Logo

फुटबलमा नेपालको प्रगतिः नेपालको झण्डा बोकेर बिश्वकप हर्ने रहर कहिले पुरा हुन्छ ?



काठमाडौँ,७ साउन । आफ्नै देशको झन्डा बोकेर विश्वकप हेर्ने सपना कुन चाहिँ समर्थकको नहोला। तर ३२ टोलीमात्र अन्तिम चरणमा पुग्ने भएकाले धेरै समर्थकको यो सपना पूरा हुँदैन। र, तिनीहरू आफ्नो मनपर्ने टोली छान्दै विश्वकपमा झुम्मिन्छन्। खुशी र दुःखी हुन्छन्।

विश्वकपको विशेषता नै यही हो। हरेक नेपाली समर्थकको मनमा यो प्रश्न एक पटक त उठ्छ उठ्छ। उठेकै हुन्छ। अनि जवाफ पनि उनीहरू आफैसँग हुन्छ। यो गाह्रो छ। अझ भनौं यथार्थमा असम्भव छ।

हेरौं विश्वकप पुग्न नेपालले कस्तो प्रयास गरेको छ। नेपालले तीन दशक अगाडिदेखि विश्वकप छनोटमा भाग लिंदै आएको छ। यसबीच भएका सातवटा प्रयासमा भने नेपाल छनोटको पहिलो चरण भन्दा अगाडि बढ्न सकेको छैन। यद्यपि हरेक छनोटमा नेपाली फुटबल टोलीले केही रोचक इतिहास भने कोरेको देखिन्छ।

सन् १९८६ को विश्वकप छनोटमा नेपालको तर्फबाट पहिलो पटक प्रतिस्पर्धा गरेको थियो। त्यो रुपकराज शर्माको कप्तानीमा रहेको ८० को दशकको नेपाली फुटबलको गोल्डेन जेनेरेशन अर्थात स्वर्णिम पुस्ताको टोली थियो।

आधुनिक शैली होइन, जोश र टिम भावना त्यतिबेला नेपालको मुख्य अस्त्र हुने गरेको सम्झना छ उक्त टोलीका एक सदस्य श्रीराम रञ्जितकारको। उनी सम्झिन्छन्,  हामीमा जोश थियो। प्राविधिक रुपमा अहिले झै अब्बल नभए पनि टिम भावनामा हामी असाध्य बलियो थियौं। देशको लागि खेल्ने भनेपछि ज्यान दिन्थ्यौं। मलेसिया र दक्षिण कोरियाको समूहमा परेको नेपालले त्यतिबेला बहादुरीपूर्ण नतिजा निकालेको थियो।

टोलीका सदस्य भक्तराज राजकर्णिकार भन्छन्, अवे खेलमा हामी दक्षिण कोरियासँग ० का विरुद्ध २ गोलले मात्र हार्‍यौं। त्यही दक्षिण कोरियाले त्यतिबेलाको विश्वकप विजेता अर्जेन्टिनासँग ३(२ को प्रतिस्पर्धात्मक स्कोरमा हारेको थियो।सहभागिताको ३२ वर्ष लामो इतिहासमा नेपालले सन् १९९४ र २००६ बाहेकको बाँकी छनोट प्रतियोगितामा सहभागिता जनाएको छ।

यो पनि पढ्नुहोस्

विश्वकप विजेतालाई सर्वोच्च सम्मान

विश्वकप पदक स्वीकार नर्गर्ने क्रोएसियाली खेलाडि

छनोट प्रतियोगिता नेपालको विश्वकपसम्म पुग्ने बाटो हो, तर व्यवहारिक रुपमा त्यहाँ पुग्ने ल्याकत भने नेपाल जस्तो देशसँग रहेको देखिँदैन । नेपाली फुटबलको हैसियत मापन गर्ने कसी भने विश्वकप छनोटका प्रतियोगिता बन्ने गरेको खेलाडीहरू बताउने गर्छन्। राष्ट्रिय टोलीका पूर्व कप्तान राजुकाजी शाक्य भन्छन्, ूत्यो हाम्रा खेलाडीहरूको लागि एउटा अनुपम अनुभव समेट्ने थलो थियो। आफ्नो स्तर पत्ता लगाउने प्रतिस्पर्धा पनि।

सन् १९८६, १९९० र १९९८ गरी तीनवटा विश्वकप खेल्ने क्रममा नेपाली फुटबलको परिवर्तनको साक्षी बनेको अनुभवले शाक्यलाई रोमाञ्चित बनाउने गर्छन्। भन्छन्, ८० को दशकमा पावर गेममा विश्वास गर्ने हामीहरू विस्तारै प्राविधिक खेलतर्फ धकेलिँदै गयौं। नयाँ खेलाडीहरू व्यक्तिगत रूपमा प्रतिभाशाली देखिए। सुविधामा पनि क्रमशस् वृद्धि हुँदै आयो।ूसन् २००२ को विश्वकप छनोट भने नेपालको लागि अहिलेसम्मकै अविस्मरणीय र सफल मानिन्छ।

