प्रधानमन्त्रीको समृद्धिको सपना पूरा गर्न सम्भव छ, सबैले साथ दिनुपर्छ : हिराचन (भिडियोसहित )


काठमाडौं, ५ भदौ । गैर-आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष देवमान हिराचनले प्रधानमन्त्री केपी शर्मा ओलीले देखेको समृद्धिको सपना सकरात्मक र पूरा गर्न सकिने खालको भएकोले सबै नेपालीहरुले आ-आफ्नो ठाउँबाट सहयोग र साथ दिनुपर्ने बताएका छन् ।

मंगलबार साँझ प्राईम टाईम्स टेलिभिजनको कार्यक्रम विशेष कुराकानीमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै हिराचनले चीन र भारतबाट काठमाडौंमा रेल आउन सम्भव रहेको पनि बताए । उनले भने,”प्रधानमन्त्रीज्यूले भनेको कुरा सम्भव छ । आज घोषणा गरेको कुरा भोलि नै हुँदैन । यसको लागि समय दिनुपर्छ । तर, नेपालमा भारत र चीन दुवै देशबाट रेल ल्याउन सम्भव छ ।”

जापानी प्रधानमन्त्रीले बोलेको कुराहरु पक्का पूरा भएको उदाहरण पेश गर्दै उनले नेपालका प्रधानमन्त्रीले ल्याएको भीजनको सबै नेपालीहरुले समर्थन गर्नुपर्ने बताए । उनले थपे,”पानीजहाज ल्याउन जरुरी छ । भारतबाट ल्याउन सजिलो छ । ठूलो पानीजहाज अहिले ल्याउन सम्भव नहोला । तर, ठिकै साईजको जहाज ल्याउन सम्भव छ । कोलकत्ताबाट पानीजहाज ल्याउन सक्छौं । प्रधानमन्त्री ओलीलाई साथ दिनुपर्छ ।”

नेपाललाई समृद्धि बनाउने पहिलो आधार नै कृषि भएको उनको तर्क छ । उनले भने,”कृषिनै हो देशको विकासको लागि पहिलो आधार, यही एजेण्डालाई सबैले अघि बढाउनुपर्छ । अहिले मेगा हाईड्रोपावरभन्दापनि माईक्रो हाईडोपावर नेपालले गर्नुपर्छ ।”

आफू विगत ४५ वर्षदेखि जापानमा बसिरहेको सुनाउँदै उनले भने,”जापानबाट मैले समाज सिँके । मान्छेलाई सम्मान गर्ने कुरा सिंके । देश सिकें । सबैभन्दा ठूलो विश्वास हो भन्ने कुरा सिकें । हेर्नुहोस्, संसारका सबै मान्छेलाई २४ घण्टा समय दिएको छ । यो महत्वपूर्ण समयलाई हामीले सही सदुपयोग गर्नुपर्छ ।”

जापानमाजस्तो वातावरण नेपालमा पनि रहेको उनको भनाई छ । उनले भने,”जापानी र नेपालीमा केहीपनि फरक छैन । तर, उनीहरुले समाज र समयलाई महत्वपूर्ण दिन्छन् । उनीहरु १४ घण्टाभन्दा पनि बढि नै काम गर्छन् । तर नेपालमा त ३ घण्टा काम गर्दा पनि धेरै काम गरियो भन्छन् ।”

४५ वर्षको जापान र अहिलेको जापानमा धेरै फरक रहेको उनले सुनाए । उनले भने,”आजभन्दा ४५ वर्ष पहिले जापानीहरु आफ्नो परिवारलाई पनि भुलेर काम गर्थे । तर, अहिले परिवारसँग बसेर शनिबार र आईतबारको छुट्टीको दिनमा तिनीहरु रमाईलो गरिरहेका छन् । देश समृद्धि भैसकेपछि उनीहरुले परिवारलाईपनि समय दिन थालेका छन् ।:

तपाईले जापानमा सिकेको कुरा नेपालमा के गर्नुभयो त ? भनेर धमलाले सोधेको प्रश्नमा हिराचनले भने,”प्रत्येक नेपाली जनताले आफ्नो भविष्यको लागिपनि अब कृषिमा आधुनिकरण गर्नुपर्छ । कृषिसम्बन्धीको टेक्नोलोजी ल्याएर नेपाललाई अर्गानिक देश बनाउँछु । आज विउ रोपेर भोलि खाने सोच हटाउनुपर्छ ।”

आफू कृषि अभियानमा लागेको ६ वर्ष भैसकेको बताउँदै उनले यो अवधिमा करिब ५ हजार नेपाली कृषकहरुलाई तालिम दिएको सुनाए । उनले भने,”हो, हामी एक रोपनी जग्गालाई दुई रोपनी बनाउन सक्दैनौ । तर, एक रोपनीमा दुई रोपनी बराबरको उब्जाउ गर्न त सक्छौं ।”

हाईडोपावरमा लगानी गर्दैमा देश धनी नहुने उनको तर्क छ । उनले थपे,”खान, लाउन र बस्न नेपालीहरु व्यवस्थित् हुनुपर्छ । मलाई पूर्ण विश्वास छ । मेरो अभियानले सार्थकता पाउँछ । त्यो दिन म निकै खुशी हुनेछु । तर, म सपना पूरा नभएसम्म अभियानमा लाग्न छोड्दिन् ।” आफूहरुले अहिलेपनि काठमाडौंको रामकोटमा मल बनाउन सिकाईरहेको सुनाए ।

उनले देश बनाउने नेताले भएपनि यसको लागि आवाज उठाउने त जनताले नै भएको बताए । उनले भने, “हामीले एकले अर्कोलाई विरोध गर्नुहुँदैन । देश विकास गर्नको लागि सबै मिल्नुपर्छ । पहिला मैले के गर्न सक्छौं भनेर सोचौं । नेपाल बनाउने फेहरिस्त मसँग छ । फलानोले यसो भन्यो भनेर हल्ला नगरौं । आज हामी चामल, सब्जी अरु देशबाट किनिरहेका छौं । आजभन्दा १०।१२ वर्षअघिसम्म हामी चामल विदेश निर्यात गरिरहेका थियौं । ग्याँसै छैन भने भातै नखाई बस्ने त ?”