जेठ २७, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता आनन्द पोखरेलले राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई सभामुख पद दिन सकिने बताएका छन् ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले राजपा तयार भए आफूहरु ठाकुरलाई सभामुख बनाउन तयार रहेको बताएका हुन् ।
संगै रहेका राजपा नेता कर्णले प्रतिनिधीसभा चुनाव जितेका रेशम चौधरीलाई तत्काल मुक्त गर्न माग गरेका छन् । चौधरीलाई मुक्त नगरेसम्म सरकारमा सहभागि नहुने आशय कर्णले व्यक्त गरेपछि पोखरेलले राजपालाई सरकारमा आउने ढोका खुला राखेको भन्दै आउने नआउने उहाँहरुकै कुरा भएको बताए ।
नेता पोखरेलले रोटीबेटीको सम्बन्ध भारतसँग मात्र नरहेको जिकिर गरे । “अहिले रोटी पनि बेटी पनि तेस्रो मुलुकबाट पनि आउँछ । परम्परागत ढंगले परिभाषा गर्नु हुँदैन ।” पोखरेलले भने ।
राजपा नेता कर्णले भारतसँगको जस्तो मजबुत सम्बन्ध अरु देशसँग नरहेको बताए । “दुई चार वटा विवाह अमेरिकीसँग भयो भन्दैमा रोटीबेटीको सम्बन्ध भन्ने ? वास्तविकतालाई त स्विकार गर्नुस् न ।”
कुराकानीका क्रममा पोखरेलले अहिलेको सरकारले धेरै राम्रा काम गरेको दाबी गरे । प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार मुक्त देश बनाउने घोषणा गरेसँगै भ्रष्टाचार कम भएको पोखरेलको दाबी थियो ।
तर राजपा नेता कर्णले पोखरेलको भनाईको खण्डन गर्दै केपी ओली प्रधानमन्त्री बनेपछि भ्रष्टाचार मौलाएको आरोप लगाए । भारतबाट नेपालमा रेल भित्र्याउने कुरा असम्भव नभए पनि विना तयारी प्रधानमन्त्री ओलीले भ्रम सृजना गरेको कर्णको आरोप छ ।




प्रतिक्रिया