Logo

नेपाली कांग्रेसले डा. गोविन्द केसीको एजेण्डा बोकेर आन्दोलन गर्नुहुँदैन : रामचन्द्र पौडेल



-रामचन्द्र पौडेल, वरिष्ठ नेता, नेपाली कांग्रेस
डा.गोविन्द केसीको मागलाई लिएर सरकार र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसबीचको दुरी बढ्दै गएको छ । कांग्रेसले केसीको मागलाई नै एजेण्डा बनाएर सडक र सदनमा आन्दोलन गरेको छ भने सरकारले केसीको माग पूरा गर्ने संकेत देखाएको छैन । डा. केसीलाई हतियार बनाएर कांग्रेसले सरकारविरुद्ध आन्दोलन गरेको कतिपयको अरोप छ । यिनै विषयवस्तुमा केन्द्रित रहेर ऋषि धमलाले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

डा. गोविन्द केसीको अनशन र सरकारको अडानलाई कसरी लिनुभएको छ ?
डा. गोविन्द केसीको अनशन लामो अवधिसम्म लम्बिएको छ । तर सरकारले वार्ता गरेर अनशन तोडाउने र जीवन रक्षा गर्ने काम गरेको छैन । यो दुखद पक्ष हो । यसबारेमा सरकारले धेरै ठूलो जिम्मेवारी लिनुपर्ने हुन्छ ।

नेपाली कांग्रेसले केसीको समर्थन त गर्यो, तर समस्या समाधानको उपाय त खोज्न सकेन नि ?
नेपाली कांग्रेसले केसीको मागलाई समर्थन गरेको छ । समस्याको समाधान गर्ने त सरकारको जिम्मेवारी हो । उहाँलाई अनशन तोड्न लगाउने, माग पूरा गर्ने काम सरकारले गर्नुपर्छ । जीवन रक्षा त गर्नुपर्यो नि । सरकार जिम्मेवारीच्यूत हुनु हुँदैन ।

सरकारले त केसीको मागलाई संविधानविपरितको माग भनेको छ नि ?
विधेयक संसदमा गएको छ । पहिला नै अध्यादेशको रुपमा विधेयक आएको थियो । तर अहिलेको सरकारले अध्यादेश तोडमोड गरेर विधेयक ल्याउनु गल्ती हो । यो विधेयकलाई करेक्सन गरेर ल्याउुनपर्छ भन्ने माग कसरी संविधानविपरित हुन्छ ?

काठमाण्डौ उपत्यकामा नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने कि नदिने भन्ने विषयमा विवाद छ । यसमा तपाईको धारण के हो ?
मेडिकल कलेजलाई सम्बन्धन त दिनुपर्छ । तर निश्चित मूल्य र मान्यताका आधारमा दिनुपर्छ । अहिले देशका कुना काप्चामा जनताले स्वास्थय सेवा पाएका छैन । सबै स्वास्थ्य संस्था काठमाण्डौ उपत्यकामा मात्रै थुपारेर हुँदैन । यसो गर्दा दुरदराजका गरिब जनताले स्वास्थ्य शिक्षा र सेवा पाउन सक्दैनन् । डा. केसीले दुःखी गरिब जनताको पक्षमा आवाज उठाएका छन् । तर आफूलाई वैज्ञानिक समाजवादी मान्ने सरकारको यो दशा छ । संविधानले भनेको समाजवादउन्मुख राज्य प्रणाली विरुद्ध सरकारको क्रियाकलाप देखिएको छ । अहिले सरकार आफैँ नाङ्गिदै छ ।

अन्तराष्ट्रिय अभ्यासअनुसार मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्छ भन्ने जनमत पनि छ नि ?
कस्तो कुरा गर्या ? अन्तराष्ट्रिय अभ्यास भनेको के हो ? विश्व स्वास्थ्य संगठनको नियम पनि पढ्नुपर्यो नि । के हो अन्तराष्ट्रिय अभ्यास भनेको ? मेरो भनाई त नेपालको राजनीतिक व्यवस्था अमेरिकाको मोडलमा जानुहुँदैन, बेलायतको मोडलमा जानुपर्छ । गरिब निमुखाहरुले न्याय पाउनुपर्छ । समाजसेवा र सामाजिक सेवा बेलायतको जस्तो हुनुपर्छ । बेलायतमा निःशुल्क स्वाथ्यसेवाको व्यवस्था छ । तर अहिलेको सरकार गलत बाटोतिर गइरहेको छ ।

