Logo

देशनिकाला गरिएका आप्रवासी पुनः अमेरिका फिर्ता



काठमाडौँ,२६ साउन । संयुक्त राज्य अमेरिकामा एक सङ्घीय न्यायाधीशले अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा नै अधिकारीहरूले देशबाट बाहिर पठाइदिएका एक महिला र उनकी छोरीलाई पुनः अमेरिका झिकाउन आदेश दिएका छन्।

ती दुई जना चरम यौनहिंसा र सङगठित गिरोहको हिंसाबाट बच्न भागेर अमेरिका आएको भन्दै अमेरिकन सिभिल लिबर्टिज युनियन एसीएलयू नामक संस्थाले उनीहरूको पक्षमा एउटा मुद्दामा प्रतिनिधित्व गरिरहेको छ।

मुद्दाको पुनरवलोकन भइरहेको अवस्थामा नै तिनीहरूलाई अमेरिकाबाट निकालिएको घटना अस्वीकार्य भएको ती न्यायाधीशले बताएका छन्। ती न्यायाधीशका अनुसार यो घटनाका सम्बन्धमा देशका महान्यायाधिवक्ता जेफ सेसन्सविरुद्ध अदालतको अपहेलना गरेको अभियोगसमेत लगाउन सकिनेछ। महान्यायाधिवक्ता सेसन्सले गत जुन महिनामा आप्रवासनसम्बन्धी कडा नियमहरू लागु गरेका थिए।

अब घरेलु हिंसात्मक दुर्व्यवहार र सङ्गठित आपराधिक गिरोहबाट हुने हिंसाका पीडितहरू सामान्यतया अमेरिकामा शरण दाबी गर्न योग्य हुने छैनन्।ती आमाछोरीको मुद्दा एसीएलयू र अर्को संस्था सेन्टर फर जेन्डर एन्ड रेफ्युजी स्टडिजले हिंसाबाट बच्न अमेरिका आएको दाबी गर्ने र स्वदेश फर्काइन सकिने जोखिममा रहेका १२ महिला र तिनका सन्तानका हकमा संयुक्त रूपमा दायर गरेको मुद्दाको एक भागको रूपमा रहेको छ।

एसीएलयूका अनुसार सरकारले छिटोमा शुक्रवारभन्दा अगाडि उक्त मुद्दासँग सम्बन्धित कसैलाई पनि स्वदेश फिर्ता नपठाइने सरकारले प्रतिबद्धता जनाएको थियो।तर बिहीवारको आपत्कालीन सुनुवाइका बेला ती दुई जनालाई अमेरिकी अधिकारीहरूले उनीहरूको देश एल साल्भाडोतर जान लागेको विमानमा राखिसकेका थाहा भएको एसीएलयूले जनाएको छ।

वाशिङ्टन डीसी जिल्ला अदालतका न्यायाधीश एमेट सलिभानले शरण दाबी गर्नेहरूको मुद्दामा तिनका वकिलहरूले अदालतमा बहस जारी राखेका बेला तिनीहरूलाई अमेरिकाबाट हटाउने सरकारी अधिकारीहरूको कार्य अस्वीकार्य छ।

विवरणहरूका अनुसार उनले ती आमाछोरीलाई तत्काल फिर्ता ल्याउन आदेश दिएका थिए।अमेरिकाको आन्तरिक सुरक्षा मामिलासम्बन्धी एक मन्त्रालय डिपार्ट्मेन्ट अफ होम्ल्यान्ड सेक्युरिटिका एक अधिकारीका अनुसार उक्त निकायले अदालतको आदेश लागु गर्न काम थालेको छ।

एल साल्भाडोर पुगेका भएपनि ती दुई आमाछोरीहरू विमानबाट ओर्लिएका छैनन् र तिनीहरूलाई अर्को उडानबाट अमेरिका फिर्ता ल्याउन काम भइरहेको छ, डिपार्ट्मेन्ट अफ होम्ल्यान्ड सेक्युरिटिले इमेलमार्फत् दिएको वक्तव्यमा जनाइएको छ।

यो सम्पूर्ण घटनाक्रमपछि ती आमा र छोरी बिहीवार अमेरिकाको टेक्सस राज्यमा फर्केका छन्। उनीहरू अधिकारीहरूको नियन्त्रणमा रहेका छन्।बीबीसी



प्रतिक्रिया दिनुहोस्