प्रधानमन्त्रीको चीन भ्रमणमा पारवाहन तथा यातायात सम्झौता कार्यान्वयन गर्न प्रोटोकलमा हस्ताक्षर हुन्छ : डा. भट्टराई


काठमाडौं, २ असार । नेकपाका नेता एवम् परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा पारवाहन तथा यातायात सम्झौतालाई कार्यान्वयन गर्न प्रोटोकलमा हस्ताक्षर हुने खुलासा गरेका छन् ।

प्रधानमन्त्रीको चीन भ्रमणको पूर्व सन्ध्यामा शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता डा. भट्टराईले प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा प्रोटोकलमा हस्ताक्षर हुनेगरि अहिले गृहकार्य भैरहेको पनि जनाएका हुन् । उनले भने,‘प्रोटोकलमा हस्ताक्षर गर्नेगरि अहिले दुई देशबीच कागजपत्रहरु आदान–प्रदान भैरहेका छन्।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले भ्रमणको क्रममा सडक, रेललगायतका पूर्वाधार क्षेत्रहरु, विद्युत, पर्यटन र सिँचाईको विकासको लागि सघन रुपमा कुराकानीहरु भैरहेको पनि बताए ।

उनले भने,‘अघिल्लोपटक प्रधानमन्त्री हुँदा ओलीले २ वर्षअघि चीनसँग १० बुँदे ऐतिहाँसिक सम्झौता गर्नुभएको थियो, अब ती सबै सम्झौताहरुलाई कार्यान्वयन गर्नुपर्छ, पारवाहन तथा यातायात सम्झौता त नेपालको लागि ऐतिहाँसिक तथा महत्वपूर्ण नै हो।’

त्यस्तै उनले नेपालमा अब राजनीतिक संक्रमण सकिएकोले आर्थिक विकास र समृद्धिको लागि आफ्ना प्राथमिकताहरु निर्धारण गरेर नै अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने,‘दक्षिणतर्फ हामीले जसरी कनेक्टिभिटी बढाएका छौं, अब त्यसैगरि उत्तरतर्फपनि बढाउनुपर्छ, हुन पनि अब चीनसँग जोडिनेगरि दुईवटा मितेरी पुल बनाउने भनिएको छ।’ भट्टराईले विद्युतमा भारतसँग गरिएकोजस्तो पिटीए उत्तरसँगपनि गर्नुपर्ने बताए ।
नेपालको पर्यटन क्षेत्रको विकासको लागि चीनीयाँ पर्यटकहरु नेपाल भित्र्याउनुपर्नेमा अब ध्यान दिनुपर्नेमा समेत उनको जोड थियो । त्यस्तै कृषि क्षेत्रको पनि विकासमा अब नेपालले विशेष ध्यान दिनुपर्ने बताउँदै नेपालसँग अहिले कमी रहेको ज्ञान, प्रविधि र पुँजी बढाउनेगरि अघि बढ्नुपर्ने उनले बताए ।

त्यस्तै नेपालले उत्पादनमा वृद्धि गर्ने र ती उत्पादित वस्तुहरुलाई चीन निर्यात गर्नेगरि गृहकार्य थाल्नुपर्ने बताउँदै उनले भने,‘प्रधानमन्त्रीको यो भ्रमण ऐतिहाँसिक महत्व बोकेको छ, मुलुकको समृद्धिको लागि यो भ्रमण कोशेढुंगा सावित हुन्छ, हुन त देश बनाउने भनेको हामी आँफैले हो, अरुको सहयोग त सहायकमात्रै हो।’

प्रधानमन्त्रीको चीन भ्रमण राम्रो अवसर भएकोले यसलाई सही रुपमा सदुपयोग गर्न प्रधानमन्त्रीले सक्नुपर्ने पनि उनको सुझाव छ ।