सिण्डिकेट अन्तसँगै धमाधम यातायात सेवा विस्तार


लामाटारबाट बुढानिलकण्ठसम्म बस सेवा शुरू

ललितपुर, २८ जेठ । यातायात क्षेत्रमा सिण्डिकेट अन्तसँगै विभिन्न रुटमा यातायात सेवा विस्तार हुँदै गर्दा ललितपुरको लामाटारबाट काठमाडौंको बुढानिलकण्ठसम्म बस सेवा संचालनमा आएको छ । ‛हामी सबैको यातायात’ ले बस संचालनमा ल्याएको हो ।

सोमबार ललितपुरको लामाटारस्थित पाटीचौरमा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, वरिष्ठ पत्रकार ऋषि धमला, महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक बिनोद सिलवाल, महालक्ष्मी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष वासुदेव शर्मा, ८ का वडाध्यक्ष विश्वराज श्रेष्ठ र ७ का वडाध्यक्ष नहकुल थापाले संयुक्त रुपमा बस सेवाको शुभारम्भ गर्नुभएको थियो ।

२७ सिटको टाटा कम्पनिको १३ वटा बसले सोमबारबाट पाटीचौर, धाराचौर, शंखादेवी, बिष्णुडोल, सिद्धिपुर, इमाडोल, ग्वार्को, सातदोबाटो, लगनखेल, रत्नपार्क, महाराजगञ्ज हुँदै बुढानिलकण्ठसम्म र फर्केर इमाडोलबाट आई टिकाथली, चाङ्गथली, लुभु, डाँडाथोकबाट पाटीचौर हुँदै धाराचौरबाट सिद्धिपुर निस्कनेगरी दायाँ र बाँया दुईतर्फी सवारी संचालनमा ल्याएका छन् ।

मनोरम प्राकृतिक सुन्दरताले भरिएको ललितपुरको पर्यटकीय क्षेत्र शंखादेवी र लामाटार क्षेत्रलाई धार्मिक पर्यटकीय स्थान काठमाडौंको बुढानिलकण्ठसँग बस सेवामार्फत् सिधा जोडेको छ । यसबाट आन्तरिक पर्यटनमा समेत टेवा पुग्नेछ ।

बस सेवाको शुरूमै उत्साह देखिएको छ । अबको दुई महिनाभित्र ३६ वटा बस संचालनमा आउने हामी सबैको यातायात कम्पनिका अध्यक्ष मोहन सापकोटोल बताए । बस सेवा संचालनमा आएपछि स्थानीयवासीमा उत्साह छाएको छ । बस सेवा उद्घाटनमा महिला, वृद्धवृद्धाको समेत उल्लेख्य उपस्थिति थियो ।

वरिष्ठ पत्रकार ऋषि धमलाले ललितपुरको रमणीय स्थान लामाटारबाट बुढानिलकण्ठसम्मको बस सेवा संचालन एउटा सपना पूरा भएको बराबर हो भन्दै देश समृद्धिको यात्रातर्फ लम्किरहेको संकेत मिलेको बताए । समृद्धिका लागि सबैले आ आफ्नो स्थानबाट पहल गर्नुपर्ने भन्दै आफू मिडियामार्फत् विकास र प्रगतिका लागि हुने जुनसुकै काममा सहयोग गर्न तयार रहेको बताए । देशमा कनेक्टिभिटी बढाउनुपर्ने भन्दै त्यसले जनता जनताबीचको सम्बन्ध सुमधुर हुनाको साथै समृद्धिले समेत गति लिने बताए । बस सेवा संचालनमा भूमिका खेल्ने सबैलाई धन्यवाद दिए ।

उद्घाटनमा बोल्दै महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले यातायात सेवाको विकासका लागि आवश्यक सडक निर्माणमा आफू कटिवद्ध भएर लागेको बताए । उनले नगरपालिकालाई अन्य नगरपालिकाहरूसँग जोड्ने गरी यातायात संचालनमा ल्याउन चाहनेलाई प्रोत्साहित गरिने बताए । बस सेवालाई अझ प्रभावकारी बनाउन सबैले आ आफ्नो क्षेत्रबाट सहयोगी भूमिका निभाउनुपर्ने बताए ।

कार्यक्रमको उद्घोषण तत्कालिन लामाटार गाविस हुँदाका अध्यक्ष चिरञ्जिवी आचार्यले गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा महालक्ष्मी नगरपालिकाका मेयरका उम्मेदवार महेश खड्का, वडा नम्बर ८ का वडाध्यक्षका उम्मेदवार विवेककुमार कार्की, महानगरीय प्रहरी प्रभाग लुभुका इञ्चार्ज भीमबहादुर श्रेष्ठ, महालक्ष्मी नगरपालिकाका वडा सदस्यहरू, बुद्धिजीवीहरू डा. मदनराज बिष्ट, डा. दीपेश केसी, डा. शिवजी सिलवाल, छत्र कार्की, सुनिल आचार्यलगायतको उपस्थिति थियो ।