ओलीका लागि चीन भ्रमण ऐतिहासिक अवसर


ऋषि धमला : दोस्रोपटक प्रधानमन्त्री भएपछि केपी शर्मा ओलीले दोस्रो विदेश भ्रमणका रूपमा चीन रोजेका छन् । पहिलोपटक प्रधानमन्त्री हुँदा पनि ओलीले शुरूमा भारत र त्यसपछि चीन भ्रमण गरेका थिए । यसअघिको चीन भ्रमण र अबको चीन भ्रमणमा राजनीतिक परिस्थिति र ओलीको शक्ति दुवैमा निकै बदलाव आएको छ । पहिलो विषय संविधान जारी हुँदा भारतसँग केही असमझदारी रहँदा जनमानसमा ओलीले चीन भ्रमण गरी नेपालको भारतसँगको आर्थिक सम्बन्धमा रहेको निर्भरता अन्त गर्ने अपेक्षाहरू थियो । ओलीले चीनसँग पारवहन सन्धिको विषयलाई अगाडि बढाएका थिए । जसका कारण भारतभित्र ओलीप्रति शंका उपशंकाहरू बढेको थियो । ओली चीनसँग ढल्केको विषय नउठेको होइन ।

दोस्रो विषय ओली त्यतिबेला माओवादी पार्टीको समर्थनमा प्रधानमन्त्री बनेका थिए । पछि माओवादीको समर्थन नमिलेपछि ओली पदबाट मुक्त भए । यसकारण पनि उनी राजनीतिक रूपमा निकै कमजोर थिए । देशमा तीन तहको चुनाव सम्पन्न भएपछि बनेको शक्तिशाली सरकारका प्रधानमन्त्री हुन् ओली । उनी संसदमा बहुमत ल्याएको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पनि हुन् । ओलीलाई मधेशवादी दलको समर्थन समेत रहेकाले यो दुई तिहाईको सरकार हो ।

संघीय समाजवादी फोरम सरकारमा गइसकेको र राष्ट्रिय जनता पार्टी पनि सरकारमा जाने सम्भावना रहेकाले पनि यो सरकारले देशमा धेरै राजनीतिक समस्या समाधान गर्न सक्छ । राजनीतिक स्थिरताको अन्त भएकाले समृद्धिको यात्रामा पाइला चालिरहेका ओलीले आफ्नो शक्तिको सही सदुपयोग गर्न सके देशले काँचुली फेर्न सक्छ । आन्तरिक समस्याको समाधान गर्दै विदेश सम्बन्धमा पनि चार्तुयता देखाउन सके धेरै उपलब्धिहरू हासिल हुन सक्छन् । त्यसमाथि पनि छिमेकी मुलक भारत र चीनसँगको सुझबुझपूर्ण सम्बन्धबाट ओलीले देशलाई ऐतिहासिक उपलब्धि दिलाउन सक्छन् । उनले भनेजस्तै ‛समृद्ध नेपाल सुखी नेपाली’ को नारा साकार हुन सक्छ ।

चीनसँगको सम्बन्धको सौन्दर्य
नेपालका लागि चीन जति महत्वपूर्ण छ चीनका लागि पनि नेपाल महत्वपूर्ण छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएकाले पनि नेपालको भू–राजनीतिक संवेदनशीलता बुझ्न सकिन्छ । चीनले नेपालमा राख्ने चासोमा उसको सुरक्षासँग जोडिएको विषय पनि हो । त्यसबाहेक यहाँको विकास र प्रगतिमा उसको साथ र सहयोग रहँदै आएको छ । नेपाल विकसित र समृद्ध हुन सके यस क्षेत्रबाट उसलाई सुरक्षामा खतरा पर्ने सम्भावना आँफै कम हुन्छ ।

हिमालयदेखि गँगा नदीका सहायक नदीहरूको किनाराका समथर भूभागसँग फैलिएकाले नेपालका चीनका लागि झन् महत्वपूर्ण छ । भारतको विहार र उत्तर प्रदेशजस्ता राज्यहरूसँग हुने चीनको व्यापारमा नेपाल सेतु बन्न सक्छ । अर्कोतर्फ नेपालको विकसित हुँदै गएको बजारमा समेत चीनको चासो छ । त्यसैले चीनले नेपालमा रेल ल्याउने विषयलाई प्राथमिकतामा राखेको छ । केरुङसँग रेल आउने र उक्त रेल काठमाडौं हुँदै पोखरा र लुम्बिनीसँग विस्तार हुने विषय जोडतोडले उठ्ने गर्छ ।

