Logo

मन्त्री भएपछि गोकर्ण विष्टले केके काम गरे र अब के गर्दैछन् ? [अन्तरवार्ता]



-गोकर्ण विष्ट, मन्त्री, श्रम रोजगार तथ सामाजिक सुरक्षा
अहिलेको सरकारमा भएका करिब दुई दर्जन मन्त्रीहरुमध्ये केही मन्त्रीहरुले निकै राम्रा काम गर्ने अपेक्षा जनताले गरेका छन् । तर सरकार गठन भएको यो ५ महिनाको अवधिमा देखिने गरी कुनै पनि काम हुन सकेको छैन । आशा गरिएकामध्येका एक मन्त्री हुन्, गोकर्ण विष्ट । श्रम रोजगार तथ सामाजिक सुरक्षा
मन्त्री विष्टलाई जनताले राम्रा छवी भएका व्यक्तिका रुपमा लिन्छन् । उनै विष्टले मन्त्री भएपछि अहिलेसम्म केके काम गरे र अब के गर्दैछन् ? ऋषि धमलाले विष्टसँग कुराकानी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा भएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

तपाई मन्त्री भइसकेपछि केके काम गर्नुभयो ?
हामीले पर्याप्त काम सुरु गरेका छौँ । नेपालको इतिहासमा पहिलोपटक रोजगारसम्बन्धी कानुन निर्माण गरिदैछ । त्यो कानुनले हरेक नेपालीलाई रोजगारी दिनेछ । नेपाली जनताको शीर माथि उठाउने गरी काम भइरहेको छ । अबको एक वर्षभित्र ठूलो जनसंख्यालाई सेवा पुर्याउने गरी सामाजिक सुरक्षा कार्यक्रमको सुरुवात गर्दैछौँ ।

नेपालमा वालश्रम शोषण हुने गरेको छ । यससम्बन्धमा के गर्दैहुनुहुन्छ ?
नेपाल विकासको हिसाबले प्रारम्भिक चरणमा छ । जब विकास निर्माणका काम सुरु हन्छ, तब लाखौँ युवाहरुले रोजगारी पाउँछन् । रोजगार नागरिकको संख्या बढेसँगै बालबालिकाले काम गर्नुपर्ने बाध्यता कम हुँदै जान्छ । हरेक नेपालीले दुनियाँको जुनसुकै देश वा स्थानमा जाँदा पनि गौरव महसुस गर्ने गरी नेपालीको जीवन माथ उकास्न चाहन्छाँै ।

सम्बन्धित समाचार :

वैदेशिक रोजगारलाई भरपर्दो, व्यवस्थित र सुरक्षित बनाउनेः गोकर्ण विष्ट

वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगरे जेल र अस्पतालमा जीवन विताइरहेका नेपाली श्रमिकलाई के गर्नुहुन्छ ?
विदेशको जेलमा रहेका नेपाली श्रमिकहरु, जसले अत्यन्त पिडा भोग्नुपरेको छ । उनीहरुको प्रतिरक्षाका लागि कानुनी सहायता दिने गरी कानुन पास गरेको छ । विदेशका जेलमा रहेका नेपाली श्रमिकको पक्षबाट नेपाल सरकारले कानुनी लडाई लड्छ । विदेशका अस्पतालमा रहेका नेपाली श्रमिकलाई सुरक्षित ढंगले नेपाल ल्याउने सन्दर्भमा पनि अध्ययन गरिरहेका छौँ ।

वैदेशिक रोजगारीमा धेरै विकृतिहरु छन् । विदेश जाने युवाहरु ठगिने क्रम अझै रोकिएको छैन । यस्ता ठगी कसरी नियन्त्रण गर्नुहुन्छ ?
वैदेशिक रोजगारीमा भएका विकृति, ठगीको नियन्त्रणका लागि आवश्यक नीति, कानुन र संरचनागत सुधारको प्रक्रिया अगाडि बढाइरहेको छ । सकेसम्म विदेश जानै नपर्ने वातावरण सृजना गर्छौँ ।

