एकै दिन चार कफिन

0
Shares

काठमाडौं २ असार ।  काठमाडौंका दीपक श्रेष्ठ सानैमा आमा गुमाएकी एक्ली सन्तान पूजालाई घरमा छाडेर साउदी अरेबिया गए । विदेशमा पसिना बगाएर छोरी पढाउने सपना देखेका उनको रियादमा काम गर्दागर्दै गत जनवरी २५ मा मृत्यु भयो ।

सहाराविहीन पूजालाई यो समाचारले कम्ती विक्षिप्त बनाएन । त्यसमाथि बुबाको शव ल्याउन खेप्नुपरेको सास्तीले उनी हैरान भइन् । झन्डै ५ महिनापछि शुक्रबार आइपुगेको बुबाको शव बुझ्न पूजा आफैं त्रिभुवन विमानस्थल पुगिन् । दाहसंस्कारका लागि पशुपति आर्यघाट लगिन् । ‘बुबाको शव ल्याउन निकै सास्ती बेहोर्नुपर्‍यो,’ परेलीमा शोक टल्पलाउँदै उनले गुनासो गरिन्, ‘मलाई नेपाली दूतावासको काम फिटिक्कै मन परेन, शव ल्याउन धेरै दु:ख झेल्नुपर्‍यो ।’

दीपक गत फ्रेबुअरीमै फर्कने तयारीमा थिए । फर्केर छोरीको नागरिकता बनाइदिने योजना थियो । पूजालाई अहिले शोकमाथि नागरिकताको पिरलो थपिएको छ । ‘आएर बनाइदिन्छु भन्नुभएको थियो । काठमाडौं महानगरपालिकाले शव बुझ्ने प्रमाणका रूपमा एउटा कागज बनाइदिएको छ । अब कसरी मेरो नागरिकता बन्ला ?’ उनले चिन्ता गरिन् ।

खाडी र मलेसियामा कामदार मृत्यु
सन् २०१७ ९५७ जना
पछिल्लो ९ वर्ष ५,८९२ (महिला १२७)
प्रमुख कारण
– कमजोर अभिमुखीकरण
– ट्राफिक नियम नजानेर
– दिनमा चर्को गर्मी, रातमा अति चिसोमा सुत्दा
– जीवनशैली

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाट शुक्रबार बिहान ३ नेपाली श्रमिकका शव राखिएका कफिन निकालिए । कफिनमा शव थियो– भूपेन्द्र दर्लामी मगर, रामसिस मुखिया र दीपक श्रेष्ठको । कतारबाट ल्याइएका भूपेन्द्र र रामसिसको कफिन सँगै निकालिएको थियो । साउदीबाट ल्याइएको दीपकको शव रहेको कफिन भने अलि पछि निकालियो । दीपकसँगै पठाइएको जितेन्द्रप्रसाद कहरको शव बुझ्न साँझ मात्रै आफन्त विमानस्थल पुगे ।

वैदेशिक रोजगार सिलसिलामा लाखौं नेपाली विभिन्न देशमा कार्यरत छन् । विभिन्न कारण विदेशमा दिनहुँ नेपालीको मृत्यु हुने गरेको छ । विमानस्थलमा दिनहुँ कसै न कसैको कफिन आइपुग्छ । शुक्रबार भने एकै दिन ४ कफिन आइपुगे ।

३५ वर्षीय भूपेन्द्रको शव लिन जेठा दाइ मोहन दर्लामी विमानस्थल पुगे । ‘जेठ ११ गते भाइको मृत्यु भएको खबर पाएँ,’ काठमाडौं, बसुन्धरा बस्दै आएका मोहनले सुनाए, ‘सुतिरहेका बेला सास गएको रे ।’ मोहनलाई भाइको शव गाउँ पुर्‍याउने आँट आएन । किनकि, उदयपुर सदरमुकाम गाईघाटबाट रौतामाई गाउँपालिका–२ शव पुर्‍याउन निकै कठिन थियो ।

