असार १५, काठमाडौं । १५औँ राष्ट्रिय धानदिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
‘धान उत्पादनमा वृद्धि राष्ट्रको समृद्धि’ नारासहित विभिन्न स्थानमा राष्ट्रिय धान दिवस मनाउँदैछ। कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल कपिलवस्तु र राज्यमन्त्री रामकुमारी चौधरी सुनसरीमा आयोजना हुने कार्यक्रममा सहभागी हुँदै छन् ।
कृषिसचिव डा.युवकध्वज जिसी काठमाडौंको दक्षिणकालीमा हुने रोपाइँमा सहभागी हुँदैछन्।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र राजनीतिक दलसम्बद्ध किसान संगठनहरूले पनि छुट्टाछुट्टै रूपमा धान दिवस मनाउने तयारी गरेका छन् । असारको १५ भइसक्दा १२ प्रतिशत मात्र रोपाइँ भएको कृषि विभागले जनाएको छ । नेपालमा चैते धान, वर्षे धान, घैया धानको खेती हुँदै आएको छ ।
उन्नत जातको बीउको प्रयोग कम हुनु, रासायनिक मल समयमा उपलब्ध नहुनु, अधिकांश कृषकहरु परम्परागत खेतीमै निर्भर रहने कारण पनि धान उत्पादनमा वृद्धि हुन सकेको छैन ।
यो वर्ष असार १५ भइसक्दा पनि सिँचाइ अभावमा यो वर्ष देशका अधिकांश भागमा रोपाइँ हुन सकेको छैन। मौसम पूर्वानुमान महाशाखाले यो वर्षको मनसुन देशैभरि फैलिए पनि तीन दिनसम्म देशका धेरै स्थानमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार क्रमिक रुपमा मनसुनी वर्षाको गतिविधि बढ्नेछ ।
सरकारले चामललगायतका खाद्यवस्तु आयात प्रतिस्थापन गरी खाद्यान्नमा आत्मनिर्भर बन्ने घोषणा गरे पनि चालू आर्थिक वर्ष ०७४–७५ को गत वैशाखसम्म चीन, भारत, थाइल्याण्ड, जापान, इटलीलगायतका मुलुकबाट २४ अर्ब ४९ करोड ८० लाखको चामल आयात भएको भन्सार विभागले जनाएको छ । संयुक्त राष्ट्रसंघले सन् १९६६ लाई ’भोकमरीबाट मुक्त’ भन्ने नारासहित धानबालीलाई वर्षबालीका रूपमा मनाउने घोषणा गरेको थियो । नेपालले भने २०६२ सालदेखि धान दिवस मनाउन थालेको हो ।




प्रतिक्रिया