Logo

धीरेन्द्र प्रधानको फ्रिकिकबाट डिफेन्डर ढलेपछि



काठमाडौं, ६ साउन । २०२९ सालमा झापा ११ बाट फुटबल करिअर सुरु गर्दा धीरेन्द्र प्रधानले नेपाली फुटबलमा एक फरक छाप राख्ने कल्पना पनि गरेका थिएनन् । प्रधानलाई एकदिन राष्ट्रिय टिमबाट फुटबल खेलाडी बन्छु भन्ने पटक्कै लागेको थिएन ।

‘दार्जिलिङ गोल्डकपको सेमिफाइनलमा धीरेन्द्र प्रधानले प्रहार गरेको फ्रिकिकले विपक्षी डिफेन्डर मैदानमा ढले, तत्काल उनलाई उपचार गराउन कोलकाता पुर्‍याइयो ।’

धीरेन्द्र प्रधानः पूर्वडिफेन्डर राष्ट्रिय फुटबल टोली

इलाममा रहँदा फुटबलभन्दा भलिबलका राम्रा विद्यार्थीका रूपमा उनलाई चिनिन्थ्यो । युवा जोसले गर्दा प्रधान राजनीतिक आन्दोलनमा पनि लागे । यसैकारण उनी १ महिना जेलसमेत परे । बुबा–आमाले छोरा थप ब्रिग्रएला भनी काठमाडौं पठाए ।

त्यसपछि धीरेन्द्रले पछि फर्केर हेर्नुपरेन । उनी निरन्तर फुटबलमै लागे । करिअरको सुरुवात झापा–११ बाट गरे पनि प्रधानको अन्तिम क्लब पुलिस रह्यो । खेलाडी र जागिरे जीवन पुलिसमै समाप्त गरे उनले । अहिले प्रधान पुलिसको रिटायर जीवन बिताइरहेका छन् ।

अत्यधिक सुटिङ पावर

धीरेन्द्रको विशेषता भनेकै अत्यधिक सुटिङ पावर थियो । सुटिङ पावरका कारण प्रधानको खेल देखेर सबै प्रभावित हुन्थे । उनी बललाई यसरी निर्मलतापूर्वक प्रहार गर्थे कि, त्यसको जवाफ विपक्षीका डिफेन्डर र गोलरक्षकसँग हुन्नथ्यो । तर, प्रधान आफूलाई भने राजेश मानन्धरको सुटिङ पावर असाध्यै मनपथ्र्यो ।

प्रधानको पावरफुल सटको चर्चा युरोपसम्म चलेको थियो । त्यहाँका प्रशिक्षकले उनको शक्तिशाली सटको तारिफ गर्थे । उनी भन्छन्, ‘हामी ओलम्पिकको तयारीका लागि पश्चिम जर्मनी, रसियालगायत देश पुगेका थियौँ, उनीहरू हामीभन्दा धेरै माथिल्लो स्तरका टिम थिए । तर, हाम्रो क्षमताअनुसारको टिमसँग अभ्यास भने हुन्थ्यो ।’

दार्जिलिङ गोल्डकपको त्यो क्षण

१९८० ताका नेपाली फुटबल टोली निकै व्यस्त रह्यो । नेपाली टोलीले प्रायः सबैजसो अन्तर्राष्ट्रिय गोल्डकपमा भाग लिइरह्यो । सन् १९८३ मा दार्जिलिङ गोल्डकप नेपालले जितेको थियो । प्रधानलाई त्यो सेमिफाइनल अहिले पनि आँखाको नानीमै बसेजस्तो लाग्छ । उनीसँग यसको विशेष कारण छ । प्रधानले डिबक्सअगाडिबाट प्रहार गरेको ‘डाइरेक्ट’ फ्रिकिकमा विपक्षी डिफेन्डर मैदानमा ढलेका थिए ।

