कांग्रेसलाई प्रधानमन्त्री ओलीको जवाफ-अधिनायकवाद आउँछ भन्नु थेगो मात्र


असार १५, काठमाण्डौ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकको छलफलमा उठेका प्रश्नमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका छन् ।

बैठकको कार्यसूचीअनुसार विनियोजन विधेयक, २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिएका हुन् ।

जवाफ दिने क्रममा ओलीले सरकार र आफूमाथि लागेका आरोपको खण्डन गरेका छन् ।

प्रधानमन्त्री ओलीले ‘लोकतन्त्र खतरामा छ’ भनेर जनतामा भ्रम नछर्न आग्रह गरे । साथै विपक्षीहरुतर्फ संकेत गर्दै उनले अधिनायकवाद आउँछ भन्नु थेगो मात्र भएको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजित बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै ओलीले राजश्व अनुसन्धान, राष्ट्रिय अनुसन्धान लगायतका निकायलाई प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको बताए ।

चैनेकेरे, माने भन्ने जस्तो थेगो रहेको भन्दै उनले ‘अधिनायकवाद आउँछ’ भन्ने पनि त्यस्तै भएको बताए ।

सरकार लोकतन्त्र प्रतिवद्ध रहेको भन्दै प्रधानमन्त्री ओलीले जनताको जागरण, एकता र ठूलो संघर्षबाट आएको लोकतन्त्रलाई कसैले पनि समाप्त पार्न नसक्ने बताए ।