Logo

बेलायती विदेशमन्त्रीद्वारा राजिनामा



लण्डन, २६ असार ।  बेलायतका विदेश मन्त्री बोरिस जोनसनले पदबाट राजिनामा दिनुभएको छ । बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनीङ स्ट्रीटले जानसोनले पेश गर्नुभएको राजिनामा सोमबार स्वीकृत गरिएको एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

ब्रेजिक्ट मन्त्रीले राजिनामा दिएको केही घण्टापछि विदेश मन्त्रीले पनि राजिनामा दिनु भएको हो ।  बेलायतका ब्रेजिक्ट मन्त्री डेभिड डेभिसले सोमबार नै मन्त्री पदबाट राजिनामा दिनु भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “विदेश मन्त्रीको पदबाट बोरिस जोनसनले दिएको राजिनामा प्रधानमन्त्रीबाट स्वीकृत भएकोे छ ।”

प्रधानमन्त्री टरिजा मेको मन्त्रिपरिषद्मा रहनुभएका डेभिस र जोनसनले राजीनामा दिएपछि बेलायतमा नयाँ राजनीतिक तरङ्ग पैदा भएको छ ।
युरोपेली संघबाट बेलायतको बहिर्गमन विषयमा वार्ता गर्ने जिम्मेवारी पाएका मन्त्रीहरुको राजिनामाले बे्रक्जिटसम्बन्धी मुद्दालाई प्रभाव पार्ने अनुमान गरिएको छ ।

इयुसँगको भावी व्यापार सम्बन्धका विषयमा बेलायतले एउटा नयाँ प्रस्ताव ल्याएकोमा त्यसको दुई दिनपछि नै उहाँहरुको राजीनामा आएको हो ।

ब्रेक्जिट वार्ताहरूको विषयमा कैयौँ पटक प्रधानमन्त्री मेले लिनुभएका अडानहरूबारेमा उहाँहरुको मतभेद पनि भएको बताइएको छ ।
ब्रेजिक्टको बारेमा बेलायतमा भद्रगोलको अवस्था रहेको र प्रधानमन्त्री मेसँग ब्रेक्जिटको बारेमा सही र समर्थन बाँकी नरहेको लेबर पार्टीका प्रमुख इयान लेभरीले बताउनु भएको छ ।

ब्रेक्जिटको विपक्षमा रहेको कन्जरभेटिभ पार्टीका नेताहरुले भने उनीहरुको राजिनामाको स्वागत गरेका छन् ।

प्रधानमन्त्री मेले राजिनामा दिएका मन्त्रीहरूलाई विगतको काम र सहयोगका लागि धन्यवाद दिदै चाडै नै उनीहरूको ठाउँमा नयाँ मन्त्री नियुक्त हुने जानकारी दिनुभएको छ । (रासस/एएफपी)



प्रतिक्रिया दिनुहोस्