पौडेलको प्रश्न-नमच्चिने पिङको सय झड्का जस्ता कुरा किन ?


जेठ १५, काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा गणतन्त्र आएपछि लोकतन्त्र स्थापित भएको बताएका छन् ।

गणतन्त्र स्थापना भएको दश वर्ष पूरा भएको अवसरमा ऋषि धमलासँग कुरा गर्दै पौडेलले अबका दिनमा देशलाई समृद्धिको बाटोमा गएर गणतन्त्रलाई सार्थक बनाउनुपर्ने बताए

अहिलेको सरकार दुई तिहाई कसरी पुर्याउने भन्नेमा नै केन्द्रित भएकाले गणतन्त्र दिवस पनि खल्लो भएको पौडेलको आरोप छ ।

“दुई तिहाई चार तिहाई जे गरेपनि हाम्रो मुख्य चिन्ता के हो भने त्यसको दुरुपयोग नहोस् । संघीय लोकतन्त्रिक गणतन्त्रको जुन बाटो राष्ट्रले तय गरेको छ, त्यो बाटोबाट दायाँबायाँ गर्ने प्रयास गर्नुहुँदैन ।” पौडेलले भने ।

जनताको मतको दुरुपयोग गरेर संविधानले स्थापित गरेको व्यवस्थालाई नै बदल्ने खालका काम नेपालमा नहोस् भन्ने कांग्रेसको चाहना रहेको पौडेलको भनाई छ ।

कम्युनिष्टहरुले प्रत्यक्ष राष्ट्रपति प्रणालीको कुरा गरेकोप्रति लक्षित गर्दै पौडेलले भने, “त्यसो भयो भने सबैभन्दा बढि दुर्भाग्य हुनेछ । नेपालमा वान म्यान रुल चल्न सक्दैन ।”

दुई तिहाई बहुमतको बलमा कम्युनिष्टहरुले प्रत्यक्ष राष्ट्रपति प्रणाली लागु गर्न खोजे भने कांग्रेसले सशक्त विरोध गर्ने चेतावनी पौडेलले दिए ।

अहिलेको सरकारलाई विकास गर्न कसैले नरोकेको बताउँदै पौडेलले प्रश्न गरे, “नमच्चिने पिङको सय झड्का जस्ता कुरा किन ? अहिले विकास गर्न कसले रोकेको छ ? खुरुखुरु काम गर्नु नि ।”

विगतका कांग्रेसले हिंसा र आतंककाबीचमा पनि विकासको जग बसालेको पौडेलले दाबी गरे ।