नेपालमा हुने श्रम शोषण कसरी हटाउनुहुन्छ ?
अत्यन्त जोखिमयुक्त र शोषणयुक्त श्रमलाई विस २०७९ सालसम्म र बालश्रमलाई २०८२ सालसम्म अन्तय गर्ने गरी बालश्रम निवारण गुरुयोजना सरकारले पारित गरेको छ ।

नेपालमै कम गर्ने श्रमिकहरुले कामअनुसारको पारिश्रमिक नपाउने समस्या छ । यसको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
श्रमिकहरु तलब वृद्धि गर्ने सन्दर्भमा होस्, वा श्रम ऐनको कार्यान्वयनको नियमावली पास गर्ने सन्दर्भमा होस्, अबको केही समयभित्रमा नै अनौपचारिक रुमपा काम गरिरहेका श्रमिकलाई पनि औपचारिकीकरण गरिनेछ । छोटो अवधि काम गर्नेहरुका लागि संचय कोषको व्यवस्था गर्ने गरी नयाँ योजना ल्याइदैछ ।

डा. गोविन्द केसीको मागलाई सम्बोधन गर्ने विषयमा सरकारले वेवास्ता गरेको हो ?
डा. केसीको जीवन रक्षा गर्ने विषयमा सरकार गम्भीर छ । स्वयम् प्रधानमन्त्री केपी ओली चिन्तित हुनुहुन्छ । उहाँले समस्या समाधानका लागि प्रयत्न गरिरहनुभएको छ । तर समस्या समाधानका लागि केसी पनि व्यवहारिक हुनुपर्छ । सहयोगी हुनुपर्छ । केसीको अडानको फाइदा लिएर अरु कसैले राजनीतिक गरिरहेका छन् । नेपालको हितमा हुने जुनसुकै एजेण्डा र मागलाई व्यवहारिक रुपमा सम्बोधन गर्न सरकार तयार छ । गोविन्द केसीले अघि सारेका सबै माग जायज छन् कि छैनन् भन्ने कुरामा छलफल गर्नुपर्छ ।

यो सरकारले राम्रा काम गर्छ भन्ने अपेक्षा जनताले गरेका थिए । अहिले काठमाण्डौका सडकमा गुड्ने सवारी साधन चुर्लुम्म डुब्ने अवस्था छ । यसलाई कसरी लिनुहुन्छ ?
सडकका खाल्डा खुल्डी पुर्नका लागि प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि यो समस्या समाधान गर्ने प्रक्रिया अगाडि बढाएको छ । अहिले वर्षात्को समय भएकाले समस्या अलि बढि देखिएको हो । केही महिनाभित्र नै यस्ता समस्याको समाधान गर्छौँ । तोकिएको समयमा, तोकिएको लागतमा र तोकिएको गुणस्तरमा सडकसँग सम्बन्धित सबै काम सम्पन्न गराउने वातावरण सरकारले गराउँछ ।

शेरबहादर देउवा प्रधानमन्त्री हुँदा गरेका नियुक्ति तपाईहरुले किन बदर गर्नुभयो ?
शेरबहादुरजीले सयौँ राजनीतिक नियुक्ति गरेर एकपक्षीय हिसाबले ताण्डब नृत्य गर्नुभयो । त्यसले लोकतन्त्रको मर्मलाई आत्मसाथ गर्न सकेको थिएन । उहाँ आफैले एकपटक प्रधानमन्त्री हुँदा गरेका कामलाई फर्केर हेर्दा हुन्छ । शेरबहादुरजीले जति नियुक्ति गर्नुभयो, जति पैसा बाँड्नुभयो, के त्यो लोकतन्त्र थियो ? म योभन्दा बेसी भन्न चाहन्न ।



प्रतिक्रिया दिनुहोस्