‘प्रतिपक्षीले सरकारको नीति–कार्यक्रम समर्थन गर्नु ऐतिहासिक’


जेठ १४, काठमाण्डौ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई नीति तथा कार्यक्रमलाई समर्थन गर्न आग्रह गरिएकाले मौन समर्थन प्राप्त भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै रिमालले ऐतिहासकि रुपमा प्रमुख प्रतिपक्षी दलले पनि सरकारको नीति र कार्यक्रमलाई समर्थन गरेकाले फरक परिघटनाको रुपमा लिनुपर्ने बताए । समृद्धिको कार्यक्रममा सहयोग गर्नुपर्छ भन्ने प्रतिपक्षको सद्भाव रहेको उनले बताए ।

“संसदीय मान्यतामा विपक्षीमा रहनेले राम्रो कुराको पनि विरोध गर्नुपर्छ भन्ने मान्यता रहेको थियो । यसपटक पुरानो मान्यता फेरिएको छ । सही कुरा जसले जसको समर्थन गरे पनि हुन्छ मान्यता रह्यो ।” रिमालले भने ।

आर्थिक वर्ष २०७५–७६ को बजेट नीति र कार्यक्रममा आधारित रहेर प्रस्तुत हुने रिमालले बताए ।

“सरकारले प्रस्तुत गरेको नीति र कार्यक्रमलाई खर्च हाल्ने काम हुन्छ । खर्चको स्रोत जुटाउने हो ।” उनले भने ।

बजेट र कार्यक्रममा विपन्न, अपाङ्ग, अशक्त र गर्भवती महिलालाई विशेष प्राथमिकता दिइने उलनको भनाई छ ।

विकास निर्माणका आयोजना बनाउँदा जनताको कष्ट र समस्या हटाउनुपर्ने क्षेत्रलाई प्राथमिकतामा राखिने उनले जानकारी दिए ।