असार १५, काठमाण्डौ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले नेपालको कृषि क्षेत्र कहालिलाग्दो र आत्तिनुपर्ने अवस्थामा नरहेको जिकिर गरेका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै जिसीले नेपाल खाद्य अपुग भएको वा भोकभरी भएको देश नभएको बताए ।
यद्यपी नेपालमा सिंचाइ पुगेको जमिन २५ प्रतिशत मात्र भएकाले मनसुनको भरमा खेति गर्नुपर्ने अवस्था रहेको जानकारी दिए ।
आजको दिनसम्म उच्च पहाडि क्षेत्र र मध्यपहाडि क्षेत्रमा ३० प्रतिशत रोपाइ भइसकेको उनले जानकारी दिए ।
सम्बन्धित समाचार :
कार किन्दा ऋण दिने तर भैंसी किन्दा नदिने बैंकहरुलाई अब अर्थमन्त्रालयले ‘म्याण्डेटरी’ बनाउनुपर्छ : सचिव जिसी
तराई क्षेत्रमा भने १० प्रतिशत मात्रै रोपाई भएको जिसीले जानकारी दिए । पर्याप्त पानी नपरेको र सिंचाइको व्यवस्था नहुँदा तराईमा रोपाई पर्याप्त हुन नसकेको उनले बताए ।
उनले भने,‘कृषिले नेपालको अर्थतन्त्रमा धेरै ठूलो योगदान पुर्याएको छ, त्यसमापनि धानको योगदान धेरै छ, कृषिले २९÷३० प्रतिशत योगदान अर्थतन्त्रमा पुर्याएको छ, धानको मात्रै २० देखि २१ प्रतिशत योगदान छ ।’
१५ औं राष्ट्रिय धान दिवस काठमाडौंको दक्षिणकालीमा मनाउन गैरहेको पनि उनले जनाए । उनले भने,‘आज हामी देशैभरि धान दिवस मनाउन गैरहेका छौं, काठमाडौं, ललितपुर र भक्तपुरको संयुक्त आयोजनामा दक्षिणकालीमा मनाउँदैछौं ।’
उनले आज राष्ट्रिय धान दिवस आफूहरुले ‘धान उत्पादमा वृद्धि, मुलुकको राष्ट्रिय समृद्धि’ भन्ने मूल नाराका साथ मनाउन गैरहेको पनि जनाए । उनले भने,‘धानमा उन्नत बिउ हामीलाई बढि चाहिएको छ, अहिले धान उत्पादनमा कमी हुनु भनेको सिंचित क्षेत्र कम भएर हो, जहाँजहाँ सिंचित आयोजनाहरु छन्, तीरती क्षेत्रमा उत्पादन बढि छ ।’
उनले धानकोमात्रै नभएर अन्य उत्पादनको क्षेत्रमा उन्नत जातको विउ र कृषिमा यान्त्रिकरणमा जानुपर्नेमा जोड दिए । उनले भने,‘गाढा चढेर अमेरिका पुगिँदैन्, गोरु जोतेर कृषिमा व्यवसायीकरण हुँदैन्।’ उनले मुलुकमा अहिले ‘कष्ट अफ प्रोडक्शन हाई’ रहेकोले अब उत्पादनमा लागत घटाउनुपर्ने पनि बताए ।
त्यस्तै उनले कृषकहरुलाई अनुदान दिँदा अब भौचर प्रणाली अन्त्य गरेर ‘स्मार्ट कार्ड’मार्फत उपलब्ध गराउनेपनि जानकारी दिए । उनले भने,‘यस सम्बन्धमा हामीले यही असार २५ गते नै प्रधानमन्त्रीज्यूसमक्ष यो प्रस्ताव लिएर जान्छौं, यो भयो भने अब कृषकहरुलाई झन्झट हुँदैन्, अब कर्मचारीले किसानहरुलाई चेक काटेर दिने प्रथाको अन्त्य हुन्छ ।’
उनले अब किसानहरुलाई सहुलियतमा ट्रयाक्टरको सुविधा उपलब्ध गराउनेपनि आफूहरुको तयारी रहेको सुनाए । उनले भने,‘गोरु जोत्नुभन्दा ट्रयाक्टरले जोत्नु फाईदा हुन्छ, हामीले कष्टम हायरिङ सेवाको सुरु गरिसकेका छौं, सुपर जोन र जोनल एरियामा यो सेवा उपलब्ध गराएका छौं।’
उनका अनुसार यो सेवा आफूहरुले देशका ७ वटै प्रदेशमा सुरु गर्न लागेको पनि जनाए । उनले भने,‘हामीले यस विषयमा प्रदेश तथा स्थानीय सरकारलाई पनि आग्रह गरेका छौं।’
सचिव जिसीले ५ वर्षमा अहिलेको कृषि उत्पादनलाई दोब्बर बनाउने र आगामी २ देखि ३ वर्ष्भित्र कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने सुनाए ।




प्रतिक्रिया