पार्टीको विधान परिवर्तनका लागि सभापति भेला महत्वपूर्ण : खड्का


असार ५, काठमाण्डौ । नेपाली कांग्रेसका नेता दिपक खड्काले जिल्ला सभापतिहरुको भेलाले पार्टी सुदृढीकरणका लागि उपलब्धि हासिल गर्ने दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता खड्काले जनताको पक्षमा रहेर संसदमा प्रतिपक्षको भूमिका कसरी निर्वाह गर्ने भन्ने विषयमा केन्द्रित रहेर भेलामा छलफल हुने बताए ।

त्यसैगरी संविधानअनुसार पार्टीको विधान परिवर्तन गर्दै संरचना परिवर्तका लागि भेलाले महत्वपूर्ण भूमिका खेल्ने खड्काले बताए ।

पार्टीभित्रको आन्तरिक विवाद इतिहासकालदेखि नै रहेकोले यसलाई विवाद भन्दा पनि विचार र छलफलको मिश्रणको रुपमा लिएर अगाडि बढ्नुपर्ने खड्काले बताए ।

“यस्ता छलफलले पार्टीलाई अझ परिमार्जित र परिस्कृत गराउँछ । लोकतन्त्र मान्य पार्टी भएकाले अरु पार्टीले जस्तो कांग्रेसका नेताले आफ्ना विचार गुम्स्याएर राख्दैनन् । विचारलाई विवादको रुपमा लिनुहुँदैन ।” खड्काले भने ।

पार्टीभित्रको गुटले नेतृत्व विकास गर्ने भन्दै उनले गुटगत राजनीति व्यक्तिगत स्वार्थमा नभै पार्टीको स्वार्थमा गर्नुपर्ने सुझाब दिए ।

अहिले कांग्रेस प्रतिपक्षमा बस्दैमा कमजोर भयो भन्न नमिल्ने भन्दै खड्काले भोलीका दिनमा कांग्रेस बलियो भएर देखापर्ने दाबी गरे ।

खड्काले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणलाई नेपालको हितमा प्रयोग गर्नुपर्ने बताए । राष्ट्रहितमा हुने भ्रमणलाई कांग्रेसले सहयोग गर्ने खड्काको भनाई छ ।

चीनसँगको नाकामा भएका समस्या समाधानका लागि भ्रमण फलदायी बनाउनुपर्ने खड्काले बताए ।