यसले नेपाल र चीनलाईमात्र नभई भारतलाई समेत लाभ हुनसक्ने विषय छँदैछ । भारतबाट पनि नेपालतर्फ रेल सेवा विस्तारको काम चलिरहेको छ । त्री–देशीय समझदारीको विषय बोलीमा भन्दा व्यवहारमा कार्यान्वयन हुनुपर्ने विषय कामले देखाइरहेको छ । चीनबाट नेपालतर्फ सडक र रेल सेवा विकास र विस्तारको विषय उठिरहनु र भारतले पनि सीमा क्षेत्रमा सडक र रेलको लिक निर्माण र विस्तारको काम धमाधम अगाडि बढाउनुले नेपाललाई भारत वा चीनसँग मात्र होइन दुवै देशको सेतु बन्ने गरी कनेक्टिभिटी बढ्ने अवस्था बन्दै गएको छ । चीनले नेपालको भौतिक निर्माणमा गरिरहेको सहयोग उत्तिकै महत्वपूर्ण छ ।

भारत र चीनको बीचमा नेपाल
प्रधानमन्त्री हुँदा प्रचण्ड भारतको गोवा सम्मेलनमा पुगेका थिए । त्यो समयमा एउटा तस्वीरले सबैको ध्यान खिच्यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिङपिङको बीचमा प्रचण्ड बसेर गम्भीर छलफल गरेको तस्वीर थियो त्यो । प्रचण्डले गोवा सम्मेलनमा त्रिदेशीय सझदारीको विषय उठाएका थिए । उक्त भनाईले कुटनीतिक क्षेत्रमा तरङ्ग ल्यायो ।

प्रचण्डले नेपाल मामलामा भारत र चीनको कुरा मिल्नुपर्ने र नेपाललाई दुवै देशले आवश्यक सहयोग लिने र दिने खालको परस्पर सयोगको विषय उठाएका थिए । प्रचण्डले भनेजस्तै त्रिदेशीय समझदारीतर्फ घट्नाक्रम विकास हुँदै गएको छ । नेपाल मामलामा भारत र चीनबीच सहमति बनेको परिणामहरूले देखाउँदै लगेको छ ।

भारत र चीन आँफै द्वन्द्व छाडेर सहमतितर्फ लम्केका छन् । मोदीको हालै भएको चीन भ्रमणले दुवै देशबीच रहेको समस्या समाधान भएको छ । दोक्लाम विवादमा भारत र चीन युद्धमा जाने हल्ला फिजाइएको थियो । तर, दुवै देश सहमति गर्न सफल भए । त्यसपछि दुवै देशबीच उच्चस्तरीय भ्रमण भई सम्बन्ध सुमधुर भइसकेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिङपिङबीचको भेट बाक्लिएको छ । मोदीको सि जिङपिङसँगको व्यक्तिगत सम्बन्धका कारण पनि दुवै देशले एक अर्काबाट लाभ लिन सकेका छन् । नेपाल मामलामा पनि दुवै देशबीच सहमति बन्न सक्दा राजनीतिक समस्याहरू धेरै मात्रामा हल भएका छन् ।

चीनले भारतसँग मिलेर अगाडि बढ्न नेपालका उच्च राजनीतिक अधिकारीहरूलाई स्पष्ट सन्देश दिइसकेको छ । उसले कुनैपनि किसिमको कार्डका रूपमा आफ्नो संलग्नता नहुने स्पष्ट पारेको छ । भारतले पनि चीनसँग नेपालको विकसित सम्बन्धप्रति नकारात्मक सोच राखेको छैन । चीनले नेपालमा अगाडि बढाएको विकास आयोजनाहरूमा भारतले असन्तुष्टि जनाउने विषय छैनन् । भारतभित्र चिनियाँ परियोजनाहरू बढिरहेको सन्दर्भमा उसले नेपालको समृद्धि र विकासमा चीनको साथलाई सकारात्मक रूपमा लिएको छ । यसबाट पनि दुवै देश नेपाल मामलामा सहमति बनाएर बढिरहेको बुझ्न सकिन्छ ।

