राज्यले योग्यता र क्षमताको कदर नगरेको गुनासो
काठमाडौं, २५ जेठ । नेपाल दृष्टिविहीन अपाङ्ग जागरण संघर्ष समितिले सरकारले आफूहरुलाई उपेक्षा गरेको भन्दै तत्काल शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न माँग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई ढाँटेको उनीहरुको आरोप छ ।
सरकारले आफूहरुलाई रोजगारीको व्यवस्था नगरे जीवन निर्वाह भक्ताको व्यवस्था गर्नपनि उनीहरुले माँग गरेका छन् । यदि सरकारले आफूहरुकोलागि केही पनि गर्न नसक्ने हो भने मारिदिए हुन्छ भन्ने उनीहरुको आक्रोश थियो ।
आफ्नो योग्यता र क्षमताको आधारमा जीवन जिउन खोज्दापनि त्यसमा राज्यले कत्तिपनि सहयोग नगरेको भन्दै नेपाल दृष्टि विहिन अपाङ्ग जागरण संघर्ष समितीका सदस्यहरुले गुनासो पोखेका छन् ।
समितिले शुक्रबार रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो गुनासो र माँगहरु तेर्साएको हो । संघर्ष समितीका अध्यक्ष सुदिप वलीले अशक्त, अपाङ्ग, दृष्टिविहीनलाई राज्यले उचित न्याय दिनुपर्ने बताए ।
उनले भने,‘राज्यले हामीलाई न्याय दिनुप¥यो । पढेकालाई जागिर र नपढेकालाई भत्ताको ब्यवस्था हुनुप¥यो । हामी माँग्ने होइनौँ । हामीले आफ्नो कला र गला बेचेर गुजारा गरेका छौँ । यदि हामी माँग्ने भए देशका सबै गायक तथा गायिका माग्ने हुन, सबै नेता माँग्ने हुन् । हामीले अपराध गरेका छैनौँ । सजाय दिनेभए ती भ्रष्टाचारीहरु, दलालीहरुलाई दिनुहोस हामीलाई होईन ।’
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय अपांग पत्रकार संघ नेपालका अध्यक्ष रबिन थपलियाले सरकारले अपांगता भएका व्यक्तिहरुलाई उपेक्षा गरेको भन्दै कडा आपत्ति जनाएका छन् । हालै आएको आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा समेत अपांगता भएका व्यक्तिहरुको बारेमा कुनै सम्बोधन नगरेकोमा पनि उनको आक्रोश थियो ।
थपलियाले भने,‘बजेट आउँदा पाना पाना पल्टाई हेरेको तर अपांगता भएका व्यक्तिहरुको बारेमा कुनै कार्यक्रम देखिएन, यो हामीहरुप्रतिको ठूलो अपमान हो, हामीलाई यसले चित्त दुखाएको छ।’ त्यस्तै उनले दृष्टिविहीनहरुलाई राज्यले गाँस, बासको व्यवस्था गर्नुपर्ने माँग गरे । उनले थपे,‘यदि राज्यले दृष्टिविहीनहरुलाई सेवा तथा सुविधा दिन सक्दैन भने उहाँहरुले आफ्नो काम गर्दा कुनै अवरोध गर्नुहुँदैन्।’
त्यसैगरि संघर्ष समितीका उपाध्यक्ष दिपराज परियारले राज्यले अपाङ्गता भएका व्यक्तिहरुलाई अपहेलना गरेको भन्दै आफूले भोगेको पीडा सुनाए । आफूहरुले पशुपतिनाथ मन्दिर परिसरमा कला र गला प्रस्तुत गर्दै आएको तर पशुपति विकाष कोष र महानगरीय प्रहरी मिलेर बाद्यबाधनको सामाग्री खोसिएकोमा आक्रोश पोखे ।
उनले भने,‘हामीले बाँच्ने आधार बनाउन आफ्नो कला बेच्न पनि पाएनौँ । हाम्रा सामान लुटियो, हामीलाई जबरजस्ती हातपात गरि लखेटियो।’
त्यसैगरि संघर्ष समितिका सदस्य नेत्रप्रसाद कोइरालाले पनि राज्यले अपाङ्ता भएको व्यक्तिलाई हेर्ने अंग नभएको जानकारी गराए ।
उनले भने,‘राज्यले कहिल्यैपनि हाम्रो माग सूनिदिएन । हामीले गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारी मागेका हौँ । तर राज्यले हाम्रो वास्ता गरेन । हामी राज्यको कुन अंग हो ? हामी राज्यको नागरिक हो कि होइनौं ? सडक चोक, मन्दिरमा गाएर पेट पाल्दा पनि लखेटियौँ ।’
सरकारले अपाङ्गता भएको व्यक्तिलाई उचित व्यवस्था नगरेको भन्दै समितीका सदस्य नम्रता ठकुरीलेले राज्यको यसको बारेमा विशेष ध्यानाकर्षण हुनुपर्ने बताईन् ।
त्यस्तै संघर्ष समितिकिा सदस्य टंक आचार्य रोजगारीको व्यवस्था गर्न माँग गर्दै काठमाडौंको बौद्धमा आफूहरुलई निर्वाध रुपमा गाउन दिनुपर्ने बताए । उनले थपे,‘यदि होईन भने हाम्रो लागि विकल्प खोजिदिनुपर्यो ।’
कार्यक्रममा न्यूज लाईन्स नेपालका अध्यक्ष राजु भट्ट, अपांगमैत्री नेपालका अध्यक्ष काजीलाल श्रेष्ठ लगायतले अपांगता भएका व्यक्तिका विषयमा राज्य गम्भिर बन्नुपर्ने धारणा राखेका थिए ।




प्रतिक्रिया