‘गाईघाटबाटै बसमा मान्छे मात्रै जाँदा त ५ सय रुपैयाँ भाडा लाग्ने ठाउँ छ । पानी परेर बाटो खत्तम छ,’ उनले सुनाए, ‘बुबाआमा र बुहारीलाई भाइको अत्येष्टि पशुपतिमै गर्ने भनियो ।’ १६ महिनाअघि कतार पुगेका भूपेन्द्र पाइप फिटरको काम गर्थे । उनको शव लिएर आएका साथी दलबहादुर मगरले भूपेन्द्रको ज्यान हृदयघातबाट गएको बताए । ‘भाइका ६ वर्षे छोरी र ४ वर्षे छोरा छन् । बुहारीको बिचल्ली भयो । गाउँ जान मनै लागेको छैन,’ उनले भने, ‘उनीहरूको मुख हेर्ने आँटै आएको छैन ।’

५४ वर्षीय रामसिसका एक्ला छोरा रामबालक शव लिन काठमाडौं आउन सकेनन् । सम्धि धनिकलाल मुखिया विमानस्थल पुगे । धनिकलालका छोरा आनन्द रामसिसको शव लिएर कतारबाट आएका थिए । गोलबजार–१२, सिरहाका रामसिसको मृत्यु पनि हृदयघातबाटै भएको हो । ‘लेबरको काम गर्नुहुन्थ्यो । एक्कासि मृत्यु भयो भन्ने खबर आयो । हामीलाई अरू विवरण दिइएको छैन,’ धनिकलालले भने । अत्येष्टि गाउँमै गर्ने धनिकलालले बताए । ‘सरकारबाट शव लैजाने गाडी पाएको छु । घरै लिएर जान्छौं । सबैलाई अन्तिम अनुहार देखाउनुपर्छ,’ उनले भने, ‘गोलबजारमा प्रहरी थाना पनि छ । थानामा पुगेर यो कफिन खोल्नेछौं । फेरि अर्काको शव परेछ भने आपत् पर्छ ।’

साउदीमै मृत्यु भएका तौलिहवा, कपिलवस्तुका ३५ वर्षीय जितेन्द्रप्रसाद कहरको शव लिन आएका बुबा रामलाल शुक्रबार साँझसम्म विमानस्थल पुगेका थिएनन् । उनी हिँडेदेखि घरमा रुवाबासी छ । ‘छोराको शव घरै लैजान्छु,’ ६१ वर्षीय रामलालले भने ।

जितेन्द्रको मृत्यु दुई महिनाअघि भएको थियो । ‘हात दुखेर चलिरहेको छैन भन्दै रुन्थ्यो । मर्ने अघिल्लो दिन अस्पताल जान्छु भन्थ्यो । भोलिपल्ट दिउँसो कोठामै मृत्यु भयो भनेर साथीहरूले फोनमा सुनाए,’ रामलालले भने ।
जितेन्द्रका १४ वर्षमुनिका दुई छोरी र तीन छोरा छन् । ‘सबै वर्षैपिच्छेका हुन् । घरमा बिजोग छ,’ शव लिन आउँदै गरेका रामलालले भने, ‘कुन मुटुले नातिनातिनाबीच छोराको शव लिएर जाऊँ ?’

कमजोर अभिमुखीकरण र स्वास्थ्य परीक्षणमा पहुँच नहुँदा सन् २०१७ मा मात्रै वैदेशिक रोजगारीका लागि खाडी तथा मलेसिया पुगेका ९ सय ५७ नेपालीको मृत्यु भएको थियो । पछिल्लो ९ वर्ष अवधिमा मात्रै वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा ५ हजार ८ सय ९२ जना कामदारको मृत्यु भइसकेको अभिलेख छ जसमा एक सय २७ महिला छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार सबैभन्दा बढी मलेसियामा २ हजार एक सय ५४, साउदी अरबमा १ हजार ६ सय ३८, कतारमा एक हजार दुई सय ३, यूएईमा ४ सय २७ र कुवेतमा एक सय ८६ जनाको मृत्यु भएको तथ्यांक छ । बाँकीको अन्य मुलुकमा मृत्यु भएको हो ।

