Logo

कार्यकारी राष्ट्रपति अहिलेको कार्यसूची होइनः प्रचण्ड



चितवन, २९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट मत तान्ने खालको नभएर राष्ट्रिय अर्थतन्त्रलाई विस्तारै सन्तुलनमा ल्याउने खालको भएको बताउनुभएको छ ।

प्रेस चौतारी र प्रेस सेन्टर नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसद दाहालले भन्नुभयो, “जनमुखी योजना धेरै आउँदैछन्, पहिलो गियर लगाइएको छ र उडान भर्दै जान्छ ।”

राष्ट्रिय जनता पार्टी९राजपा० सरकारमा आइहाल्ने निर्णय भएको छैन भन्दै उहाँले छलफल चलिरहेको बताउनुभयो । फौज्दारी अभियोग लागेका सांसद्लाई नियमावलीमा छुट दिइए पनि ऐनमा निलम्बन नै शब्द राख्ने कुरामा दलबीच सहमति भइसकेको पनि अध्यक्ष दाहालले बताउनुभयो ।

“जनतालाई कुरा बुझाउन नसक्दा नियमावलीको विषयमा मतभेदजस्तो देखिए पनि नियमावलीको भाषा निलम्बनबाहेक अरु अर्थ लाग्ने खालको छैन”, उहाँले भन्नुभयो ।

काम नगर्ने ठेकेदारलाई सरकारले कडाइपूर्वक कारवाही गर्ने प्रष्ट पार्दै अध्यक्ष दाहालले भन्नुभयो,“म जसको घरमा बसेको छु त्यो घरको मान्छेले पनि गल्ती ग¥यो भने कारवाही हुन्छ ।” सो सन्दर्भमा मिडियामा आएका विषयमा असन्तुष्टि व्यक्त गर्दै उहाँले कहिलेकाहीँ मिडियामा उल्टोपाल्टो आउने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मिडियाले आफ्ना लागि कोड अफ कन्डक्ट आफै बनाउनुपर्ने आवश्यकता बनेको छ । तपाईंहरु आफंैँले कोड अफ कन्डक्ट बनाउनुहोस् । प्रेसको पनि मूल्य, मान्यता र आचारसंहिता हुन्छ, त्यो कुरा प्रेसले नै निधो गरोस् । ”

अध्यक्ष दाहालले कार्यकारी राष्ट्रपति अहिलेको कार्यसूची नभएको बरु सुशासन, विकास र समृद्धि रहेको बताउनुभयो । एउटै पार्टीका सभामुख, उपसभामुख तथा राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष हुनुहुन्न भन्ने विषयको अर्को प्रसङ्गमा उहाँले सभामुख, उपसभामुख हुनुभन्दा अघि उहाँहरु पार्टीमा रहे पनि अहिले कुनै पनि पार्टीमा नरहेको बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्