नेपाली कांग्रेस सबै मेडिकल कलेजलाई राष्ट्रियकरण गर्नुपर्छ भन्ने पक्षमा हो ?
अहिले नै राष्ट्रियकरण नै गर्नुपर्छ भन्ने होइन । भएका मेडिकल कलेजलाई प्रभावकारी अनुगमन गरेर गुणस्तरीय बनाउनुपर्छ । तर सरकारले राष्ट्रियकरण गर्न सक्छ भने कांग्रेसले विरोध गर्दैन । व्यवहारिकता हेरेर सरकारले जिम्मेवारी लिनुपर्छ ।

पछिल्लो समय नेपाली कांग्रेसको औपचारिक धारणा त आएन नि ?
मैले केन्द्रिय समितिको बैठक बसेर औपचारिक धारणा सार्वजनिक गर्नुपर्छ भनेको छु । हाम्रा एजेण्डा केके हुन्, आन्दोलन भनेको आफ्नो एजेण्डामा गर्ने हो । डा. केसीको मागलाई समर्थन दिने हो, तर त्यसैलाई कांग्रेसको आन्दोलन बनाउनु हुँदैन । समर्थनमा सशक्त आवाज दिन्छौँ तर आन्दोलनको मुद्दा त भ्रष्टाचार, महङ्गी, अनावश्यक कर लगायतका विषयमा गर्ने हो । संविधान मिचिएको छ । सभामुख र उपसभामुख एउटै दलबाट राखिएको छ । यो संघीय लोकतान्त्रिक संविधान विपरितको हर्कत हो । यसका विरुद्धमा हामी १५ गते सांकेतिक विरोध गर्छौँ ।

भनेपछि डा. केसीको मागलाई लिएर कांग्रेसले आन्दोलन गर्दैन ?
हामी उहाँलाई समर्थन दिन्छौँ । केसीलाई मार्न पाउँदैनस्, खबरदार भन्छौँ । तर हाम्रा एजेण्डा त आफ्नै हुनुपर्छ ।

डा. केसीका माग पूरा गर्न सरकार तयार भएन भने कांग्रेसले संसद अवरुद्ध गरिरहने हो ?
सरकारले यस्तो बदमासी गर्यो भने त कांग्रेस मात्रै होइन, सारा जनता उठ्छन् नि । कांग्रेसले लोकतान्त्रिक प्रतिपक्षको भूमिका निर्वाह गर्छ । संसद अवरुद्ध गर्ने वा नगर्ने भन्ने त सरकारको गतिविधिमा भर पर्छ ।

सम्बन्धित समाचार :

सरकारले विधेयक फिर्ता लिनु पर्दैन, संशोधन गर्न तयार भए हुन्छ : जीवन क्षेत्री

डा. गोविन्द केसी र सरकार पक्षबीचको वार्ता असफल हुनुको कारण यस्तो छ

सरकार र डाक्टर केसीबीचको वार्ता भाँडियो, अब के हुन्छ ? 

सरकारी वार्ता टोली रित्तो हात वार्तामा आएको केसी पक्षको आरोप(भिडियोसहित)

सरकारी वार्ता टोलीले भन्यो “सरकारले दिएको म्यान्डेट प्रयोग गर्ने हो, निर्णय गर्ने अधिकार छैन”(भिडियोसहित)

उपचारमा संलग्न डाक्टर भन्छन्,’जुनसुकै बेला गोविन्द केसीलाई गुमाउनुपर्ने अवस्था छ’

डा. केसीका माग जायज छन्, मेरो समर्थन छ : मोहन वैद्य



प्रतिक्रिया दिनुहोस्