पुस्तक विमोचनमा बाबुराम र गगन एकसाथ, कसले के भने (भिडियोसहित)


भदौ २, काठमाण्डौ । प्रजातान्त्रिक आन्दोलनका योद्धा दुर्गा सुवेदीको संस्मरणात्मक पुस्तक विमान विद्रोह सार्वजनिक भएको छ ।

शनिबार पर्यटन बोर्डमा कार्यक्रम गरि पुस्तक विमोचन गरिएको हो । पुस्तकमाथि चर्चा गर्दै नया शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले तात्कालिन परिवेशमा दुर्गा सुवेदीले अंगालेको बाटो अनुकरणीय रहेको बताए । राजनीतिक परिर्वतनका लागि समय सापेक्षका निर्णय र आन्दोलन जरुरी रहेकाले कुन ठिक कुन वेठिक भन्नु कठिन हुने भट्टराईको तर्क थियो ।

नेपाली कांग्रेसका नेता गगन थापाले तात्कालिन समयमा काग्रेस कस्तो रहेछ भन्ने बारे बुझ्नका लागि पुस्तकमा यथेष्ट विषयवस्तु समावेश भएको बताए । आजको पुस्ताको कांग्रेसले विमान विद्रोह पुस्तकबाट तात्कालिन राजनीति र राजनीतिका पात्र बारे जानकारी लिन सक्ने तर्क थापाले गरे ।

पुस्तकमा २०३० सालको विमान अपहरणमा सुवेदीको संलग्नता र त्यसले निम्त्याएका तात्कालिक राजनीतिक परिस्थिति र घटनाक्रम माथिका अनुभूतिहरु समावेश छन् । विमान अपहरणमा संलग्न भए वापत सुवेदीले भारतीय जेलमा काटेका दुई बर्ष, १० बर्षको प्रवास बसाई, तात्कालिन माओवादीको सशस्त्र संघर्षको साथै श्रीमती शुशीला कार्की प्रधानन्यायाधीश हुदाको समयमा तत्कालिन अख्तियार प्रमुख लोकमानसिंह कार्कीले प्रस्ताव गरेको आर्थिक प्रलोभन लगायत प्रसंङ्ग उल्लेख छन् ।