खाडी तथा मलेसियास्थित नेपाली दूतावासका अनुसार हृदयघात, सडक दुर्घटना, आत्महत्या तथा अन्य कारणले नेपालीको ज्यान गएको हो । आत्महत्या र सडक दुर्घटनाबाहेक स्वास्थ्यमैत्री जीवनशैली नहुँदा र नियमित स्वास्थ्य परीक्षण सुविधा नपाउँदा हृदयघातका कारण ज्यान जानेको संख्या बढी छ ।

काम गर्न गएको देशको ट्राफिक नियमबारे राम्रो जानकारी नहुँदा सडक दुर्घटनामा पनि धेरै नेपालीले ज्यान गुमाएका छन् । जथाभावी बाटो काट्ने, तीव्र गतिमा गाडी कुदाउनेजस्ता कारण धेरैको ज्यान गएको दूतावासहरूले जनाएका छन् । वैदेशिक रोजगारीमा जानुअघि त्यस देशको कानुन र नियमबारे जानकारी नहुँदा पनि दुर्घटनामा नेपाली परिरहेका छन् । ‘कतारमा पनि सडक दुर्घटनामा मृत्यु हुनेको संख्या उच्च छ,’ कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले भने, ‘नेपालमा सही अभिमुखीकरण नभएकाले कतार आउने कामदारलाई यहीं नै जनचेतना दिनु जरुरी छ ।’

कार्यस्थलमा सुरक्षा मापदण्ड कडाइसाथ लागू नहुँदा पनि नेपालीको ज्यान गइरहेको छ । खाना र बासस्थानको स्तरमा कडाइ नगरिने भएकाले कामदारको जीवन जोखिममा रहेको एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदनमा उल्लेख छ ।

साउदीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख आनन्दराज शर्मा खानपान, गर्मी र चिसोमा रहनुपर्ने अवस्थाले मृत्युदर बढिरहेको बताउँछन् । ‘दिनभर चर्को गर्मी र राति एकदमै चिसोमा बस्ने जीवनशैली छ,’ उनले भने, ‘यसले सुतेको सुत्यै हुने घटना भइरहेको देखिन्छ ।’

साउदीको जेद्दास्थित कार्यवाहक महावाणिज्यदूत रेवती पौडेल कम्पनीहरूले कामदारको स्वास्थ्य जाँचमा मात्रै ध्यान दिए पनि मृत्युदर घटाउन सकिने बताउँछन् । ‘एउटै क्याम्पमा चार जना नेपालीको मृत्यु भएपछि हामीले क्याम्पमै स्वास्थ्य शिविर राख्दा अधिकांश कामदारको रक्तचाप र सुगर उच्च देखियो । दुई जनालाई तुरुन्तै नेपाल पठाउनुपर्ने अवस्था थियो,’ उनले भने, ‘जहाँ–जहाँ नेपाली कामदारको संख्या धेरै छ, त्यहाँ शिविर राखेर जाँच गरेपछि मृत्युदर घटेको अनुभव छ ।’

सरकारी अस्पतालमा सजिलै स्वास्थ्य जाँच गर्न नपाइने र निजी अस्पताल ज्यादै महँगो पर्ने हुनाले पनि कामदारहरू स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने खाडीमा कार्यरत नेपाली चिकित्सकहरूको अनुभव छ । श्रम कानुनअनुसार कम्पनीले बिमामार्फत स्वास्थ्य सेवा दिनुपर्ने र ठूला क्याम्पहरूमा डाक्टर र नर्सको सुविधा राख्नुपर्ने बाध्यकारी नियम भए पनि कम्पनीहरूले त्यसको पालना गरेका छैनन् । कान्तिपुरबाट