कतारमा नेपालीलाई मृत्युदण्ड


काठमाडौं २२ जेठ । कतारी अदालतले नेपाली नागरिक अनिल चौधरीलाई मृत्युदण्ड सुनाएको छ । महोत्तरी–१ औरही निवासी चौधरीलाई कतारी नागरिक उमैर मोहम्मद उमैर अल रामजानी अल नियमियोको हत्या आरोपमा त्यहाँको अदालतले गोली हानी मृत्युदण्ड दिने सजाय सुनाएको हो ।

नेपालीलाई मृत्युदण्डको फैसला सुनाएपछि कतारस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयको संयोजनमा चौधरीको जीवन रक्षाको पहल थालेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । गत मे २५ सम्म फौसलाविरुद्ध पुनरावेदन गर्न पाउने नियमअनुसार चौधरीको जीवन रक्षाका लागि कतारको पुनरावेदन अदालतमा मुद्दा दर्ता गरिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए । कतारको तल्लो अदालतले चौधरीलाई मृत्युदण्ड सुनाएको कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले बताए ।

सन् २०१५ अगस्टमा कतार पुगेका चौधरी मृतक मोहम्मदकै कम्पनीमा काम गर्ने श्रमिक रहेको दूतावासले जानकारी दिएको छ । अभियुक्त चौधरीले दूतावास प्रतिनिधिसँगको भेटमा आफू निर्दोष रहेको बताएका छन् । तर कतारी पुलिसले चौधरीलाई मृतक मोहम्मदको पैसा लुटेर हत्या गरेको आरोप लगाएको छ । लुटिएको पैसा चौधरीबाट बरामद गरेको पनि कतार प्रहरीले बताएको राजदूत कोइरालाको भनाइ छ ।

‘मन्त्रालयलाई घटनाका विषयमा पूर्ण जानकारी छ’, प्रवक्ता पौडेलले भने, ‘हामीले कतारस्थित नेपाली दूतावासमार्फत चौधरीका पक्षमा आवश्यक कानुनी प्रक्रिया अपनाइसकेका छौं ।’ सरकारले वैदेशिक रोजगार विभागलाई चौधरीको पक्षमा मुद्दा लड्दा लाग्ने खर्च तुरुन्त निकास गर्न आग्रह गरेको र यसको बोधार्थ श्रम मन्त्रालयलाई पनि बुझाइएको उनले जानकारी दिए ।