कानुनमन्त्री तामाङ र कांग्रेस नेता गौतमबीच डा. केसीको विषयमा भनाभन (भिडियो)


साउन २, काठमाण्डौ । नेपाली कांगेसका नेता तथा सासंद सञ्जय गौतमले प्रधानमन्त्री केपी ओलीले नियमविपरित मनपरी काम गरेको आरोप लगाएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै गौतमले यसअघिको सरकारले ल्याएको चिकित्सा शिक्षासम्बन्धी अध्यादेश तोडमोड गरेर विधेयक ल्याएको भन्दै आपत्ति जनाए ।

चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अनशन बसेका डा. गोविन्द केसीको जीवन रक्षा गर्ने विषयमा सरकार उदासिन भएको उनको आरोप छ ।

डा. केसी सामाजिक अभियन्ता भएको भन्दै गौतमले उनको जीवनमाथि खेलवाड गर्न नहुने बताए ।

कानुनमन्त्री शेरबहादुर तामाङले भने कांग्रेसले अहिलेको सरकारलाई कुनै पनि आरोप लगाउन नमिल्ने भन्दै गौतमको भनाईको खण्डन गरे ।

तामाङले डा. केसीको जीवनरक्षा गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । तर डा. केसीलाई अरु कसैले उक्साएर जुम्ला लगेर अनशन बसेको उनको आरोप छ ।

केसीसँग वार्ता गरेर एउटा निष्कर्षमा पुग्न सरकार तयार भए पनि केसीले प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्छु भनेर अनावश्यक ढिपी गरेको तामाङको तर्क थियो ।