ओलीलाई अवसर

नेपाल मामलामा भारत र चीनबीच सहमति बनिरहेको अवस्था छ । भारत र चीन दुवै देशमा शक्तिशाली नेताहरू सत्तामा छन् । मोदी र सि जिङपिङ दुवै नेपाललाई औधी माया गर्छन् । मोदीले नेपाल सानो र कमजोर छैनन् भन्ने गर्छन् । सि जिङपिङ नेपालको गौरवशाली इतिहासको व्याख्या गर्दै नेपालसँग बलियो इतिहास रहेको विषय नेपाली नेताहरूलाई सुनाउँछन् ।

दुवै देशले नेपाललाई खुलेर सहयोग र साथ दिइरहेको बेलामा नेपालमा केपी शर्मा ओली प्रधानमन्त्री छन् । उनी इतिहासकै शक्तिशाली प्रधानमन्त्रीमध्येका हुन् । उनले गर्न सक्ने काम धेरै छ । कुनैपनि अवरोध पार लगाएर बढ्न सक्ने परिस्थिति बनेको छ । ओलीले यो मौकालाई सदुपयोग गर्न सक्छन् । मोदीसँगको एक्ला एक्लै कुराकानीमा धेरै विषय प्रष्ट पारिसकेका छन् ।

अब सि जिङपिङसँग यसरी नै प्रष्ट कुरा राख्लान् । मोदीले दुवै नेतासँग प्रष्ट कुरा राखेर नेपालको विकासलाई गति दिन सक्नुपर्छ । राजनीतिक स्थिरता र अनावश्यक विषयमा अल्झँदा नेपालले विकास गर्नसक्ने धेरै अवसर गुमाइसकेको छ । भारत र चीनजस्ता विश्वकै तिव्र आर्थिक विकास गरिरहेका मुलुकबीच बसेर गरिबीको चपेटामा पर्नु परेको छ ।

यो स्तरबाट आफूलाई उठाउने जमर्को गर्नुपर्छ । नेपालमा स्रोत र साधनको कुनै कमी छैन । कमी छ त ‘मिसन र भिजन’ भएको नेताको । ओलीले त्यो नेताका रूपमा आफूलाई प्रस्तुत गर्न सक्नुपर्छ । भारत र चीनमध्ये कुनै एकसँग ढल्किएर चिढ्याउने होइन दुवैसँग कुटनीतिक सम्बन्ध राम्रो बनाएर सहयोग लिन सक्नुपर्छ ।

भारत र चीनबाट लगानी भित्राएर रोजगारीको अवसर सृजना गर्न सक्नुपर्छ । जलविद्युत, खनिजजस्ता प्राकृतिक स्रोतको धनी नेपालले भारत र चीनको सहयोगबाट स्रोतको उचित सदुपयोग र परिचालन गर्न सक्नुपर्छ । नेपालमा पर्यटनको प्रचुर सम्भावना भएकाले त्यसको विकासमा आवश्यक भौतिक पूर्वाधार विकास गर्न छिमेकी मुलुकहरूबाट लगानी आकर्षित गर्न सक्नुपर्छ ।

ओलीले चीन भ्रमणको उद्देश्य लगानी भित्राउने र चीन र भारतलाई जोड्नेगरी नेपाल भूसेतु बन्न सक्ने अवस्था निर्माणका परियोजना शुरू गर्नुमा केन्द्रित हुनुपर्छ । मोदी बारम्बार कनेक्टिभिटी भनिरहेका छन् । सि जिङपिङ सिल्क रोडको विस्तारबाट कनेक्टिभिटीमा नै जोड दिइरहेका छन् । नेपालको प्राथमिकता पनि कनेक्टिभिटीमा हुनुपर्छ । त्यो कनेक्टिभिटी नेपाललाई भारत र चीनसँग विभिन्न नाकाहहरूबाट मात्र जोड्ने होइन नेपाल भारत र चीनलाई स्थल, जल र वायुमार्गबाट जोड्ने सेतु बन्न सकोस् ।

ओलीले नेपलालाई दुई सभ्यता जोड्ने पवित्र भूमिका रूपमा स्थापित गर्ने गरी कुटनीतिक चार्तुयता देखाउन सक्छन् । यसो गर्न सकेमा उनी अन्तर्राष्ट्रिय जगत्मा समेत शक्तिशाली नेताको परिचय बनाउन सक्छन् । देशभित्र उनले आफ्नो क्षमता प्रदर्शन गरिसकेका छन् । अब देशबाहिर त्यो खूबीको परिचय दिंदै कुटनीतिक चार्तुयताबाट देशलाई समृद्धिको नयाँ युगमा पु¥याउन सक्छन् । मौका आएको छ ओलीले खेर फाल्न हुँदैन ।