ढिलोमा ६ वर्षभित्र चीनीयाँ रेल काठमाडौं पुग्छ : मन्त्री महासेठ


बेईजीङ, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको ६ दिने राजकीय चीन भ्रमण दलका सदस्य रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अब ढिलोमा ६ वर्षभित्र चीनीयाँ रेल काठमाडौं पुग्ने ठोकुवा गरेका छन् ।

भ्रमणमा सँगै रहेका पत्रकार ऋषि धमलासँगको कुराकानीमा मन्त्री महासेठले यस्तो दाबी गरेका हुन् । उनले प्रधानमन्त्रीको भ्रमण सफल हुने समेत दाबी गरे ।

भ्रमण सफल हुने आधारहरु के के छन् त भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा मन्त्री महासेठले भने,“ यो स्वभाविक छ कि उहाँको भ्रमण सफल हुन्छ, भ्रमणको तयारीको लागि म त १७ तारिखमा नै यहाँ आएको थिएँ ।”

उनले आफूले चीनीयाँ यातायातमन्त्रीसँग एक घण्टा भेटवार्ता भैसकेको पनि जनाए । उनले भने,“केरुङदेखि काठमाडौसम्म रेल पुर्याउनेबारे यही भ्रमणमै मेमोर्याण्डम अफ अन्डरस्ट्याण्डिङ हुन्छ । त्यस्तै नेपालबाट मासु र तरकारी चीन निर्यात गर्नेबारे पनि कुरा गरेको छु । चीनीयाँ रेल काठमाडौं पुर्याउनेबारे ६ महिनाभित्र समझदारीबारे अन्तिम टुँगो लाग्छ । एक वर्ष्भित्र डिपिआर हुन्छ । ५ वर्ष्भित्र केरुङदेखि काठमाडौं रेल पुग्ने आशा गरौं । ढिलोमा ६ वर्षमा चीनीयाँ रेल काठमाडौं पुग्छ ।”

उक्त रेल अनुदान, ऋण वा नेपाल सरकारकै पनि केही अंश लगानीमा बन्न सक्ने मन्त्री महासेठको भनाई छ ।