Logo

मिडफिल्डर ओजिलले लिए सन्यास !



काठमाडौं, ७ साउन । बलिया मिडफिल्डरको रुपमा परिचय बनाएका मेसुट ओजिलले फुटबल जीवनबाट सन्यास लिएका छन् । साथै उनले जर्मनको राष्ट्रिय टिमबाट नखेल्ने घोषणा समेत गरे । उनले ट्विटरमार्फत तीन पेज लामो मर्मस्पर्शी वक्तव्य दिँदै २९ वर्षीय प्लेमेकरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।

उनले जर्मन फुटबल एसोसिएसन डिएफबीका अध्यक्ष रेनहार्ड ग्रिन्डेलको व्यवहारले आफूलाई दुःखी बनाएको बताएका छन् ।सन् २००९ मा राष्ट्रिय टिममा डेब्यु गरेका उनले जर्मनीको लागि खेलेको ९२ अन्तर्राष्ट्रिय खेलमा २३ गोल गरेका छन् भने अन्य ४० गोलको लागि सहयोग गरेका छन् ।

सन् २०१४ को विश्वकप विजेता जर्मन टिमको मुख्य खेलाडी रहेका ओजिललाई शान्त स्वभावका फुटबल खेलाडी मानिन्छ। उनले पाँचपटक ‘जर्मन प्लेयर अफ दि इयर’को अवार्डसमेत प्राप्त गरेका छन् ।

तर, रसिया विश्वकपमा जर्मनीले निराशाजनक प्रदर्शन गर्दै समूहचरणबाटै बाहिरिएपछि उनको प्रदर्शनलाई लिएर धेरैले आलोचना गरेका थिए । विश्वकपमा खराब प्रर्दशनसंगै धेरै जर्मन समर्थकले उनी टर्किस मुलको भएकाले जर्मनीको राष्ट्रिय टिमप्रति बफादार नभएको आरोपसमेत लगाए ।

गत मेमा उनले टर्कीका राष्ट्रपति रिसेप एर्दोगानसँग तस्वीर खिचाएको विषयलाई जोडेर समेत ओजिलको आलोचना भएको थियो । तस्वीर सार्वजनिक भएसँगै सञ्चारमाध्यमले उनलाई जर्मनीको प्रजातान्त्रिक मूल्य मान्यताभन्दा बाहिर गएको भन्दै प्रश्न गरेका थिए ।

लण्डनमा भएको एक कार्यक्रममा ओजिल र जर्मन टिमका अर्का खेलाडी इल्काए गुन्डोगानले टर्कीका राष्ट्रपतिसँग तस्वीर खिचाएका थिए । ओजिल र गुन्डोगान दुवै टर्कीस मूलका जर्मन खेलाडी हुन् ।

विज्ञप्तिमा ओजिलले उक्त तस्वीर आफ्नो पुर्खाहरुको सम्मानमा मात्रै खिचाएको र व्यक्तिगत रुपमा एर्दोगानको समर्थनमा वा राजनीतिक रुपले प्रेरित भएर नखिचाएको प्रष्टिकरण दिएका छन् ।

उनले आफूमात्रै नभएर परिवारका सदस्यहरुलाई पनि विभिन्न खालका धम्की र अपमानपूर्ण सन्देश आएको बताउँदै जर्मनीको राष्ट्रिय टिमबाट खेल्ने मन नै नभएको विज्ञप्तिमा उल्लेख गरेका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्