काठमाडौं, १८ जेठ । राष्ट्रवादी प्रजातान्त्रीक पार्टी (क्रान्तिकारी)ले ‘प्रस्तावित’ अवधारणा पत्र सार्वजनिक गरेको छ ।
रिपोर्टर्स क्लब नेपालमा राष्ट्रवादी प्रजातान्त्रिक पार्टी क्रान्तिकारी) ले पत्रकार सम्मेलन गरेर आफ्नो पार्टीको अवधारणा पत्र सार्वजनिक गरेको हो ।
पार्टीका अध्यक्ष त्रिलोक बहादुर चन्दले संवैधानिक राजतन्त्र, बहुदलीय ब्यवस्था, वैद्धिक सनातन हिन्दुराष्ट्र कायम राख्ने उद्देश्यले नयाँ पार्टीको स्थापना गरेको बताएका छन् ।
उनले भने,‘तत्कालिन माओवादी र अन्य सात राजनीतिक दलहरुबीच भएको १२ बुँदे सम्झौता धोका हो, त्यो समयमा भए गरेका उक्त सम्झौताले नेपाललाई पराधिनतामा धकेलेको छ, धार्मिक रुपमा कमजोर बनाउने काम भएको छ, नेपालको स्वतन्त्रता छिन्ने अवस्थामा छ, विदेशीहरुको ठाडो हस्तक्षेप बढेको छ, नेपाली नेताहरुले जतिसुकै राष्ट्रवादी कुरा गरेपनि राष्ट्रिय स्वाभिमान र आत्मसम्मान गिरेको छ, सिर झुकेको छ, नेपालको हरेक नीति, नियम निमार्ण हुँदा विदेशीको ईशारामा हुने गरेका छन् ।’
उनले अघि थपे,‘बिकराल स्थितिमा हामीले पार्टी निमार्ण कार्यको थालनि गरेका छौं, गोली हान्ने, बन्दुक बोक्ने, बम प्रहार गर्नेहरु मात्रै क्रान्तिकारी होईन, वेद र विज्ञानको बीचभागबाट अघि बढेको जो सुकै क्रान्तिकारी हुन्छ, आजका क्रान्तिकारी भनिनेहरु भन्दा नेपालका पुर्खाहरु धेरै क्रान्तिकारी र परिवर्तनशील थिए, गौतम वुद्ध आज विश्वमा त्यही वेद र विज्ञानको शक्तिले चम्किरहेकाछन्, पृथ्वीनारायण शाहलाई सम्झिँदा पुग्छ, महेन्द्रलाई सम्झिए हुन्छ, को क्रान्तिकारी थियो र छन ?’
संघीयता र धर्म निरपेक्षता देशको लागि हानिकारक भएको बताउँदै अध्यक्ष चन्दले संघीयताले देशलाई विटुलो बनाएको आरोप लगाए । उनले थपे,‘देश विभाजनका रेखाहरु कोरिन थालेको हामीलाई महसुस भएको छ, धर्मको नाममा परधर्मीहरु सल्बलाईरहेका छन्, धर्मको नाममा ब्यापार गर्ने काम भईरहेको छ।’
उनले भने,‘राष्ट्रियतालाई कमाई खाने भाँडो बनाएका छन्, सत्तामा पुग्ने आधार बनाएका छन्, जसले जे गरेपनि हुने, जे बोलेपनि हुने स्थिति छ, राष्ट्रियतालाई कमजोर बनाई बिदेशीको राजनीतिक रणभूमिको प्रयोगशाला बनाईदिएका छन्, हाम्रो देशमा सिमाना मिचिएको बेला कोही बोल्दैन, बिदेशीलाई आवरणमा गाली गर्छन्, राष्ट्रवादी बन्छन्, आन्तरिकमा उनैलाई ढोगेर सत्ता प्राप्ति गरेपछि आफु हिनताबोध गरि छुद्रता प्रकट गरिरहेका छन् ।’
राष्ट्रियताको नाममा यूवाहरुलाई उचालेर यूवाहरुकै काँध चढिरहेको बताउँदै उनले भने,‘अब यूवाहरुले बुझ्नुपर्छ वर्तमान राजनीतिक दलहरुबाट अहिले देशको आर्थिक समृद्धि र विकासको कुरै छोड्यौ, हरेक जनजीविकाको सवाल हक समेतमा पराधिनता हुनुपर्ने अवस्था भएकाले एकीकृत भई राष्ट्रिय स्वाभिमान र स्वाधिनताको लागि वेद र विज्ञानबाट उत्पन्न हुने क्रान्तिकारीलाई आत्मसात् गर्नुपर्छ, मेरो आग्रह पनि यूवाहरुलाई यसैमा लाग्नुहोस् भन्ने नै हो ।’
कार्यक्रममा पार्टीको उपाध्यक्ष कमानसिँह पुन, जीवश यादव, सोनाम तामाङ, महामन्त्री शोभा तिमिल्सिना, सहायक महामन्त्री लक्ष्मि रेग्मी, कोषाध्यक्ष डा. शुधा बराल, सदस्य अनुप रायमाझि, तारा बस्नेत, सिता पण्डित, निशा खत्री, तुलशा कुँवर, मोहन अधिकारी लगायतले आफ्का कुराहरु राखेका थिए ।




प्रतिक्रिया