चीन भ्रमणबारे जानकारी दिन प्रधानमन्त्री ओली संसदमा (फोटोफिचर)


काठमाडौँ, १२ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने, विगतमा भएका सहमति तथा सम्झौतालाई कार्यान्वयन गर्नेलगायतका विषयमा आफ्नो चीन भ्रमण केन्द्रित रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा यही असार ५ गतेदेखि १० गतेसम्म आफूले गरेको छदिने औपचारिक चीन भ्रमणका बारेमा जानकारी दिँदै उनले सरकारको प्रमुख कार्यसूचीका रुपमा रहेको आर्थिक समृद्धिलाई अगाडि बढाउन चीन सरकारसँग महत्वपूर्ण कुराकानी भएको जानकारी दिए ।

भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सि जिन पिङ, समकक्षी लि खछ्याङ, चिनियाँ जनकंग्रेसका प्रमुख तथा तिब्बत सरकारका प्रमुखसँग भेटवार्ता भएको उल्लेख गर्दै उहाँले राजनीतिक स्थायित्व, आर्थिक समृद्धिको दिशामा भ्रमणले महत्वपूर्ण योगदान गरेको उल्लेख गरे ।

हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाल विस्तार गर्ने विषयमा दुई पक्षबीच सहमति भएको जानकारी दिँदै उनले रेलमार्ग, सडक सञ्जालको विस्तार, प्रसारण लाइनलगायतका विषयमा महत्वपूर्ण सम्झौता भएको चर्चा गर्नुभयो । उनले रेलमार्ग निर्माणसम्बन्धी सहमति महत्वपूर्ण रहेको उल्लेख गरे ।

तस्विर : मुकुन्द कालिकोटे