Logo

जहाज खरिद प्रक्रियामा अनियमितता भएको पाइए अनुसन्धान हुन्छ : मन्त्री अधिकारी (भिडियो)



असार २६, काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले आफू मन्त्री भएपछि विमानस्थल सुधारका धेरै काम भएको दाबी गरेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै मन्त्री अधिकारीले नेपालमा पर्यटक भित्र्याउनका लागि विमानस्थल सुधारको कामलाई प्राथमिकता दिइएको बताए ।

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउनका लागि अहिलेदेखि नै काम सुरु भएको बताए । २०२० मा २० लाख पर्यटक ल्याउने गरी विजनेश प्लान र एक्सन प्लानसहित काम अगाडि बढाइएको अधिकारीले बताए ।

सम्बन्धित समाचार :

कामै नलाग्ने सबै पर्यटन दुतहरु खारेज गर्छौं : पर्यटनमन्त्री अधिकारी

“२० लाख पर्यटकहरु ल्याउनको लागि १७ देखि १८ लाखको होटेलको क्षमता हामीसँग छ । अरु जहाज आएका छन् । भारत र चीनबाट जहाज आउने अवस्था बनेपछि, अरु एयरलायन्स आउँछन् ।” उनले भने ।

“रेगुलर फ्लाईटबाहेक चार्टर फ्लाईट थप्दैछाँै । दुई वर्षभित्रमा भैरहवा विमानस्थल संचालनमा आउँछ । पोखरा एयरपोर्ट निर्माण अगाडि बढेको छ । निजगढ विमानस्थलको पूर्वतयारी सकिएको छ । त्रिभुवन विमानस्थलको ट्राफिक जाम हटाउने लगायतका सुधार गरेका छौँ ।” अधिकारीले भने ।

युरोपेली युनियनको टोली सेप्टेम्बरमा नेपालआएर अध्ययन गरेपछि नेपाली आकाशलाई कालो सुचिबाट हटाउने दाबी गरे ।

वाईड बडी खरिद प्रक्रिया धेरै अघिदेखि सुरु भएको तर अहिले जहाज आइपुगेको उनले स्पष्ट पारे । “आएको जहाज त चलाउनुपर्यो नि । पैसा गैसक्यो, अब चलाउनुपर्छ । हामीलाई जहाज चाहिएको हो ।” अधिकारीले भने ।

पहिलेदेखि नै सुरु भएको खरिद प्रक्रिया गलत भए त्यसलाई अनुसन्धान गरिने अधिकारीले बताए ।
खरिद प्रक्रियामा अनियमितता भएको छ कि छैन भन्ने कुरा मन्त्रालयले अध्ययन गर्ने उनको भनाई छ । “जहाज चल्छ, तर अनियमितता भएको छ कि छैन भन्ने कुरा अध्ययन हुन्छ ।”उनले भने ।



प्रतिक्रिया दिनुहोस्