असार ५, काठमाण्डौ । प्रधानमन्त्री केपी ओली आज चीन प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार अपराहृन चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणको क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् ।
परराष्ट मन्त्रालयले दिएको जानकारी अनुसार भ्रमणको क्रममा ऊर्जा, जलस्रोत र पुनर्निर्माणका विषयहरुमा दुई देशबीच सम्झौता पनि हुनेछ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले चीन भ्रमणका बेला आर्थिक सहयोगको एजेण्डालाई प्राथमिकतामा राखिएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री तामाङले दुई देशबीचको सम्बन्ध थप सुमधुर बनाउँदै नेपालमा चिनियाँ लगानी बढाउनका लागि भ्रमण फलदायी हुने बताए ।
“हामीले जे जति सोचिरहेका छौँ, त्यो भन्दा धेरै लगानी र सहयोग चीन सरकारबाट नेपाललाई प्राप्त हुन्छ ।” उनले भने ।
मन्त्री तामाङले चीनसँगको तातोपानी नाका खुलाउन पनि यो भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
चीन सरकारले नै तातोपानीको पुल बनाइदिने भएकाले अब नाका खुल्न धेरै समय नलाग्ने उनको दाबी थियो ।
“केरुङ र तातोपानीको दुईवटा मितेरी पुल निर्माण गर्नुपर्ने छ । भूकम्पपछि बाटो र पुल भत्किएकाले नाका खुल्न नसकेको हो । चीनले पुल बनाइदिने प्रक्रिया अगाडि बढेको छ । त्यो सबै कुरा क्लियर भएपछि नाका खुल्छ ।” तामाङले भने ।
भूकम्पपछि तातोपानी नाका खुल्न सकेको छैन । तर अब भने भौतिक अवस्था सुधार भएपछि नाका खुल्ने उनको दाबी छ ।
चिनियाँ रेल नेपाल ल्याउने विषयमा पनि अहिलेको भ्रमण उपलब्धिमूलक हुने उनको जिकिर छ ।




प्रतिक्रिया