असार ७, काठमाण्डौ । प्रधानमन्त्रीको भ्रमण दलमा रहेका मन्त्री, उद्योगी व्यवसायी, पत्रकार र परराष्ट्र मामिलाका जानकारहरुले प्रम केपी ओलीको चीन भ्रमण सफल, फलदायी र नेपालमा चीनीयाँ लगानी भित्र्याउन कोशेढुंगा सावित हुने विश्वास दिलाएका छन् ।
चीनमा रहेका पत्रकार ऋषि धमलाले भ्रमण दलमा रहेका विभिन्न सदस्यहरुसँग आज विशेष कुराकानी गरेका छन् । संक्षिप्त कुराकानीका क्रममा उर्जामन्त्री वर्षमान पुनले भ्रमण ऐतिहासिक सफलतातर्फ उन्मुख भएको बताएका थिए ।
राजाराम गौतम, सम्पादक, अन्नपूर्ण दैनिक
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण कस्तो भयो भनेर अहिले नै भनिहाल्न सकिने अवस्था छैन । आज दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षर भएपछि मात्रै भ्रमणको सफलता वा असफलता भनेर मापन गर्न सकिन्छ । यद्यपी २ दिनको मूल्याङ्कन गर्ने हो भने उपलब्धिमुलक नै मान्नुपर्छ ।
चिनियाँ रेल काठमाण्डौसम्म लैजाने विषयमा भएको दुई पक्षीय सहमतिलाई सफलताको रुपमा लिन सकिन्छ ।
भोजबहादुर शाह,अध्यक्ष, मेगा बैँक
नेपालका प्रधानमन्त्री केपी ओलीको भ्रमणलाई चीनले निकै महत्व दिएको छ । चिनियाँ राष्ट्रपति ओलीबीचको भेटवार्ता भइसकेको छ । भेटका अवसरमा चिनका राष्ट्रपति सि जिनपिङले नेपालमा रेस लैजाने कुरालाई निकै सकारात्मक रुपमा लिएको पाइयो । बेल्ट एण्ड रोड परियोजनाअन्तर्गत चिनियाँ रेल तिब्बतको सिगात्सेसम्म पुगिसकेको उल्लेख गर्दै सिले काठमाडौं धेरै टाढा भएकाले रेल लैजान चीन रहेको कुरा बताए । यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।
अरु पनि विभिन्न क्षेत्रमा लगानी गर्ने कुरामा चीन सकारात्मक देखिएको छ । अब चिनियाँ लगानी बढ्ने सम्भावना देखिएको छ । नेपालमा राजनीतिक स्थायित्व भएकाले विकासका विषयमा चीन सकारात्मक भएको हुन सक्छ ।
लोकबहादुर भण्डारी
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणले वास्तवममा नै अब नेपाल समृद्धिको यात्रातर्फ जान्छ भनेर विश्वास गर्न सकिने आधार बनेको छ । चिनका राष्ट्रपति सि जिनपिङसँगको भेटले उत्साहित बनाएको छ । चिनका राष्ट्रपति सि जिनपिङसँगको भेट पनि नेपालको विकासमा चीनको सहयोग महत्वपूर्ण हुने अपेक्षा गर्न सकिन्छ ।
रमेश सिलवाल, अध्यक्ष, उच्च माध्यमिक विद्यालय संघ
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण सफलताको दिशातर्फ अगाडि बढिरहेको छ । अहिलेसम्म भएको दुईपक्षीय वार्ता फलदायी भएको छ । अब हुने सम्झौतालाई कार्यान्वयन गर्ने हो भने त्यो नेपालको हितमा हुनेछ ।
चिनियाँ रेल काठमाण्डौमा पुग्ने पक्का भइसक्यो । केही समय लाग्न सक्छ, तर काठमाण्डौसम्म रेल पुग्छ । यो भ्रमणको महत्वपूर्ण उपलब्धि भनेको रेल विस्तार बारे भएको गम्भीर छलफल पनि हो । ६ वर्षभित्रमा हामीले काठमाण्डौमा रेल चढ्न पाउनेमा म विश्वस्त छु ।
प्रेम आले, सासंद
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण सफल हुनेमा विश्वस्त छु । सबै नेपाली जनता पनि भ्रमण सफल हुने भएकोमा खुशी छन् ।
चीन भ्रमणका क्रममा भएका सम्झौता र सहयोगका प्रतिवद्धताले नेपाललाई धेरै फाइदा हुन्छ । चीनका राष्ट्रपति र नेपालका प्रधानमन्त्रीबीचको भेटवार्ता पनि निकै फलदायी भएको छ ।
दिपक जोशी, कार्यकारी निर्देशक, नेपाल पर्यटन बोर्ड
नेपालका प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणलाई विश्वले नै महत्वका साथ हेरिरहेको छ । साच्चै नै नेपालको विकासमा चीनको भूमिका र सहयोग महत्वपूर्ण छ । त्यसैले यसपटकको भ्रमणले नेपालको विकासमा ठूलो सहयोग पुर्याउने विश्वास लिन सकिन्छ ।
नेपाल र चीनबीचका पर्यटकीय सम्बन्ध विस्तारका लागि पहल भइरहेको छ । नेपालमा चिनियाँ पर्यटकको घुइचो लाग्ने वातावरण बनाउनका लागि हामीले काम गरिरहेका छौँ । अबको पाँच वर्षमा चिनियाँ पर्यटकको संख्यामा दोब्बरले वृद्धि गराउने गरी भ्रमणका अवसरमा एजेण्डा उठान गरेका छौँ ।
कुलमान घिसिङ, प्रमुख, नेपाल विद्युत प्राधिकरण
यसपटकको चीन भ्रमणले नेपालको जलविद्युत क्षेत्रमा ठूलै उपलब्धि हासिल हुने सम्भावना छ । क्रसबोर्डर ट्रान्समिसन लाइनको फिजिबिलिटी स्टडीका लागि कोटेशन सम्झौता भयो । अरु पनि महत्वपूर्ण विषयमा कुराकानी, छलफल र सम्झौता हुने चरणमा छ । सबै छलफल र सम्झौता नेपालकै हितमा हुने भएकाले भ्रमणलाई सफल भएको भन्न सकिन्छ ।
विशेषगरी चिनियाँ लगानी नेपालमा भित्र्याउनका लागि धेरै छलफलहरु भएका छन् । नेपालको जलविद्युत् उत्पादनमा पनि चिनियाँ लगानी बढ्ने सम्भावना छ ।
सम्बन्धित समाचारहरु :
ओली-जिनपिङ हयाण्डसेकपछि आईसब्रेक, परराष्ट्रमन्त्री उत्साहित
चीनीयाँ राष्ट्रपतिले भने : नेपाल भ्रमण गर्न आँतुर छु
प्रधानमन्त्री ओली र चीनीयाँ राष्ट्रपति सिबीच के–के कुराकानी भयो ?
चीनीयाँ राष्ट्रपतिले ओलीलाई किन आभार प्रकट गरे ?
चीनीयाँ राष्ट्रपतिद्धारा एक चीन नीतिमा नेपालको खुलेर प्रशंसा
नेपालमा चिनियाँ लगानी गणनायोग्य : प्रधानमन्त्री ओली
मुलुकको स्रोत, साधन र छिमेकीको साथ नै देश विकासको आधार : ओली
प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे भ्रमण दलका १४ सदस्यहरुको यस्तो छ प्रतिक्रिया (कसले के भने)




प्रतिक्रिया