‘सेमिफाइनलमा मैले एउटा फ्रिकिक प्रहार गरेको थिएँ, बलले लागेर डिफेन्डर बेहोस भएका थिए,’ प्रधान भन्छन् । उनको फ्रिकिक यति शक्तिशाली थियो कि, मैदानमा घाइते भएका खेलाडीको तत्काल उपचार गराउन कोलकातासम्म पुर्‍याइएको थियो । ‘मलाई साथीहरूले भनेका थिए, तिमीले घाइते बनाएका खेलाडीलाई कोलकाता पुर्‍याइएको छ,’ प्रधानले भने । सो प्रतियोगितामा प्रधान उत्कृष्ट खेलाडी बनेका थिए ।

पाकिस्तानसँगको त्यो कर्नर

१९८७ मा ओलम्पिक छनोटका लागि नेपालले पाकिस्तानविरुद्ध खेलेको थियो । पाकिस्तानले दुवै खेल नेपालमै खेल्यो । पहिलो लेग बराबरी भयो । दोस्रो चरणमा पुग्न दोस्रो खेल जित्नै पर्ने थियो । दोस्रो लेगमा प्रधानले कर्नर प्रहार गरेका थिए ।

त्यो कर्नर यति शक्तिशाली रह्यो कि, बल छेक्न अगाडि बढेका पाकिस्तानी गोलरक्षकको औँला नै भाँचियो । ‘मैले प्रहार गरेको कर्नरले गोलरक्षकको औँला भाँचियो । रमाइलो के भने गोल पनि भयो,’ उनले भने ।

ज्ञानीराजा बन्दा

सञ्जय गान्धी गोल्डकपमा नेपाल फाइनलमा पुग्यो । यसअघि सेमिफाइनलमा दोहोरो पहेँलो कार्ड ९रातो० कार्ड खाँदै प्रधान बाहिरिए । नेपाली टोलीलाई उपाधि जित्नका लागि प्रधान अत्यावश्यक थिए । प्रधान भन्छन्, ‘सेमिफाइनलमै रेड कार्ड पाएँ, हाम्रा कप्तान रूपक शर्मा दाइले मलाई मैदानभित्र प्रवेश गराउन अनेक उपाय लगाउनुभयो, उहाँले मलाई फाइनलमा ज्ञानीराजा श्रेष्ठको ७ नम्बर जर्सी लगाएर मैदानमा पठाउनुभयो ।’

त्यसवेला खेलाडीको प्रोफाइलमा फोटो टाँस्ने चलन थिएन । प्रधानले त्यसको फाइदा उठाए । अल इन्डिया रेडियोमा अग्ला डिफेन्डर ज्ञानीराजा भनी कमेन्ट्री दिइरहँदा नेपालमा रेडियो सुनिरहेका अचम्ममा परेका थिए । ‘ज्ञानीराजा फर्वाड खेल्ने, अब डिफेन्समा निकै राम्रा देखिएका छन् भनेर कमेन्ट्री भइरहेको थियो । यो सुन्दा नेपालीलाई आश्चर्य लागेको थियो,’ उनी भन्छन् ।

बिर्सन नसकिने फाइनल

सन् १९८४ मा काठमाडौंमा भएको पहिलो दक्षिण एसियाली खेलकुदमा नेपालले फुटबलमा स्वर्ण जितेको थियो । अखिल नेपाल फुटबल संघका पूर्वमहासचिवसमेत रहेका प्रधानलाई १९८७ को कोलकाताको साग फाइनल ताजै लाग्छ । प्रधान भन्छन्, ‘नेपालले सम्भवतः सर्वाधिक धेरै दर्शकमाझ पहिलोपटक फुटबल खेलिरहेको थियो ।

एउटा अफसाइड गोलका विषयमा विवाद हुँदा हामीमाथि हातपातकै डर थियो । ‘त्यो फाइनल निकै खतरनाक लाग्छ । हामीले जितेको भए पनि मैदानमै कुटाइ खाने सम्भावना थियो ।’ नयाँ पत्रिका



प्रतिक्रिया दिनुहोस्