जेठ २८, काठमाण्डौ । सरकारले धुम्रपान र मद्यपानजन्य वस्तुमा इजाजत र नवीकरण दस्तुर बढाएको छ ।
मदिरा तथा इथानोल, चुरोट तथा सुर्तीजन्य वस्तुको उत्पादन, आयात र खरिद–बिक्री वितरणमा लाग्दै आएको इजाजत र नवीकरण दस्तुर बढाएको हो ।
राजपत्रमा सूचना जारी गर्दै सरकारले इजाजत लिनुपर्ने त्यस्ता वस्तु तथा सेवाको इजाजत दस्तुर वृद्धि गरेको हो ।
मन्त्रिपरिषद् बैठकले गत साता अन्तःशुल्क नियमावली २०५९ मा १८ औं संशोधन स्वीकृत गरेपछि आन्तरिक राजस्व विभागले इजाजत दस्तुर बढाएको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हालको व्यवस्थालाई संशोधन गर्दै नयाँ व्यवस्था लागू गरेको हो । जसअनुसार इजाजत लिनुपर्ने व्यवसायको दस्तुर औषतमा २० प्रतिशतसम्म वृद्धि भएको छ ।
सरकारले ल्याएको दस्तुरसम्बन्धी यो व्यवस्था दुर्गम क्षेत्रका फलफूलमा आधारित वाइन तथा मदिरा उद्योगका हकमा ७५ प्रतिशत कम लाग्ने आन्तरिक राजश्व विभागले जनाएको छ ।
इजाजतको यस्तो शुल्क वृद्धिले वार्षिक २० करोडसम्म राजस्व बढ्ने विभागको दाबी छ ।




प्रतिक्रिया