Logo

सरकारको शैली पञ्चायतीजस्तो, शासकहरु राजा/महाराजाजस्ता देखिए : लेखक



‘अब सरकारको विरोध त बेडरुमबाटमात्रै गर्नुपर्ने दिन नआउला भन्न सकिँदैन्’
काठमाडौं, २० असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको गति पञ्चायती शैलीको निरंकुश र शासकहरु पहिलेका राजा तथा महाराजाजस्तो भएको आरोप लगाएका छन् ।

उनले भने,‘सरकारको गतिविधि हेर्दा शासन पञ्चायतीजस्तो र शासकहरु राजा र महाराजाजस्ता देखिन्छन्, यो ठीक छैन, सरकारका गतिविधिहरु हुकुमी शैलीका आदेशमा चलेका छन्, कानूनमा होईन, गफ बढि दिने तर काम कम देखियो।’

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकारका गतिविधिहरु कारण लोकतान्त्रिक मुल्य र मान्यताहरु कमजोर बनेको आरोप लगाए । लेखकले भने,‘यसले मुलुकलाई ठिक ठाउँमा पुर्याउँदैन, पत्रकारले मन्त्रीलाई प्रश्न सोधेकै भरमा कार्यक्रम बन्द गरियो, नागरिकले अहिले विरोध गर्न पाउने अवस्था छैन, निषेधित क्षेत्र तोकिएका छन्, यस्तै हो भने अब कुन दिन सरकारको विरोध त बेडरुमबाट मात्रै गर्न पाउने निषेधाज्ञा जारी हुन बेर छैन।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘मुलुकको समग्र अवस्था ठिक छैन, मुलुक संविधान र कानूनसम्मत् ढंगले चलिरहेको छैन, एकांकी र लहडको भरमा चलेको छ, हुन त अहिले नै सरकारको आलोचना गर्ने बेला भएको छैन, तर सरकारले अहिले मुलुकलाई सही ढंगले चलाएको पाईएन्।’

जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीप्रतिपनि सरकार अनुदार बनेको उनको आरोप छ । उनले भने,‘उहाँको स्वास्थ्य अवस्था बिग्रंदो छ, उहाँको स्वास्थ्य चेकजाँच गर्न जान लागेका चिकित्किहरुलाई समेत स्थानीय प्रशासनले रोक लगाएको भन्ने कुरा आएको छ, यदि यो साँचो हो भने गलत छ, अनशनमा बस्नुभएको व्यक्तिप्रति राज्यबाट जस्तो व्यवहार अहिले भएको छ, त्यो धेरै गलत छ।’ केसीका माँगहरु जायज रहेको उल्लेख गर्दै माथेमा आयोगको प्रतिवेदनलाई टेकेर आएको अध्यादेशलाई कुनैपनि हालतमा तलमाथि वा तोडमोड गर्न नमिल्ने लेखकको जिकिर छ।

उनले भने,‘सरकारले अहिले अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याएको विद्येयकले अध्यादेशको मूल मर्म नै समाप्त पारेको छ, यो विद्येयक त केही सिमिति मानिसहरुलाई मात्रै लाभ पुर्याउनेगरि आएको छ।’ अध्यादेशको भावना विपरित आउन लागेको विद्येयकप्रति आफूहरुको गम्भिर आपत्ति रहेको पनि उनले जनाए ।

त्यस्तै उनले अनशनरत गंगामाया अधिकारीप्रति सरकारले गरेको व्यवहारपनि राम्रो नरहेको गुनासो पोखे । उनले भने,‘गंगामायाको जीवन रक्षाको लागि सरकार गम्भिर बन्नुपर्छ।’

कांग्रेस अब संगठित, व्यवस्थित् र प्रभावकारी ढंगले चल्ने पनि उनले विश्वास दिलाए । उनले भने,‘हाम्रो पार्टीको जिल्ला सभापतिहरुको भेला हेटौंडामा भर्खरै सम्पन्न भएको थियो, हामीले प्रभावकारी ढंगले अघि बढ्ने निर्णय गरेका छौं, संविधानको संरक्षण गर्दै हामी सशक्त भूमिका निर्वाह गर्छौं।’

फरक प्रसँगमा उनले बाढी पहिरो लगायतका प्राकृति प्रकोपका बारेमा सरकारलाई मात्रै दोष दिने कुरा सुहाउने नहुने बताउँदै उनले यस्ता खाले विपतको सामाना गर्न सरकार तथा प्रतिपक्षी लगायत सबै एकजुट हुनुपर्ने बताए । उनले भने,‘विपतको समयमा प्रभावित क्षेत्रमा उद्धार र राहतको लागि पार्टी संगठनलाई प्रभावकारी रुपमा परिचालन गर्छौं।’



प्रतिक्रिया दिनुहोस्