बन्द श्रीपेच हेर्न पाइने सम्भावना बढ्यो


काठमाडौं १७ जेठ ।  नारायणहिटी संग्रहालयको सैलुन कक्षको बाकसमा राखिएको श्रीपेच सर्वसाधारणका लागि खुला गर्न सरकारले फेरि चासो देखाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितको टोलीले बुधबार संग्रहालय अवलोकन गर्ने क्रममा जनताको चासो र शाह कालको नासोका रूपमा रहेको श्रीपेच सर्वसाधारणका लागि खुला गर्न चासो देखाएको हो। मन्त्री अधिकारीले चाँडै नै श्रीपेच प्रदर्शनीमा राखिने जानकारी दिनुभयो। उहाँले श्रीपेच सर्वसाधारणका लागि खुला गर्नका लागि आवश्यक व्यवस्था मिलाउन संग्रहालयका प्रमुख रोहित ढुंगानालाई निर्देशन दिनुभएको थियो।

मन्त्री अधिकारीले जनताले बढी चासो लिएको श्रीपेचलाई तत्काल अवलोकनमा राख्न निर्देशन दिनुभएको थियो।  संग्रहालय प्रमुख ढुंगानाले प्रकृया थाल्ने बताउनुभएको थियो। नारायणहिटी संग्रहालयको अवलोकन सँगै उहाँले श्रीपेचको अवस्थाबारे चासो देखाउनुुभएको थियो। मन्त्रालयका सचिव कृष्ण देवकोटा, पुरातŒव विभागका महानिर्देशक भेषनारायण दाहाल, विभागका पूर्वमहानिर्देशक कोषराज आचार्य, विष्णुराज कार्की र संस्कृतीविद् मुकन्दराज अर्याललगायतको टोली संग्रहालयमा पुगेको थियो।

पूर्वराजा ज्ञानेन्द्रले २०६५ साल जेठ २९ गते नारायणहिटी छाडेपछि कडा सुरक्षा घेराभित्र राखिएको श्रीपेचको अवस्था कस्तो छ भन्ने जानकारी अहिलेसम्म कसैलाई जानकारी छैन। पछिल्लो पटक २०७१ चैतमा श्रीपेचको अवस्थाको बारेमा जानकारी लिइएको थियो। पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छाड्नु अघि हाम्रा पितापुर्खाको विरासतको रूपमा रहेको श्रीपेचलाई सदाका लागि जोगाएर राख्न देशवासीको नाममा अनुरोध गर्नुभएको थियो।

तर नारायणहिटी दरबार छाडेको एक दशक बितिसक्दा पनि सरकारले श्रीपेच प्रदर्शनीमा राख्न सकेको छैन्। संग्रहालय प्रमुख ढुंगानाले श्रीपेच राखिएको स्थान सुरक्षित रहेको जानकारी दिनुभयो। सात वर्षअघि २०६८ सालमा करिब १ करोड ५० लाख रुपियाँको लागतमा संग्रहालयले सुर्खेत र रूपन्देही कक्षमा श्रीपेचसहितको समाग्री राख्न दुईवटा बुलेटप्रुफ सोकेस बनाएको थियो। शैलुन कक्षको स्टिलको सोकेशभित्र थन्किएको श्रीपेचलगायत राजपरिवारका सामग्री राख्न प्राविधिक कारण देखाउँदै उक्त सोकेसमा हालसम्म श्रीपेच राख्न सकेको छैन। संग्रहालयले गत वर्षको वैशाख १ गतेदेखि नै सर्वसाधारणका लागि श्रीपेच, राजदण्डलगायतका ऐतिहासिक सामग्री प्रदर्शनीमा राख्ने तयारी गरेको थियो। नेपालसमाचारपत्रबाट