछापुछ्रे, एनआईसी एशिया र एभरेष्ट बैंकमा खाता रहेको उल्लेख भए पनि त्यहाँ भएको रकम उल्लेख गरिएको छैन ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी ओली सरकारका सुनमा धनी मन्त्री हुन् । सम्पत्ति विवरणमा उल्लेख गरेअनुसार उनीसँग ६० तोला सुन र ३० किलो चाँदी छ ।

पोखरा र काठमाडौंमा गरी तीन वटा घर छ भने पोखरामा दुई स्थानमा जग्गा पनि छ । उनीसँग बैंक खातामा साढे २४ लाख रुपैयाँ मौज्दात र २० लाख बराबरको कार छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको काठमाडौंमा दुईतले पक्की घर छ भने २ तोला सुन र २ लाख ५७ हजार बैंक मौज्दात रहेको आफ्नो सम्पत्ति विवरणमा खुलाएका छन् । उनीसँग करिब २५ सय पुस्तक छन् भने विभिन्न व्यक्तिसँग रहेको १४ लाख ८५ हजार रुपैयाँ ऋण सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक गरेको विवरण समेत अधिकांश सम्पत्ति श्रीमती मिरा ध्वँजु्को नाममा रहेको उल्लेख छ । रक्षामन्त्री पोखरेल झापाको चन्द्रगढीमा पैतृक सम्पत्ति वापत १२ कठ्ठा जग्गा र नेपाल इन्भेष्टमेन्ट बैकमा ७ लाख बचत मात्रै आफ्नो नाम रहेको उल्लेख गरेका छन् ।

करोडौँ सम्पत्ति भएका पोखरेलको अन्य सबै सम्पत्ति श्रीमती ध्वँजुको नाम छ । काठमाडौंको टोखा ६ धापासीमा २३ आनामा बनेको ३ तले घर, भक्तपुरको नगरकोटमा १ रोपनी ११ आना (माइतीबाट प्राप्त), धादिङको खानी खोलामा ४ रोपनी पाखो जग्गा श्रीमती ध्वँजुको नाममा छ ।

मिराकै नाममा राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक र सानिमा बैंकमा गरी ६ लाख ४० हजार बचत रहेको उल्लेख छ । बरुण हाइड्रोमा १० हजार, कृषि विकास बैकमा २ सय, मोर्डन कन्या मल्टिपल कलेजमा ५ हजार सेयर पनि ध्वँजुकै नाम छ ।

२०२० सालयता ९ तोला सुन र २५ तोला चाँदी सम्पत्ति रहेको उल्लेख छ । मिराकै नाम माछापुच्छ्रे बैंकबाट घर बनाउन ३० लाख ऋण लिएको कुरा सम्पत्ति विवरणमा उल्लेख छ ।

अर्थमन्त्री डा. युवराज खतिवडासँग ९ लाख ६० हजार बराबरको कार रहेको उल्लेख गरेका छन् । आफू र श्रीमतीका नाममा काठमाडौंमा दुई वटा घर र काठमाडौं, भक्तपुर, दोलखा र झापाका ६ ठाउँमा जग्गा भएको उनले सम्पत्ति विवरणमा जनाएका छन् ।

उनीसँग १० तोला सुन, एक किलो चाँदी र डेढ लाख नगद छ भने विभिन्न बैंक तथा वित्तीय संस्थामा ठूलो सेयर लगानी छ । विभिन्न बैंकमा गरी उनको १ करोड ५१ लाख रुपैयाँ बचत रहेको छ ।

त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग श्रीमती प्रतिमा श्रेष्ठका नाममा काठमाडौंमा एउटा घर र भीमबहादुर विष्टका नाममा गुल्मीमा दुई वटा घर छ । त्यस्तै, ७ तोला सुन तथा विभिन्न बैंक तथा वित्तीय संस्थामा सात लाख ३२ हजार नगद मौज्दात र श्रीमतीका नाममा ३ सय १४ कित्ता सेयर रहेको उनले जनाएको छ ।

वनमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटमा एउटा घर, १५ लाख रुपैयाँ नगद, ५ तोला सुन, १० किलो चाँदी र बैंकमा २ लाख मौज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनले पार्टीको नाममा रहेको एउटा गाडी चढ्ने गरेको पनि सम्पत्ति विवरणमा खुलाएका छन् ।

खेलकुद मन्त्री जगतबहादुर सुनारले आफूसँग ५० तोला सुन रहेको उल्लेख गरेका छन् । उनीसँग एउटा घर र केही जग्गा र आफूसहित श्रीमतिका नाममा २० लाख रुपैयाँ बैंक मौज्दात छ ।

कानूनमन्त्री शेरबहादुर तामाङसँग श्रीमतीका नाममा काठमाडौंमा अढाइ तले घर छ । उनीसँग ३० तोला सुन, एक लाख २८ हजार बैंक मौज्दात र श्रीमतीको एउटा कार रहेको सम्पत्ति विवरणमा खुलाएका छन् । उनको सिन्धुपाल्चोक, मोरङ र खोटाङमा जग्गा पनि छ ।