Logo

कहिल्यै भोट नहालेका इमरान भावी प्रधानमन्त्रीको चर्चामा



काठमाडौँ, ११ साउन । पाकिस्तानमा बुधबार भएको आमनिर्वाचनको मतपरिणामले पूर्वक्रिकेट खेलाडी इमरान खानलाई फेरी एक पटक चर्चाको शिखरमा पु¥याएको छ ।

सन् १९९२ मा भएको विश्वकप क्रिकेटको उपाधि कब्जा गर्न सफल पाकिस्तानी टिमको नेतृत्व गरेका विश्व चर्चित खान अहिले भावी प्रधानमन्त्रीका रूपमा उदाएपछि फेरी चर्चाको शिखरमा पुगेका छन । खान नेतृत्वको टोलीले नै पाकिस्तानलाई पहिलो पटक विश्वकप क्रिकेटको उपाधि दिलाउन सफल भएको थियो ।

क्रिकेटबाट मुलुकलाई विश्वकपको उपाधि दिलाएसँगै क्रिकेटबाट संन्यास लिएर राजनीतिमा प्रवेश गरेका खानलाई पाकिस्तानको भावी प्रधानमन्त्रीका रूपमा हेरिएको छ ।

उनको काँधमा चोट लागेकाले क्रिकेट खेलबाट संन्यास लिएर राजनीतिमा प्रवेश गरेका थिए । यो बाटो उनका लागि अहिले सुखद् सावित भएको छ ।चर्चित क्रिकेट खेलाडीको रूपमा छवि बनाएका भएका इमरान अहिले फेरी चर्चित नेताका रूपमा उदाएका छन।

क्रिकेटबाट बिदा भएर ४३ वर्षको उमेरमा इमरानले सन् १९९६ मा पाकिस्तान तेहरिक ए इन्साफ पीटीआई गठन गरेर राजनीतिमा प्रवेश गरेका थिए ।

भ्रष्टाचारविरोधी अभियान र विभिन्न सामाजिक मुद्दालाई उठान गरेका इमरानलाई शुरुमा धेरैले विश्वास गरेनन । सन् २००२ मा भएको निर्वाचनमा २७२ सिटमध्ये उनको पार्टीले एक सिट मात्रै जितेपछि निराश नबनाएको पनि होइन । तर उनले आफ्नो अभियान र सक्रियतालाई जारी नै राखेका थिए ।

सन् १९९९ मा जनरल परवेज मुसरफको सैन्य कूको समर्थन गरेका इमरानले २००२ मा मुसर्रफलाई नै ‘अमेरिकी राष्ट्रपतिको जुत्ता चाट्ने’ र “मृत्यु दण्ड दिनुपर्ने” सम्मका अभिव्यक्ति दिएका थिए। शक्तिशाली राष्ट्रपति विरुद्ध नै कडा अभिव्यक्ति दिएपछि उनी पटक पटक आफ्नै निवासमा नरबन्दमा पनि परेका थिए।

राष्ट्रपति मुसरफ विरुद्ध कडा अभिव्यक्ति दिएर चर्चामा रहे पनि सन् २००८ मा भएको निर्वाचनमा भने उनको पार्टीले एक सिट पनि जित्न सकेन ।

तर अहिले भने स्वच्छ सरकार, भ्रष्टाचार विरोधी कानून, स्वतन्त्र न्यायपालिका, चुस्त सुरक्षा व्यवस्था, आतंकवाद विरोधी पाकिस्तानलगायतका कार्यसूचीहरूलाई इमरानले मुख्य चुनावी कार्यसूची बनाएर निरन्तर अभियान चलाइरहेकाले उनको पार्टीलाई पाकिस्तानी जनताले एकाएक सबैभन्दा ठूलो पार्टी बनाइदिएका छन् ।

राजनीति गर्नुभन्दा पहिलेसम्म पाकिस्तानको निर्वाचनमा कहिल्यै भोट नहालेको बताउने इमरानलाई अहिले भने पाकिस्तानका लाखौँ मतदाताले मतदान गरेर प्रधानमन्त्री बन्ने बाटो खोलिदिएका छन् ।

अनेक उतार चढावका बीचमा पनि उनले निराश नभई चलाइरहेको आफ्नो अभियानले अहिले उच्च सफलता प्राप्त गरेको भन्दै अब मुलुकको मुहार फेर्ने प्रतिबद्धता गरेका छन। अन्य पार्टीहरूको असन्तुष्टीका कारण निर्वाचनको मतपरिणामको औपचारिक घोषणा हुन अझै बाँकी रहे पनि उनको पार्टी नै सबैभन्दा ठूलो पार्टी हुने देखिएको छ ।एजेन्सि
–––



प्रतिक्रिया दिनुहोस्