Logo

भगवती ढुंगेलद्धारा लिखित ‘आधासत्य’ को लोकार्पण



असार ११, काठमाण्डौ । उपन्यासकार भगवती ढुङ्गेलद्वारा लिखित उपन्यास ‘आधासत्य’को लोकार्पण गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच संघीय मामला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आधासत्यको लोकार्पण गरेका हुन् ।

सो अवसरमा समाज कल्याण परिषद्का उपाध्यक्ष निलमणि बराल, वरिष्ठ साहित्यकार माया ठकुरी, वरिष्ठ साहित्यकार तथा पत्रकार मोहन दुलाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली लगायत व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

लोकार्पण गरिएको पुस्तक ‘आधासत्य’ का बारेमा बोल्दै वरिष्ठ साहित्यकार माया ठकुरीले उपन्यासका क्षेत्रमा नारी लेखन दिनप्रतिदिन बढ्दै गएकोप्रति खुशी व्यक्त गरिन् ।

प्रवासमा रहेर अनेकन बाधाअड्चनको सामाना गर्दै लेखन यात्रालाई अंगाल्नु चानचुने कुरा होइन भन्दै आधासत्यकी लेखिकालाई धन्यवाद दिएकी थिइन् ।

त्यस्तै, समाज कल्याण परिषद्का उपाध्यक्ष निलमणि बरालले नेपालीको झापामा जन्मेकी चेलीले देशविदेशमा पुगेर पनि साहित्य र संस्कृतिलाई बिर्सनु हुँदैन भनेर आधासत्य सिर्जना गरेकोमा बधाई दिँदै साहित्यका अतिरिक्त सामाजिक सेवा कार्यक्रमा अगाडि बढ्नको लागि भगवती ढुङ्गेललाई शुभकामना दिए ।

त्यस्तै, वरिष्ठ साहित्यकार मोहन दुवालले महिला स्रष्टा र साहित्यकारहरुको आगमनले नेपाली साहित्य वाङ्मय अझै धनी हुने विश्वास व्यक्त गरे ।

उनले नव प्रतिभा एवं स्रष्टाहरुको लेखन प्रकाशन कार्यक्रम टेवा पुर्याउने कार्यमा सहयात्री दर्पण नेपाल र त्यसका अध्यक्ष गोविन्द कँडेल आँसुलाई समेत धन्यवाद ज्ञापन गरे । सो अवसरमा विभिन्न स्रष्टा तथा समाजसेवी, सञ्चारकर्मी एवं संस्थाका आजीवन सदस्यहरुलाई सम्मानीत गरिनुका साथै प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

सम्मानित हुनेहरुमा रंगकर्मी पुरु लम्साल, पत्रकार तथा सर्जक मदनकृष्ण सिलवाल, युवा गायक मानव कालुङ, प्राकृतिक चिकित्सा व्यवसायी विनोदकुमार भण्डारी, महिला उद्यमी एवं समाजसेवी विना कुम्पाख, युवा खेलाडी सपना ढकाल हुन् ।

सहयात्री दर्पण नेपालका अध्यक्ष गोविन्द कँडेल आँसुले साहित्यिक मनहरुको संगमको रुपमा सहयात्री दर्पण नेपालको स्थापना गरेको बताए ।

“जो स्वदेश र विदेशमा रहेर सिर्जना गरिरहनुभएका छ, त्यस्ता व्यक्तिहरुलाई समाहित गराउँदै उहाँहरुकै सिर्जनालाई सम्पादन प्रकाशन गर्ने कार्यमा सहयात्री दर्पण नेपालले एउटा सहकार्य गर्दै आगामी दिनमा अघि बढ्नेछ ।” उनले भने ।

मन्त्री पण्डितले नेपाली साहित्य श्रीवृद्धिको कार्यमा सहयात्री दर्पण नेपाल कोसेढुंगा साविक हुने विश्वास व्यक्त गरेका थिए ।
हालै स्थापित यस संस्थाका अध्यक्ष गोबिन्द कडेल आँसु हुन् भने उपाध्यक्षमा भगवती ढुङ्गेल हुन् । अन्य २५ जना आजीवन सदस्यहरु बनिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्