Logo

‘चिनियाँ रेल आउनेबारे मलाईभन्दा बढि ऋषि धमलालाई थाहा छ’



काठमाडौं, १० असार । सत्तारुढ दल नेकपाका स्थायी कमिटी सदस्य केशब प्रसाद बडालले चिनियाँ रेल काठमाडौं आउनेबारे आफूलाई भन्दा बढि जानकारी पत्रकार ऋषि धमलालाई भएको स्पष्ट पारेका छन् । उनले भने,‘सम्मानीय प्रधानमन्त्रीज्यूको चीन भ्रमणमा ऋषिजीपनि सँगै हुनुहुन्थ्यो, त्यसैले चिनियाँ रेल काठमाडौं आउने वा नआउनेबारे मलाई भन्दा बढि जानकारी ऋषिजीलाई छ।’

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता बडालले विभिन्न माध्यमबाट नेपाल र चीन जोड्न जरुरी रहेको सुनाउँदै भने,‘सम्भव हुँदा मित्रराष्ट्र भारत र चीनबाट नेपालमा अनुदानमा रेल ल्याउँदा राम्रो हुन्छ, यदि त्यो सम्भव नभए दुवै देशको संयुक्त लगानीमा पनि बनाउन सकिन्छ।’

उनले रेलवे, सडक र टा«न्समिशनमार्फत दुवै देशलाई जोड्न आवश्यक रहेको सुनाए । उनले भने,‘यी सबै माध्यमबाट कनेक्टिभिटी जरुरी छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण समग्रमा सफल रहेको उनको विश्वास थियो । भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सि जिनफिङलाई नेपाल भ्रमणको लागि पठाएको निमन्त्रणा समेत प्रदान गरेकोले चिनियाँ राष्ट्रपति छिट्टै नेपाल भ्रमणमा आउने बताउँदै उनले भने,‘यो धेरै ठूलो उपलब्धि हो।’

उसो भए चिनियाँ रेल काठमाडौं सम्झौता भएकै समयमा आईपुग्छ त भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने,‘चीनबाट केरुङहुँदै काठमाडौंसम्म चिनियाँ रेल आउनेबारे महत्वपूर्ण सम्झौता भएको छ, उक्त सम्झौता अनुसार २ वर्षभित्र डिपिआर तयार पार्ने र ७ वर्षभित्र रेलवे निर्माण गरिसक्ने भनिएको छ, तर ठ्याक्कै कति वर्ष लाग्छ भनेर अहिले भन्न सकिने अवस्था छैन, किनकी मेलम्ची ५ वर्षमा ल्याउने भनिएको थियो, अहिले २० वर्ष पूरा भयो तर आएको छैन, यसपालिपनि दशैंअघि नै आउने भनिएको छ, तर आउने वा नआउने ठेगान छैन, यस्ता ठूलो परियोजनाहरु कहिले छिटो हुन्छन् कहिले धेरै ढिलो पनि हुन्छन्।’



प्रतिक्रिया दिनुहोस्