जेठ १४, काठमाण्डौ । संघीय समाजवादी फोरमका सांसदहरुले सरकारको नीति तथा कार्यक्रममा राखेको संशोधन एकपछि अर्को गर्दैै फिर्ता लिए । फोरमले नीति तथा कार्यक्रमप्रति चित्त बुझाएको नभै सरकारमा सहभागि हुने बाटो खुलाउनका लागि प्रधानमन्त्री केपी ओलीलाई खुशी बनाउने प्रयासको रुपमा लिइएको छ ।
सरकार गठन भएपपिछ निरन्तर सरकारमा जानका लागि प्रयास गरिरहेको फोरमले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएर सरकारमा सहभागि हुने वातावरण बनाएको थियो । तर अहिलेसम्म सहमति हुन नसक्दा फोरम सरकार बाहिर नै छ ।
संघीय समाजवादी फोरमका सहायक महासचिव रामसहायक यादवले भने सरकारले संविधान संशोधनको माग पूरा गर्ने लिखित सहमति नगरेसम्म सरकारमा सहभागि नहुने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै यादवले मधेश आन्दोलनले उठाएका मुद्दाका विषयमा लिखित सहमति हुनुपर्ने आफूहरुको बटमलाइन भएको बताए ।
“हाम्रो माग पूरा हुने गरी लिखित सम्झौता भयो भने सरकारमा जाने कुरा अगाडि बढ्छ । दिन, हप्ता, महिना जति समय पनि लाग्न सक्छ । यो कुरा सरकारमा भर पर्छ ।” यादवले भने ।
आइतबार फोमरका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेतासँग छलफल गरेका थिए । छलफलमा फोरमले सरकारको नीति तथा कार्यक्रमलाई समर्थन गर्ने र केही दिनमा नै सरकारमा पनि सहभागि हुने गरी सहमति भएको दाबी गरिएको थियो ।
तर महासचिव यादवले भने सरकारमा सहभागि हुन बारे टुङ्गो नलागेको दाबी गरे ।




प्रतिक्रिया