इराक र काजकिस्तानमा खेलिएको सो विश्वकप छनोटमा नेपालले पहिलोपटक कुनै खेल जितेको थियो भने १३ गोलको वर्षासमेत गरेको थियो।त्यसको सम्झना गर्दै उक्त टोलीका खेलाडी बालगोपाल महर्जन भन्छन्, विश्वकपमा ठूला टोलीसँग खेल्ने हुँदा नेपालको काम भनेकै रक्षापंक्ति बलियो बनाउने हुन्थ्यो त्यसैले रक्षापंक्तिका खेलाडीहरू चर्चामा हुन्थे। तर त्यो विश्वकपमा हामी आक्रमक स्वरुप अपनायौं। गोलहरू गर्‍यौं।

निराजन रायमाझीले उक्त प्रतियोगितामा ह्याट्रिक सहित सात गोल गरेका थिए।कमजोर राष्ट्रहरूले सिधै छनोट चरणमा प्रतिस्पर्धा गरिने प्रणाली हटाएर फिफाले त्यसअघि विश्व वरियतामा तल परेका राष्ट्रहरूबीच प्ले अफ खेल्ने नियम बनायो।

अर्थात नेपाल एउटा मात्र प्रतिद्धन्दीसँग खेल्नुपर्ने गरी खुम्चिनु पर्‍यो। यसले नेपाल जस्ता साना राष्ट्रहरूको तुलनात्मक बलिया टोलीसँग खेल्ने अवसर कटौती हुन पुगेको थियो।तीनवटा विश्वकप छनोट खेलेका अर्का खेलाडी राकेश श्रेष्ठ यसले खेलाडीहरुको अवसर र इतिहास कोर्ने मौका गुमेको बताउँछन्।

उनी भन्छन्,  पहिले ठूला टिमसँग र धेरै खेल खेल्न पाइन्थ्यो। त्यसमा रोमाञ्च र अवसर दुवै थियो। इतिहास रच्ने अवसर थियो। प्ले अफले त्यसलाई खुम्च्याइदियो। सन् २०१० बाट नेपालले प्ले अफ खेलेको थियो।

होम एण्ड अवेको आधारमा अर्थात दुवै देशमा खेल्ने उक्त प्रतिस्पर्धामा नेपालले सन् २०१० मा ओमानसँग खेलेको थियो। २०१४ को छनोटमा नेपालले पहिलो प्ले अफमा टिमोर लिस्टेलाई हराएर अगाडि बढेको थियो। दोस्रो प्ले अफमा जोर्डनसँग रोकिनुपर्‍यो।

जारी विश्वकप २०१८ को लागि भारतविरुद्ध प्ले अफ खेलेको नेपालले एक हार र एक बराबरी खेलेर टुङग्याएको थियो।विश्वकपको अन्तिम चरणमा खेल्न फिफाले एसियाली महाद्वीपलाई पाँच कोटा दिएको छ।

जसमा एउटा कोटाको लागि दक्षिण अमेरिकी राष्ट्रसँग प्ले अफ खेल्नुपर्ने प्रावधान छ। अर्ध व्यवसायिकतर्फ अगाडि बढ्दै गरेको भनिएको नेपाली फुटबल विगतभन्दा प्राविधिक रुपमा अहिले सुधारिएको मानिन्छ। तर एसियाको उत्कृष्ट पाँच टोलीमा समावेश भइ विश्वकपको ढोका खोल्नु भनेको चाहिँ नेपालको लागि अझैपनि दुस्साहसपूर्ण सपना नै मानिन्छ।

वर्तमान राष्ट्रिय टोलीका कप्तान विराज महर्जन यो यथार्थसँग अवगत नहुने कुरै भएन। भन्छन्, विश्वकपबारे हामी कुरा गर्छौं। सपना देख्छौं। तर यथार्थमा दक्षिण एसियाको फुटबल जित्नु नै हाम्रो लागि यथार्थमा विश्वकप जित्नु हो। नेपाल जस्तै धेरै देशका लागि विश्वकप अहिले पनि टाढाको सपनाकै रुपमा हेरिन्छ।

फरक यति हो आफू नखेले पनि विश्वकप फुटवलको महाकुम्भमा नेपाल जस्तै २ सय बढी फिफाका सदस्य राष्ट्रहरू रमाइरहेका छन्।बीबीसी



प्रतिक्रिया दिनुहोस्