Logo

ओली सरकारको दिनगन्ती सुरु भइसक्यो, कांग्रेसले गोल हानेरै छाड्छ-गोपालमान श्रेष्ठसँग कुराकानी



सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीचको दुरी बढिरहेको छ । डा. गोविन्द केसीको मागका सन्दर्भमा सत्तारुढ दल नेकपा र कांग्रेसको कुरा बाँझिएको छ । कांग्रेस नेतृत्वको सरकारले गरेका निर्णय र नियुक्ति अहिलेको सरकाले बदर गरेपछि मतभेद झनै बढेको छ । नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकार अधिनायकवादी बन्न खोजिरहेको आरोप लगाएको छ । यिनै विषयमा केन्द्रित रहेर ऋषि धमलाले नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

गोपालमान श्रेष्ठ, नेता नेपाली कांग्रेस
नेपाली कांग्रेस अब असफल भएकै हो त ?
विहानीले दिनको संकेत गर्छ भने झैँ अहिलेको सरकार असफल हुने संकेत देखिएको छ । प्रधानमन्त्री केपी ओलीको बोली, प्रतिवद्धता असफल हुँदै गएको छ । त्यसैले नेपाली कांग्रेसले अन्तमा गोल हानेरै छाड्छ ।

प्रधानमन्त्री ओलीले त सरकार सफल भएरै छाड्ने दाबी गरेका छन् नि ?
बोलेर मात्रै हुँदैन । अहिलेको सरकार अधिनायकवादतिर गइरहेको छ । उखान टुक्काले मात्रै देश विकास हुँदैन । मुलुक बनाउनलाई नेपाली जनतालाई स्वतन्त्रता दिनुपर्छ । न्यायालयमाथिको हस्तक्षेप रोक्नुपर्छ ।

नेपाली कांग्रेस कमजोर भइरहेको अवस्थामा सरकार त बलियो हुँदै गएको छ नि ?
नेपाली कांग्रेस कमजोर छैन । कांग्रेसलाई साथ दिनेहरु बढिरहेका छन् । पाँच वर्षपछिको चुनावमा कांग्रेस अगाडि त आउँछ नै, तर अहिलेको सरकारको प्रवृत्ति हेर्दा पाँच वर्ष पनि कुर्नु नपर्ने अवस्था देखिएको छ । पूर्व सरकारले गरेका सबै निर्णय र नियुक्ति बदर गरेर सरकारले गल्ती गरेको छ ।

सम्बन्धित समाचार :

प्रधानमन्त्री ओलीलाई चुनौतिको चाङ

सरकार जनताको पक्षमा छ, कांग्रेस वा गोविन्द केसीले भनेजस्तो कानुन बन्दैन : पौडेल

डा. केसीको अवस्था गम्भीर, पटक–पटक अर्धचेत, भेन्टीलेटर तयारी अवस्थामा

डा. केसी नेपाली कांग्रेसको कार्यकर्ता हुन्, अनशन बस्दैमा माग पूरा हुँदैन : डा. अधिकारी

जनताको चाहना एकातिर, प्रधानमन्त्री ओलीको सपना अर्कैतिर

ओली सरकारको निर्णय सर्वोच्चले उल्ट्यायो, नियुक्ति बदर भएकालाई राहत

बाढीले बस्ती डुबानमा, सरकार बेखबर, जनता घरबारविहिन

रेल, पानी जहाज, जनता अनि अभाव र मृत्यु

अब दुःखका गित होइन, समृद्धिका प्रयासहरु…

पूर्व सरकारको निर्णय त विगतमा तपाईहरुले पनि उल्ट्याउनुभएको थियो नि ?
एउटा,दुईवटा निर्णय उल्ट्याउने भनेको सामान्य हो । तर अहिलेको सरकारले राम्रा निर्णय पनि उल्ट्याएको छ । भूकम्प पीडितलाई एक लाख रुपैयाँ दिने निर्णय, ६५ वर्ष पुगेकालाई भत्ता दिने निर्णय, दिर्घ रोगीलाई भत्ता दिने निर्णय जस्ता जनताको हितमा गरिएका निर्णय पनि उल्ट्याइएको छ ।

