प्रचण्डले यसरी गरे देउवासँग अर्को सहमति


काठमाडौं, २५ जेठ । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कारण प्रतिनिधिसभाको आजको बैठकबाट ‘प्रतिनिधिसभा नियमावली, २०७५’ बहुमतले पारित भएको छ ।

नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोख्रेलले “प्रतिनिधिसभा नियमावली, २०७५’ लाई पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकले बहुमतले पारित गरेको हो ।

यसअघि सत्तापक्ष र प्रमुखप्रतिपक्षबीच खासगरी संसदीय समितिको संख्या र फौजदारी अभियोग लागेका सांसदहरुलाई निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा मतैक्यता नभएपछि नियमावलीको विषय लामो समयदेखि अघि बढ्न सकेको थिएन ।

आज नियामावली अघि बढ्नुमा नेकपाका अध्यक्ष प्रचण्डको ठूलो हात रहेको स्रोतको दाबी छ । प्रतिपक्षीलाई माईनस गर्न मिल्दैन भनेर प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई कन्भिन्स गर्न सफल भएका थिए ।

उक्त नियामावली पारित भएपछिमात्रै संवैधानिक निकायका प्रमुखहरु नियुक्ती गर्न सजिलो हुने प्रचण्डको भनाई रहेको थियो ।