निर्वाचन आचारसंहिता लागुभएपछि गरिएका निर्णय उल्ट्याइएको हो । यसलाई त सामान्य रुपमा लिनुपर्ने होइन ?
आचारसंहिता लागुभएपछि भएको गलत कामको विषयमा त निर्वाचन आयोगले बोल्नुपर्ने हो नि । त्यसबेलाको सरकारले निर्वाचन आयोगको स्विकृति लिएर आवश्यकताअनुसार निर्णय गरेको हो । पाँच वर्षका लागि बनेको सरकारले यस्तो दम्भ देखाउनु जरुरी छैन ।

तर अब कम्युनिष्ट सरकार वर्षौँसम्म लम्बिने सम्भावना छ नि ?
संसारबाटै अस्ताएको कम्युनिष्ट नेपालमा उदाएको छ । यो धेरै लामो समय टिक्दैन ।

तपाई शिक्षामन्त्री हुँदा ल्याएको चिकित्सा शिक्षासम्बन्धी अध्यादेश त असफल भयो नि ?
मैले त्यसबेला सबै पक्षसँग सल्लाह गरेर अध्यादेश ल्याएको थिएँ । ससंद नभएको बेला भएकाले नियम बनाउन पाइएन । माथेमा प्रतिवेदनका बारेमा सबैले सकारात्मक टिप्पणी र सुझाब दिएपछि त्यसलाई स्थापित गर्नका लागि मैले अध्यादेश ल्याएको थिएँ । त्यसलाई अहिले जस्ताको तस्तै पास गर्नुपथ्र्यो । तर बङ्ग्याएर विधेकय पास गर्न खोजिएको छ । दुई तिहाई बहुमत भएकाले यो सरकार अराजक बन्दै गएको हो ।

डा. गोविन्द केसी नेपाली कांग्रेसको नेता भन्ने आरोप लागेको छ नि ?
डा. केसी कांग्रेसको मान्छे भएको भए त उहाँले नेपाली कांग्रेसको सरकार हुँदा अनशन बस्नुहुन्थेन नि । उहाँले त शुशील कोइराला प्रधानमन्त्री हुँदादेखि नै सत्याग्रह सुरु गर्नुभएको हो । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पनि तीनपटक अनशन बस्नुभयो । हामीले उहाँलाई सम्मान गर्यौँ । उहाँले भनेअनुसारको अध्यादेश ल्यायौँ । तर अहिलेको सरकारले अनेक आरोप लगाएर नेकपाका नेताको मेडिकल कलेजलाई छुट दिन खोजिरहेको छ ।

अहिलेको सरकार विकास र समृद्धिको एजेण्ड बोकेर हिँडेको छ । नेपाली कांग्रेस चाँही बाधक मात्रै देखियो नि ? किन अस्थिरता सृजना गर्दैहुनुहुन्छ ?
स्थिरता भन्दैमा साराको कुराको दमन गर्न त भएन नि । हरेक स्वतन्त्रताको हनन गर्ने, अनावश्यक ठाउँमा निषेधित क्षेत्र तोक्ने, यसरी नि स्थिरता हुन्छ । यो त राणा शाषन जस्तै भयो । एउटा प्राज्ञ विदेश जान लाग्दा समातेर वालुवाटारमा थुन्ने जस्ता मनलाग्दी गर्न त पाइदैन । सभामुख र उपसभामुख एउटै दलको हुनुहुँदैन भनेर संविधानमा लेख्दा लेख्नै पनि बल मिच्याईँ गरिएको छ । ज्यान मारेर अदालतले जेल पठाएकालाई छोड्ने, यस्ता काम गर्न थालेपछि त यो सरकारको दिनगन्ती सुरु भइहाल्छ नि ।

उसो भए केपी ओली नेतृत्वको सरकारको दिनगन्ती सुरु भइसकेको हो त ?
यही तरिकाले सरकार चलाउने हो भने, तीन करोड जनतालाई अत्याउने काम गर्ने हो भने अब कोही पनि चुप लागेर बस्दैन ।

जनमतसहित दुई तिहाई बहुमत पाएको सरकारलाई तपाईहरुले ढाल्न सक्नुहुन्छ र ?
जनमत पाएकै हुन् । जनताहरु धेरै आशावादी पनि थिए । जुन आशाले उहाँहरुलाई भोट हाले, त्यो सबै आशा तुहिदै गएको छ । यो कुरा जनताले बुझ्दै गएका छन् ।



प्रतिक्रिया दिनुहोस्